विचरा अक्षरहरु : त्रिलोचन आचार्य (कविता )

विचरा अक्षरहरु : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ५।
बोल् हे अक्षर उफ्रिदै  असुरका दाराहरु भाँचिदे
त्यो चट्याङ घुमे समान मनको आकाशमा नाचिदे
खोस्टा कागजमा अनेक कविता के कोर्दछस् बालिदे
उठ् हे बन्दुकझैँ बनी कलम उठ् सन्त्रास यो फालिदे ।१।

खर्बौको रिनमा बजेट ठडियो के लेख्दछस् भाषण
भाग्छन् चिल्बिलमा युवा र युवती के गर्दछस् शासन
जो छन् पीडित आँसुका भल त्यता, हिँड्छन् खुला पीडक
के बग्छौ कवि काव्यका हरफमा मान्दै नमानी धक ।२।

लेख्दैछस् इतिहास ठालु जनकै लेखेर सन्तुष्टि के ?
छातीमा किन टासिँदै गरिबको पालो भनी चम्किने ?
हानाथाप छ तेल वा सुन भनी गर्छस् पढाई बसी
चल्दैछन् कति युद्ध के पिलिपिली हेर्छस् कुनामा पसी ? ।३।

तेरो ज्ञान बुझेर हिँड्छ भन को बाटो समातीकन ?
को पढ्दैछ र राष्ट्रभक्ति अहिले माटो समातीकन ?
लेखी पुस्तक सुध्रियो र दुनियाँ ? नाच्यो अहंकारमा
बर्साई बम जित्दछाँै किन भन्यौ ? विज्ञानको खण्डमा ।४।

जोड्दैछन् हतियार हिँस्रकहरु के काम तेरो कला ?
यो संसार पुरी रहेछ विषले के काम तेरो गला ?
भो भो स्कूल गरेर बन्दित कसून् किल्ला गुरिल्ला यहाँ
गर्दै राज्य सताउँदैछ बमले जा ज्ञान बैराग्यमा ।५।

काला अक्षरभित्र अट्दछु भनी बस्छन् कहाँ शासक ?
कुद्छन् धूर्तहरु र इज्जत हुने बन्छन् सधैँ दर्शक
सक्छस् ज्ञान भने तँ राज्यबिचका नक्सा सबै फालिदे
सक्दैनस् तँ भने लुला कलम वा कापीहरु बालिदे ।६।

काला अक्षरका नदेख सपना नानीहरु हो अब
के बाँड्छौ अझ मन्त्र वेदतिरका ज्ञानीहरु हो अब
झन् दुर्योधन पो बढे विदुरको विद्या भयो दुर्वल
गर्दैछन् बलिया विध्वंश विचरा बन्दै गए अक्षर ।७।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।