स्वतन्त्रता : याम बहादुर थापा मगर ( कविता )
कपन अनलाइन
काठमाडौं ,मंसिर १८।
स्वतन्त्रता कुनै केवल शब्द होइन,
यो त जनताको रगतले लेखिएको इतिहास हो ।
अन्धकारमा झिलिमिली भएको एक बल्दो दीयो जस्तै,
स्वतन्त्रता जीवनलाई अर्थ दिने सूर्य हो ।
हामीले देख्यौं ।
नागरिकले आवाज उठाउँदा थिचिएर मौन बनाइएका दिनहरू,
पत्रकारले सत्य बोल्दा डरको छायाँ पछ्याउने घडीहरू,
सूचना माग्दा ताला लागेका ढोकाहरू ।
तर हामी रोकिएका छैनौं,
किनकि स्वतन्त्रता हार्ने होइन,
उठ्ने, लड्ने र ज्वलन्त भएर फुल्ने शक्ति हो ।
नेपालले पाएको स्वतन्त्रता केवल विगतको विजय होइन,
आजको जिम्मेवारी पनि हो ।
जनताको हातमा कलम छ,
आवाज छ, मत छ ।
यिनै हुन् भविष्य कोर्ने हतियार ।
यदि कहिले सूचना नपाउने अन्धकारले घेर्छ भने,
हामीसँग आशाको बाटो छ ।
खुला संवाद, साझा प्रयास,
र समान अवसरको उज्यालो ।
स्मरण गरौं ।
स्वतन्त्रता केवल अधिकार होइन,
जवाफदेही बन्ने अवसर पनि हो ।
जहाँ पारदर्शिता हुन्छ, त्यहाँ विश्वास पलाउँछ,
जहाँ स्वतन्त्रता हुन्छ, त्यहाँ जीवन सजीव हुन्छ ।
हामी सकारात्मक सोचसहित अघि बढौँ ।
सुचना सबैका लागि खुला बनाऔं,
प्रेस स्वतन्त्रता बलियो बनाऔं,
र नागरिकलाई जिम्मेवार बनाऔँ ।
किनकि स्वतन्त्रता केवल विगतको गाथा होइन,
यो त भविष्यतिर देखिने एउटा उज्यालो बाटो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
