दुर्वलता कि चरित्र : महेन्द्र चालिसे (लघुकथा)

दुर्वलता कि चरित्र : महेन्द्र चालिसे (लघुकथा)

कपन अनलाइन

काठमाण्ड,कार्तिक ३०।

किशोर उमेरको एउटा विवशता हुन्छ ।मौकामा आफ्नो मन उघार्न नसक्नु र मौका गुमेपछि थकथकाउनु । तर कहिले काहीं यस्तो प्रसङ्गमा पुरुषभन्दा नारी अलि अगाडि हुन्छिन् । पुरुष भन्न एक थोक खोज्छ, मुखबाट अर्को कुरा फुट्छ । अनि पुरुषको तर्क के हुन्छ भने नारीले पुरुषले बक नफुटाए पनि लक्षण, सङ्केत, चेष्टाले उसको कुरो बुझ्नु पर्छ । तर यो वास्तवमा उल्टो कुरा हो । पुरुषले नै यसको जिम्मेवार हुनुपर्छ । यसो भनेर नारीले दावी गर्न पाउँछन् ।
यो कुरा प्रविणको मनमा खेलिरहन्छ र एकान्तमा आफैसँग आफ्नो मनको कुरा बक्नु त प्रविणको नियती नै बनिसकेको छ । जुन उसको दुर्बलता हो या चरित्र ? कुरो निकै अगाडिको हो, जतिखेर प्रविणको निधारमा सरकारी टिको टाँसिएको थियो । ऊ प्रायः सरकारी कामको सिलसिलामा देशको सुगम दुर्गम स्थानहरूमा गइरहनु पथ्र्यो । यसरी जाँदा उसँग आफ्ना मातहतका सहायकहरू जो महिला या पुरुष जो पनि हुने गर्थे ।
यसै सिलसिलामा एकपल्ट ऊ केही सहायकहरूसँग निकै विकट क्षेत्रमा जानुपर्ने भयो र उनीहरू गए । त्यो भ्रमण दुई रात तीन दिनको थियो । पहिलो रात बसेको ठाउँमा त कुनै समस्या परेन तर दोश्रो रातको घटनाले केहीं पछि उसलाई दुर्बलता महसुस गराई दियो जसलाई ऊ आफ्नो बलियो चरित्र ठान्थ्यो ।
हुन त त्यतिबेला त्यो घटना कुनै घटना नै थिएन । त्यो रात बास बस्ने ठाउँको समस्या परेको थियो । जसोतसो उपलब्ध भएको ठाउँमा मिलाउनु पर्ने थियो । त्यसरी मिलाउने क्रममा एउटी महिला सहायकको लागि कुनै ठाउँको व्यवस्था हुन सकेन र सबैको सल्लाह र तिनैको स्वीकृति अनुसार उसलाई बस्न व्यवस्था गरेकै कोठामा प्रबन्ध मिलाइयो । एउटा सानो कोठामा बिछ्याइएको ओछ्यानमा त्यहाँ उपलब्ध सिरक पट्याएर र ब्यागहरू ओछ्यानको बीचमा राखेर ओछ्यानलाई दुई भागमा बाडियो । त्यहीं अनुसार त्यो रात बित्यो र भोलिपल्ट सखारै उनीहरू सबै फर्किए ।
त्यसको केहीं दिनपछि कार्यालयमा एउटा पुर्नताजगी कार्यक्रम थियो । कार्यक्रम सुरु हुनुअघि त्यहाँ हसीठट्टाको माहोल थियो । त्यही हसीठट्टाको माहोलको बिचमा उसले आवश्यक परेको बेलामा ऊं पनि आकाशबाट तारा खसाल्न सक्छ भन्दै थियो तर उसले वाक्य पूरा गरी सक्दा नसक्दै केही हप्ता अघि उसँगै एउटै कोठामा बस्ने महिलाले प्याच्च भनिदिई जाबो सिरक नाघ्न नसक्नेले के जुनतारा खसाल्लान् खै ।
उसका लागि यो स्थिति विशेष असाधारण थियो । उसले कुनै निक्र्यौल गर्न सकेन – यो अर्थात् सिरक नाघ्न नसक्नु उसको दुर्बलता थियो कि उसको संस्कार र चरित्र अथवा एउटी नारीको भाव बुझ्न नसकेको अवस्था ? त्यो हिजोले उसको आजलाई पनि बेलाबेलामा चसक्क बनाई रहन्छ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।