चार मुक्तक : पारू अर्याल नेपाल
देश सपार्न अब युवाहरू मरिमेटी लाग्नु पर्छ
देश भँड्खालोमा जानुहुन्न युवा नै जाग्नु पर्छ
वैरीले देशमा आँखा लगाउँछन् कमजोर भए,
हामी एक बनौ, अब सबै अहंकार त्याग्नु पर्छ ।
असार पन्ध्रमा सबै सबैलाई खेत रोप्ने रंग हुन्छ
किसानले झैँ रोप्न त तिनीहरूको कहाँ ढंग हुन्छ
तै पनि देखावटीको जमात हुन्छ खेतै भरि हेर,
मानो रोपेर मुरी फलाउन किसानकै उमंग हुन्छ ।
टुक्राटुक्रा भएको मुटु जोडेर अगाडि बढ्नु छ
काँडा ओछ्याएको बाटो गोडेर अगाडि बढ्नु छ
यस्तै रहेछ जीवन भनेर मन बुझाउनु पर्ला साथी,
खोसिएको हाँसो आँसुमा मोडेर अगाडि बढ्नु छ ।
कलिला मुनाहरू खेत बारी धितो राखी विदेश विदेश धाए
दिन महिना बर्ष नपुग्दै कामको भारले थिचेर कफनमा आए
यता बाआमा छोरोको कमाईले नपुगे रिन बोक्ने बाध्यता भो,
सरकार रमिते मात्र बन्दछ, बरु कमिसन त कति खाए खाए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
