चार मुक्तक : शिव हरि थापा ‘देविकोते’
कपन अनलाइन
काठमाण्डौ ,पुस १९।
मुक्तक १
हिजोआज मलाई औँशिको अँध्यारो रात मनपर्छ
तिमी मेरो प्राण प्रीय हौ भनेको झुठो बात मनपर्छ
चोखो, निश्चल माया प्रेम यो मेरो बुझ्न नसकेपछि,
क्षणभरमा रमेर मेरो मायामा गरेको घात मनपर्छ ।
मुक्तक २
सित्तैंमा पाउँदा अलकत्रा नै खानेको कमी छैन यहाँ
बीष लाई पञ्चामृत मानेर लानेको कमी छैन यहाँ
चाल्दा पाईलै पिच्छे स्वार्थको जाल थापेर हिँड्नेले,
पैसाकै लागि परिवार छोडी जानेको कमी छैन यहाँ ।
मुक्तक ३
छैन कसैलाई जनताको चिन्ता,देशको सत्ता पाएपछि
भ्रष्टाचारी,माफिया,दलालबाट नोटको पत्ता पाएपछि
चाहे जनता बाँचुन मरुन, ढुकुटी आफ्नो भर्न खातिर,
बेच्छन् देशै पनि विदेशीलाई,डलरको भत्ता पाएपछि ।
मुक्तक ४
बादल बनी नीलो त्यो आकाशलाई छुन मन छ मलाई
कैले नछुट्टिने चखेवाको भाले पोथी हुन मन छ मलाई
सँगैसँगै बाँच्ने मर्ने प्रेमिल जोडीको चोखो माया देखेर,
भक्कानिँदै अतित त्यो सम्झि एक्लै रुन मन छ मलाइ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
