जेनजी शहीदका बाबा आमा : योगाज राजन कविराज ( कविता )

जेनजी शहीदका बाबा आमा : योगाज राजन कविराज ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

(१)
हामी जेनजी शहीदका बाबा आमा
फेरि न्यायको भिख माग्दै
रुँदै, कराउँदैछौँ
दूरदराज हिमाल, पहाड र तराईका
घर–घरमा बिलौना गर्दै…
हरेक सहरका सडक–चोक चाहार्दै
हामीले न्यायालयमा नालिस दिएका छौँ

विद्यार्थीमारा, नरसंहारकारी, भ्रष्टाचारी र हत्यारा
गठबन्धनधारी कुशासकहरूको
गिरफ्तारीको माग गर्दै
तर विडम्बना…
तर विडम्बना त्यो ६ महिने
नागरिक भनाउँदो छद्मभेषी, घुसपैठिया ‘बारबरा’ सरकार पनि
हामी पीडितलाई दस–पन्ध्र लाख
कागजका खोस्टा थमाउने वाचा गर्दै हजारौँ घाइते जेनजीहरूको
जायज मागलाई पनि बेवास्ता गर्दै
सबैका आँखामा छारो हालेछ ।

पूर्व गठबन्धन सरकारलाई जोगाउँदै
लाचार, निकम्मा र बेकामे बन्दै
भदौ २३ र २४ गतेको
हृदयविदारक घटना सामसुम पार्न उद्यत देखिए
अनेक बहाना खोज्दै संविधानविपरीत हुन्छ भन्दै
उहिले–उहिले बाजे–बराजुका पालामा
“न्याय नपाए गोर्खा जानु“ भन्थे रे !
तर अहिले, देशकै श्री पेच फालेर
अनेकन् राजा–महाराजा भएको समयमा
हामी न्यायको भिख माग्दै कहाँ जाऊँ ?
कठै, सतीले सरापेको देश !
कठै ! हाम्रै जस्तो यो हाम्रो देशको कन्तबिजोग हालत
धिक्कार्छौँ आफैँलाई कहिले रुँदै, कहिले हाँस्दै,
लोभी, पापी र अर्धपागलहरूको भिडमा
महापागल भएका छौँ
के–के बर्बराउँदै… आफ्ना सन्तान
ती नै मुटुका टुक्रा
शहीद बनाइएका छोरा–छोरी सम्झँदै।

साँच्चै देशमा शान्ति ल्याऔँ
नेपाललाई समृद्ध बनाऔँ
घाइते जेन्जीहरू र तिनका साथीसङ्गी
शहीदहरूको सपना साकार पारौँ भन्ने
भावना, चाहना, संकल्प र परिकल्पना
कोही कसैमा देख्दिनँ म
राजनीति व्यापार बनेको छ
सत्ता लुटी खाने भाँडो भएको छ
नाम मात्रको लोकतन्त्र पनि
लुटतन्त्रमा परिणत भएको पाउँछु
देख्छु यत्र–तत्र–सर्वत्र भ्रष्टाचार मौलाएको
विदेशी शक्तिको चलखेल झनै बढेको
भविष्यका कर्णधार युवा पुस्ता
आफ्ना वीर पुर्खाको सान, मान र प्रतिष्ठा
माटोमा मिलाउँदै
हरेक दिन विदेशिनुलाई नै बहादुरी ठान्दैछन् ।

पीआर, ग्रीनकार्ड, डलर र युरोको सुगन्ध खोज्दै
विज्ञ र दक्ष जनशक्ति पनि विदेसिएकै छन्
देशको नागरिकता त्याग्दै, राष्ट्रियता बेच्दै
कर्तव्य बिर्सेर सुविधाभोगी बनेका छन्
नेपाल आमाप्रतिको जिम्मेवारीबाट पन्छिँदै
हामी तिनका दीनहीन, लाचार बाबुआमा
जिउँदो लास भई बसेका छौँ ।
(२)
कोही सन्तान विदेश पलायन हुने
कोही आफ्नै देशमै मारिने
दैवको लीला बुझिनसक्नु छ, हरे !
देशको शासन सत्तामा बस्ने
अभिभावक नै बैरी भएका छन्
अब हामी कसको सहारामा बाँच्ने होला ?
षड्यन्त्रकारी ‘युथ काउन्सिल’ र ‘डिप स्टेट’ ले
हाम्रो यो मातृभूमिलाई गृहयुद्धमा फसाउँदैछन्
सुन्दर, शान्त बुद्धभूमिलाई
युद्धभूमि बनाउँदैछन् ।

नेपाली–नेपालीबिचमै जात–धर्मका नाममा फुट गराई
सदियौँदेखिको वैदिक सनातन धर्म–संस्कृति सिध्याउँदैछन्
तिनै माक्र्स, लेनिन र माओको महिमा गाउन लगाउँदै
हाम्रो स्वाधीनता, सार्वभौमिकता, सम्प्रभुता,
राष्ट्रियता र भौगोलिक अखण्डताको
दिनहुँ गला रेट्दै…
पुर्खाको नासो, प्राणभन्दा प्यारो नेपाल कब्जा गर्ने
भयंकर ठुलो षड्यन्त्रको जाल बुन्दै ।

बिन्ती छ, बिन्ती छ !
हे आराध्यदेवश्री पशुपतिनाथह
हाम्रा एकमात्र सहारा !
निर्दोष छोरा–छोरीमारा
नरपशुहरूलाई दया गरी
देशप्रेमी, विवेकशील, अहिंसावादी र
प्रेम–करुणायुक्त पूर्ण मानव बन्ने प्रेरणा,
देशभक्तिपूर्ण सद्बुद्धि प्रदान गरी
आन्दोलन, युद्ध, आतङ्क र आगजनीबाट
हुने राष्ट्रको धनजनको क्षति रोक्न
नेपाल र नेपालीलाई जोगाउनुहोस्,
बचाउनुहोस् प्रभु !
सत्यम्, शिवम्! शुन्दरम् को
विश्वशान्ति, समृद्धि, मानवता,विकास र निकासको आशीर्वाद दिएर
शहीद भएका हाम्रा ती छोराछोरीले
घरिघरि सपनामा हामीलाई भन्दैछन्
“बा, आमा ! छाडिदिनुहोस्,
अब मुद्दा फिर्ता लिनुहोस्,
विदेशी हस्तक्षेपबाट नेपाललाई
सबै नेपाली मिलेर जोगाउनुहोस् ।
हाम्रो पीर–चिन्ता नलिनुहोस्
हाम्रो प्यारो देश नेपाल अनन्तकालसम्म जीवन्त भई बाँचिरहोस्
हाम्रो चन्द्र–सूर्य अङ्कित झण्डा फरफराउँदै
युगौँ–युग मुस्कुराउँदै नाचिरहोस् ।

हामी ज्ञात–अज्ञात शहीद वीर–वीराङ्गनाको
सधैँ कदर र सम्मान होस्
नेपालीको विजय होस्
‘नेपालको जय होस्’
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी…
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी…।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।