मतपत्रमा देवता छैन : महेन्द्र चालिसे (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,पुस २६।
चुनाव नजिकिँदै थियो ।सहरको हावा केवल धुलोले होइन, नाराले भरिएको थियो। चोक–चोकमा माइक झुण्डिएका थिए, भित्ताभरि पोस्टर टाँसिएका थिए, र नेताहरूका अनुहार यति ठूलो आकारमा छापिएका थिए कि ती अनुहारको छायाँमा नागरिकहरू आफैं साना देखिन्थे । कुनै दलका नेता देवता बनाइएका थिए, कुनै दलका नेता राक्षस। भाषणहरूमा देश थियो—तर केवल शब्दमा । त्यहाँ नागरिक थिएनन्, केवल भीड थियो; नीति थिएन, केवल भावना थियो ।
चोकको कुनामा रहेको पुरानो चियापसलमा हरिप्रसाद बसेका थिए । पचास वर्ष नाघि सकेको जीवन, सरकारी सेवाबाट अवकाश, र राजनीति देखेर थाकिसकेको मन । उनी दिनहुँ यही चियापसलमा आउँथे—देश बदलिन्छ कि भनेर होइन, देश फेरि उस्तै त रहेन भनेर हेर्न ।
त्यही बेला भीड चिरिँदै एक टोली आइपुग्यो । अगाडि थिए एक नेता ।सफा दौरा–सुरुवाल, चम्किला जुत्ता, कलाईमा महँगो घडी । पछाडि कार्यकर्ताहरू हातमा झण्डा, मुखमा नारा, आँखामा अन्धो विश्वास । नेताले हात जोडेर बोल्न थाले, “दाजुभाइ तथा दिदीबहिनीहरू, यो चुनाव राष्ट्रको भविष्यको चुनाव हो । देश बनाउने जिम्मा तपाईं र म दुबैको हो । त्यसैले तपाईंहरूको अमूल्य मत मलाई दिनुहोस् ।”
चियापसल शान्त भयो । सबै सुन्दै थिए । एक युवकले सोध्यो, “दलको घोषणापत्र के छ त ?” नेताले हल्का मुस्कान दिए, “घोषणापत्र त कागज हो । आखिर काम त म नै गर्ने हो ।”
त्यो ‘म’ शब्द हरिप्रसादको कानमा ठोक्कियो । उनले चिया कप बिस्तारै टेबलमा राखे ।
“नेता ज्यू,” उनले शान्त तर स्पष्ट स्वरमा भने, “यदि मैले तपाईँलाई भोट दिएर जिताएँ भने—
मलाई राजदूत बनाइदिनुहुन्छ कि कुनै कमाइ हुने संस्थाको प्रमुख ?” क्षणभर चोक सुनसान भयो ।
कसैलाई प्रश्न हास्यास्पद लाग्यो, कसैलाई असहज ।
नेताको अनुहार कडा भयो । स्वर चर्कियो ।
“यस्तै व्यक्तिगत स्वार्थका कारण देश आज यस्तो अवस्थामा पुगेको हो!” “तपाईंहरूलाई देश देखिँदैन ? सधैं आफ्नो फाइदा मात्रै ?”
हरिप्रसाद उठे । अब उनको स्वर चर्को थिएन, तर गहिरो थियो । “देश? “देश भनेको के हो, नेता ज्यू ? चुनावको बेला देखिने जनता ? “वा जितेपछि बिर्सिने नागरिक ?”
कार्यकर्ताहरू अलिकति अगाडि सरे । भीड तात्न थाल्यो । हरिप्रसाद रोकिएनन् । “दलको झण्डा बोकेर आउनुहुन्छ, तर भन्नुहुन्छ—मलाई मात्रै भोट दिनू ।” अब भन्नुहोस्, भोट कसलाई दिने—तपाईंलाई कि तपाईंको दललाई ?” नेता मौन भए । त्यो मौन कुनै पनि भाषणभन्दा ठूलो थियो । हरिप्रसादले थपे, “हामी मतदातालाई दोष दिन सजिलो छ । तर राजनीति हामीले तपाईंहरूबाटै सिकेका हौं । “तपाईंहरूले नै सिकाउनुभयो— राजनीति भनेको अवसर हो भनेर । “अब हामीले अवसर माग्यौं, गल्ती कसको भयो ?” भीडमा खुसुरपुसुर चल्यो । कसैले टाउको हल्लायो, कसैले मोबाइल निकालेर भिडियो खिच्यो । नेता पछि हटे । झण्डा अझै हातमै थियो, तर त्यो झण्डा आज भारी थियो ।
त्यो रात हरिप्रसाद ढिलो घर फर्किए । उनी थाकेका थिएनन्—अलि हलुका थिए । उनी जान्दथे, उनले देश बदलेका छैनन् । तर सायद एउटा प्रश्न छोडेका छन्—जसको उत्तर सजिलो छैन ।
मतदानको दिन आयो । लाइन लामो थियो । अनुहार उस्तै—थाकेका, आशावादी, शंकालु । हरिप्रसादको हातमा मतपत्र आयो । नेताका चिन्हहरू थिए—मुस्कानसहित । कलम केही क्षण रोकियो । उनले अनुहार हेरेनन् ।
नारा सम्झिएनन् । उनले केवल यति सोचे— देश हेर्ने मान्छे को हो, आजको मत त्यही खोज्नु हो । कलम चल्यो ।
बाहिर निस्कँदा घाम चर्को थियो । तर उनको मनमा हल्का चिसोपन थियो— आशाको । किनकि त्यो दिन मतपत्रमा देवता थिएनन्— सिर्फ जिम्मेवारी थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
