परदेश यात्रा : गोपी रुपाखेती (कविता )

परदेश यात्रा : गोपी रुपाखेती (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १४।

हिंड्दा हिंड्दैको बाटो भासिएपछि
जोत्दा जोत्दैको पाटो मासिएपछि
अन्न बाली फलेन
घरको चूलो बलेन
घिस्रिएर चल्न खोजियो, तैपनि जीन्दगी चलेन
थोत्रो झोलामा थोत्रै लुगा कोची
नयाँ झोलामा नयाँ लुगा ल्याउन
म परदेस हानिएँ बा ।

धूवाँले रातो पीरो मुख लाएर
आँखाबाट आँसु चुहाउँदै पनि
मीठै खुवाउँथिन् आमा
घडी हेर्न नजानेपनि
मलाई भोक लाग्ने समय
मलाई हैन, उनलाई थाहा हुन्थ्यो
मेरो भोक, उनै थिईन्
भोजन पनि उनी
हँसाउन खोज्थिन् मलाई, आफ्नो आँसु नथुनी
कसरी खुवाउँथिन् थाहा छैन
जसरी पनि खुवाउँथिन्
घरको चोटा कोठा सबैतिर
उनी मात्रै सुहाउँथिन् ।
आफ्नो चोलो फाटेको पनि
नदेख्ने उनका आँखा
मलाई जाडो भएको देख्थ्यो
उनको उमेर ढल्दै जाँदा
अंग अंग गल्दै जाँदा
उनलाई हेर्नुपर्ने बेला
दूर देशको बाटो हेर्नु प¥याछ
किनकी, घरको छानो फेर्नु प¥याछ
त्यसैले खुट्टा, उचालें बा मैले ।

बा ! आमा अलि बुझ्दिनन्
सम्झाउनु है आमालाई
तपाईं त बुझ्नु हुन्छ नि
मलाई पनि पटक्कै, जाने त मन छैन
ढुक्ढुकी छोडेर मुटु मात्र, लाने त मन छैन
तैपनि दुःख गरेर कमाउने गरी
फर्केर फेरि रमाउने गरी
म जान्छु बा ।

उमेर सानो भएपनि
बा आमाको अभिभावक, तिमी बन्नु है प्रिय
जति पीर कष्ट, सहनु परेपनि
हर क्षण पिलपिल बहनु परेपनि
तिमी उज्यालो, दियो बन्दिनु
फाटेको मन सिलाउने, सियो बन्दिनु
पसिनाले भिजेका नोट म पठाउँला
तिमी साहूलाई, खन्खनी गन्दिनु
ऋण नतिरी, मर्दैन भन्दिनु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।