चिन्ता : महेन्द्र मोक्तान ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,पुस १९।
“म त छक्क पर्छु तपाईंसित ।” कार्यलयबाट साँझमा आएका पतिलाई चिया दिंदै पत्नीले भनिन् ।
“किन त्यस्तो आश्चर्यचकित ? मैले के गरें ?” पतिले साधारण लवजमा सोधे ।
“उस्स..! बुझ नपचाउनु होस् न ! त्यो शिर कवच चाहिं किन ल्याउनु भा’को ?” पत्नीले ओंठ पल्टाइन् ।
“अरे लाटी ! यो त मेरो सुरक्षाको लागि हो नि !” उनले सफाइ दिए ।
“अपुइ…! साइकल सवारीमा सुरक्षा कवच ? बौलाहाको उपनाम जोडिएला है तपाईंसित !” उनले आशङ्का व्यक्त गरिन् ।
“साइकल पनि दुइचक्के वाहन होइन र ? भएन समतलको सहर अनि गाडीहरूको बाक्लो भीड । दुइ किलो मिटर टाडा कार्यलय । अनि चाहिएन त यो कवच ?” उनले सम्झाउने कोशिश गरे ।
“अरे बाबा ! जोरीपारीले मेरो खिल्ली उडाउँछन् नि ! तपाईं त कस्तो वे मपर्वाह मान्छे हौ !” उनी थोरै आक्रोशित बनिन् ।
“सुन त ! मर्नु भन्दा बौलाउनु निको । काग कराउँदै गर्छन्, पीना सुक्दै जान्छन् । मलाई पर्वाह छैन ।”
उनको अडिग प्रत्युत्तरमा पत्नी विचलित बनिन्– “तपाईं त दिनभरि कार्यलयमा रहनुहुन्छ । बजारभाव मैले गर्न पर्छ । उपहासको पात्र हुने नै भइयो, अब ।”
“जवाफ गजबको छ त ! भनिदेऊ उनीहरूलाई…..!
बीचैमा उनी बोलिन् – “के भन्नु मै”
शान्त भावमा उनले भने– “भनिदेऊ कि, उहाँसित कलकलाउँदा बालबच्चा, परिवार र परिवारको सुन्दर भविष्यको सपना छ ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
