विदुर नीति : कविप्रसाद प्याकुरेल (दोस्रो अध्याय)

विदुर नीति : कविप्रसाद प्याकुरेल  (दोस्रो अध्याय)

कपन अनलाइन

काठमाण्ड,कार्तिक ३०।

धृतराष्ट्र :
निद्रा कत्ति नलागेर सारा रात्रि म जाग्दछु ।
तिमी धर्मार्थ कुशल उपाय भन के गरूँ ? ।।१।।

कृपा जनाई तिमीले बताऊ ।
कौरव तथा पाण्डव श्रेय निम्ति ।।
पाएर तिम्रो उपदेश आज ।
निद्रा म पाऊँ भई चित्त शान्त ।।२।।

अनिष्ट शङ्काहरूले मभित्र ।
व्याकुलता व्यापक यत्रतत्र ।।
के चाहना गर्छ अजातशत्रु (युधिष्ठिर) ।
सारा तिमीबाट म बुझ्न खोज्छु ।।३।।

विदुर ः
श्रेयप्रेय दुवै भन्छु तपाईँका निमित्तमा ।
जसले अनिष्ट गर्दैन, कल्याण मात्र गर्दछ ।।४।।

सारा कौरवका निम्ति कल्याण धर्ममार्गमा ।
उपदेश म गर्दै छु सुन्नुहोस् धैर्यपूर्वक ।।५।।

मिथ्या उपाय गर्नाले पुगिन्न सत्यलोकमा ।
निद्रा भङ्ग भएको छ तपाईँको निरर्थमा ।।६।।

उपाययुक्त मेधावी कर्ममार्ग पवित्र छ ।
योगपूर्वक गर्नाले अवश्यै सिद्धि मिल्दछ ।।७।।

केका निमित्त हो कर्म, त्यो सम्पूर्ण प्रयोजन ।
धैर्यपूर्वक गर्नाले कर्ममा सिद्धि मिल्दछ ।।८।।

कर्मारम्भ हुनुपूर्व के हुन्छ त्यसको फल ।
धैर्य औ आत्मउत्थान कर्ममा सोच्नुपर्दछ ।।९।।

जो प्रमाण नहेरेर राज्य उत्थान वा क्षय ।
कोश, दण्ड, पुरस्कार नहेर्दा राज्य अस्थिर ।।१०।।

धर्म र अर्थ, विज्ञान जसको उपयुक्त छ ।
सदैव राज्य उत्थान त्यसले प्राप्त गर्दछ ।।११।।

राज्य प्राप्त भएकामा राज्यभित्र उद्दण्डता ।
व्यवहार गरे राज्य अवश्यै नष्ट गर्दछ ।।१२।।

मिठो आहारको लोभ माछो पर्दछ जालमा ।
भविष्यलाई हेरेर चल्नु छ व्यवहारमा ।।१३।।

स्वास्थ्यको ख्याल राखेर गर्नुपर्दछ भोजन ।
पचाउन सके धर्म, अन्यथा विष भोजन ।।१४।।

झटारो रूखमा हान्दै जो काँचो फल झार्दछ ।
वृक्षबीज दुवै नाश हत्यारो नर्क पर्दछ ।।१५।।

रूखैमा पाक्न पाएको स्वादिलो हितकर हो ।
भोकोले रस सन्तुष्टि बीज नै वृक्ष भोलिको ।।१६।।

मौरीले फूल गोडेर मधुको पान गर्दछ ।
राजाले जनताद्वारा कर सङ्ग्रह गर्दछ ।।१७।।

मूलमा जल सिन्चेर फूल टिप्नु छ वृक्षको ।
राजाले जनताद्वारा करले राष्ट्रकै भलो ।।१८।।

यो गरे लाभ के हुन्छ, नगर्दा हानि हुन्छ के ।
यसमा ध्यान राखेर कर्म गर्नू मनुष्यले ।।१९।।

भोलि लाभ कुनै छैन भने त्यो छ निरर्थक ।
निर्धानिमुखा हत्यामा पुरुषार्थ निर्थक ।।२०।।

खुसी हुँदा कुनै लाभ पाइँदैन सदैव नै ।
त्यो रिसाएर के हुन्छ शोकहर्ष बराबर ।।२१।।

मानु रोपेर गोडेर लक्ष्य मुरी फलाउन ।
बिघ्नबाधा हटाएर गर्नैपर्दछ साधना ।।२२।।

राजाको शुभदा दृष्टि जनता र जनार्दन ।
सदैव जनता हुन्छ राजाकै अनुरागमा ।।२३।।

चक्षु, मन तथा वाचा, कर्म चारै प्रकारमा ।
राजाद्वारा प्राप्त खुसी चाह गर्छ प्रजाजन ।।२४।।

सिकारीबाट अत्यन्त भयभीत सदा मृग ।
प्रजा सिकार गर्ने त्यो राजाको नाश निश्चित ।।२५।।

पितामह–पिताद्वारा सुरक्षाप्राप्त राज्यमा ।
आफ्नै दुष्कर्मले नाश गर्ने राजा छ निन्दित ।।२६।।

धर्मसम्पन्न राजाको राज्य नित्य समुन्नति ।
उद्योग, वाणिज्य, व्यापार, शिक्षा, स्वास्थ्य उभो गति ।।२७।।

धर्मको मार्ग त्यागेर भ्रष्टाचार निरन्तर ।
त्यो देशको अतिशीघ्र सर्वनाश सुनिश्चित ।।२८।।

अरूको राज्यको नाश गर्नमा दत्तचित्त छ ।
स्वदेशको उन्नतिमा लाग्नुपर्छ निरन्तर ।।२९।।

धर्मले राज्यको प्राप्ति, धर्मले परिपालन ।
धर्ममै राज्यलक्ष्मीको शोभा हुन्छ समुज्वल ।।३०।।

शिलामा मोती खोजेर, बहुलाबाट विद्वता ।
सर्वत्र खोजी गर्दामा तत्व पाइन्छ निश्चित ।।३१।।

सिला खोजेर जीविका गर्ने व्यक्ति महामति ।
सत्कर्म सूक्तिमा लाग्दा सर्वदा छ समुन्नति ।।३२।।

गन्ध नै गाईको दृष्टि, वेद हो दृष्टि विप्रको ।
राजाको सृष्टि जासुस, व्यक्तिको दृष्टि नेत्र हो ।।३३।।

सजिलै पग्रने गाई सदैव स्नेहमूर्ति हो ।
गोलमाल गरेदेखि गाईको सुविधा गयो ।।३४।।

सजिलै मोडिने धातु पोल्नै पर्दैन अग्निमा ।
स्वयं झुक्ने तरुलाई पर्नैछैन झुकाउन ।।३५।।

यो सिद्धान्तअनुसार बुद्धिमान मनुष्यले ।
बलियाको अघि पर्दा झुक्नैपर्दछ प्रेमले ।।३६।।

पशुका नाथ पर्जन्य, मन्त्रीका नाथ भूपति ।
वेद हो विप्रको नाथ, नारीका नाथ हुन् पति ।।३७।।

सत्यले धर्मको रक्षा, विद्यारक्षक योग हो ।
शुद्धता रूपको नाथ, आचार कुलरक्षक ।।३८।।

आचारहीन व्यक्तिको उच्च कुल निरर्थक ।
सदाचारी भए व्यक्ति नीच नै उच्च बन्दछ ।।३९।।

रूप, सौभाग्य, शक्तिमा अरूको द्रोह गर्छ जो ।
असाध्य रोग लागेको त्यो अल्पायु मनुष्य हो ।।४०।।

गर्ने कर्तव्य त्यागेर नगर्ने कर्म गर्छ जो ।
कार्यसिद्धि हुनुपूर्व गोप्यता भङ्ग गर्छ जो ।।४१।।

जसको प्रेम परेको छ मद्यपेयपदार्थमा ।
ज्युँदै नरकमा बास गर्छ त्यो दुष्ट दुर्जन ।।४२।।

मदमत्त भएको छ विद्यामा धनकुलमा ।
त्यो मद त्याग गर्नाले तत्कालै हुन्छ सज्जन ।।४३।।

सन्तले अभिनन्दित भो भने दुष्ट मानिस ।
मक्ख पर्दछ आफैँमा म पनि सन्त हो कि क्या ।।४४।।

मनस्वीका गति सन्त, सन्त नै सन्तको गति।
परन्तु दुष्टले सन्त चिन्नै सक्दैन दुर्मति।।४५।।

सभामा वस्त्र सम्मान, गोपाल रसपारखी ।
चालक मार्ग विज्ञाता सर्वत्र विजयशील ।।४६।।

बान्धव, धन, सम्मान सारा हुन्छ पराजित ।
कुलीन व्यक्तिका लागि शील हो कुलभूषण ।।४७।।

धनीको रुचि हो मांस, मध्यमा रुचि गोरस ।
तैल भोजनमा रम्छ यत्रतत्र दरिद्रता ।।४८।।

दरिद्र नित्य सम्पन्न, भोकमा गर्छ भोजन ।
धनीका निम्ति स्वादिलो कदापि हुन्न भोजन ।।४९।।

धनीका पेटमा रोग असमर्थ पचाउन ।
काठ, ढुङ्गो तथा माटो दरिद्रीले पचाउने ।।५०।।

अन्त्यमा जीविका चिन्ता, मध्यमा मृत्युको भय ।
अपमान हुने हो कि? भय मान्दछ उत्तम ।।५१।।

ऐश्वर्य मद उन्मत्त सबैभन्दा खराब हो।
पथमा ठेस लागेर चेतना खुल्छ दुष्टको।।५२।।

सूर्यको तापले गर्दा नक्षत्रादि तिरस्कृत।
इन्द्रियवशमा पर्दा जीवले कष्ट भोग्दछ।।५३।।

पञ्चवर्गादिले कैल्यै पराजित हुँदैन जो ।
त्यसले प्राप्त गर्नेछ उज्यालो शुक्लपक्षको ।।५४।।

पराजित भई आफैँ इन्द्रियादिहरूसँग ।
पराजित गर्न चाहन्छ त्यो अत्यन्तै असम्भव ।।५५।।

पराजित गरेको छ जसले मन इन्द्रिय ।
त्यसका वशमा लक्ष्मीनारायण निरन्तर ।।५६।।

शरीर हाम्रो रथकै समान ।
हो सारथी बुद्धि र अश्व इन्द्रिय ।।
जो सारथी कुशलपूर्वक हाँक्छ अश्व ।
त्यो लक्ष्यमा कुशलपूर्वक पुग्न सक्छ ।।५७।।

आफ्नो वश नआएका घोडामा मूर्ख सारथी ।
इन्द्रिय वशमा छैन नर्कमा पर्छ दुर्मति ।।५८।।

इन्द्रिय वशमा छैन भने त्यो मूर्ख मानिस ।
दुःख नै सुख सम्झेर अवश्य नर्क पर्दछ ।।५९।।

धर्म र अर्थ त्यागेर मनइन्द्रियका वश ।
धन, प्राण तथा पत्नीद्वारा हुन्छ परिस्कृत ।।६०।।

धनको राशिमा बस्छ भई इन्द्रियका वश ।
सारा ऐश्वर्यले भ्रष्ट भई तत्काल मर्दछ ।।६१।।

आफैँ हो आफनू मित्र र आफैँ शत्रु आफनू ।
तसर्थ वशमा राख्नू मन, बुद्धि र इन्द्रिय ।।६२।।

आत्मा जसले जितेको छ आफ्नै मित्र भयो स्वयम् ।
पराजित हुँदा आत्मा आफैँ शत्रु भयो स्वतः ।।६३।।

नौकाभित्र दुलो पारी मुसो भित्र प्रवेश भो ।
कामक्रोध दुवैबाट ज्ञानबुद्धि समाप्त भो ।।६४।।

धर्म औ अर्थ समृद्धि गरेर सुखपूर्वक।
विजय, सुख, समृद्धिशील जीवन भोग्दछ।।६५।।

पाँच इन्द्रिय यो शत्रु विकार यो जितेपछि ।
जिन्दगीमा सबै शत्रु जितेर सुखी जिन्दगी ।।६६।।

महात्मा पनि आबद्ध आफ्नै इन्द्रिय कर्ममा ।
भोगविलासमा लाग्दा आत्माले भोग्छ बन्धन ।।६७।।

पापी दुराचारी बनाई मित्र ।
धर्माधिकारी पनि भोग्छ दण्ड ।।
काँचो पनि बल्दछ शुष्क काठ ।
पापी दुराचारी हुँदैन मित्र ।।६८।।

पाँच इन्द्रिय यी पाँच शत्रुका वश पर्छ जो ।
विपत्ति कष्ट पीडामा परेको पापी मूर्ख हो ।।६९।।

अनसूयार्जव शौच सन्तोष प्रियवादिता ।
दम सत्य प्रवक्तामा महामानवका गुण ।।७०।।

असाधुको बलै हिंसा, राजाको बल दण्ड हो ।
नारीको बल हो सेवा, क्षमा हो गुणीको बल ।।७१।।

दुष्कर कर्म अत्यन्तै राजाको वाक्य संयम ।
विचित्र अर्थ संयुक्त अशोभा बहुभाषण ।।७२।।

कल्याणकारी सर्वत्र रहेको छ सुभाषित ।
अनर्थकारी त्यै हुन्छ दुर्भाषित भयो भने ।।७३।।

बन्चरो र करौतीले काटेको वन फिर्दछ ।
वाक्वाणले बनाएको घाउ दुख्छ युगौँतक ।।७४।।

युद्धमा वाण लागेको सजिलो उपचार छ ।
दुर्वाच्य मुटुको किलो वैद्य नै छ पराजित ।।७५।।

वचनरूपी अनेकौँ वाणले भग्न चित्त ।
पलप्रतिपल ज्यादै बेसरी दुख्छ भित्र ।।
गुरुगणहरू यस्ता वाण हान्दैनन् क्यार ।
तर पनि गुरुमाथि दुष्ट गर्ने प्रहार ।।७६।।

देवताहरू पापीमा भर्नुहुन्छ कुभावना ।
नीच कर्महरू गर्दै पापी लाग्छ कुमार्गमा ।।७७।।

विनाशकालको पूर्व बुद्धिमार्ग कलुषित ।
न्यायअन्यायको द्वन्द्व मन अत्यन्त दुषित ।।७८।।

तपाईँका सबै छोरा अनुज पाण्डुपुत्रले ।
विरोध मति राखेर लागेका हुन् कुकर्ममा ।।७९।।

त्रैलाक्याधिपति बन्ने सुसौभाग्य तपाईँमा ।
भोलि त्यो सुखसौभाग्य राजा हुन्छन् युधिष्ठिर ।।८०।।

धर्म र अर्थ विज्ञाता, तेजस्वी, अति बुद्धिमान् ।
तपाईँका सयौँ छोराभन्दा अत्यन्त उत्तम ।।८१।।

निद्रा नलाग्दा धृतराष्ट्रलाई ।
प्रधानमन्त्री नीतिविज्ञ भाइ ।।
कल्याणकारी शुभदा उपाय ।
बिन्ती गरियो श्रीविदुरबाट ।।८२।।

अष्टादश पर्व महान भारत ।
उद्योग पञ्चम पर्व संस्कृत ।।
नेपाली भाषा अनुवाद उत्तम ।
द्वितीय अध्याय यहीँ नमोनम ।।८३।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।