छहरे झरना – झोर : महेन्द्र चालिसे ( नियात्रा )
कपन अनलाइन
काठमाडौँ, साउन २४।
साता दश दिन वितेपछि कतै घुम्न जान हुटहुटी चल्ने बद्री पौडेल म अमेरिकाबाट फर्के देखिनै मौन छन् । उन्ले कतै घुम्न जाऔं भनेर प्रस्ताव राखेकै छैनन् । सायद, म जुन परिस्थितिको कारण नेपाल फर्किएं यसै कारण पनि होला उनी लगायत अरु साथीहरूले पनि कतै जाऔंंन त नभनेको । दाजु विरामी भएको कारण म आएको ।कार्यक्रम छोट्याएर फर्केको २०–२१ दिनमा दाइको देहावसान भयो । देहावसान भएको पनि करिब १ महिना वितेपछि एकदिन बद्रीजीले कतै जाऔंन न त घुम्न तपाईं पनि अलि फ्रेस हुनुहुन्छ भन्ने प्रस्ताव राख्नुभयो ।
–खै ४५ दिन सम्म म र इन्दिरा बाहिर केही खाँदैनौं कसरी जाने र ? म बद्रीजीको प्रस्तावको जवाफ दिन्छु ।
“ए दाइ, विहान घरमा खाना खाएर जाऔं । खाजा भनेको जे लगेनि भयो नि त आपैmंले वनाएर” पुरु समाधान दिन्छ ।
“ल हुन्छ नी त त्यसै गरौं” म पनि त घुम्न जाने कुरामा किन पछि पर्थें । तर जाने कहां नि, त्यसरी जान त जाने ठाउँ पनि त नजिक हुनुप¥यो नी ।
तीन वर्ष अघिदेखि जाने–जाने भनेको छहरे झर्ना याद छ दाइलाई ?” बद्रीजी सोध्नु हुन्छ । ए थाहा छ, किन नहुनु । ल हुन्छ त, म स्वीकृति दिन्छु । किनकी त्यहाँको वारेमा ३ वर्ष अघि उषा ढुंगानाले हामी नुवाकोटबाट फर्कंंदा वताएकी थिइन् र “ल हामी पनि जाउन त, म ब्यबस्था मिलाउछु” भनेर उषाले भनेकी थिईन र हामिले हुन्छ भनेर सल्लाह गरेका थियौं, तर खै न उषाले ब्यबस्थै मिलाईन न हाम्रो जाने साईत नै मिल्यो ।
त्यतिबेला नुवाकोटबाट फर्कंदा जव हामी झोर आइपुग्यौं– “अहा कस्तो रमाइलो कति हराभरा छ हाम्रो देश, जहाँ गयो त्यही बसौं बसौं लाग्ने । त्यहाँका निकुञ्ज, पहाड, जंगलतिर लक्षित गर्दै बद्रीजी भन्नुहुन्छ ।
कुनै कुरालाई गम्भिरता पूर्वक नलिइ हाँसोमा उडाइदिने पुरुषोत्तम चालिसे अर्थात् पुरु कटाक्ष गर्दै बद्रीलाई ”त्यसैले त गुरु नेपाल भनेको बिहान कट्टु लगाएर हिंड्यो भने साँझ लम्मुवोट (टपकोट) लाउनु पर्ने ठाउँमा पुगिन्छ भन्छन् नी ।”
हुन त उस्ले यो कुरा कटाक्ष गरेर भनेको थियो तर उस्को यो कुरामा नेपालको भौगोलिक विविधताको यथार्थता थियो । प्रकृतिले हामीलाई हावा पानी नै यस्तै दिएको थियो, शान्त मनोरम र शीतल ।
पुरुले यति भनि सक्ता नसक्तै उषा थप्छिन “ल यहाँ भन्दा अलि तल गहिरामा कस्तो मजाको झरना छ । म त अफिसबाट साथीहरूसँग आएको ।
झरनाको कुरा सुन्नासाथ त्यहाँ भएका सवै सहयात्रीहरू त्यहाँ पुग्न लालायित भएर “ल ल अहिले नै जाऔं” ।
“ए अहिले त झरना सुकिसक्यो होला, यो त वर्षा याममा मात्र हुन्छ– उषा सवैको कौतुहललाई बन्द गरिदिन्छिन् । अव त वर्षा लागेपछि मात्र हुन्छ । ल अव वर्षा लाग्नासाथ म तपाईंहरूलाई यहाँ घुमाउन ल्याउँछु । तर एक वर्षा, दुइ वर्षा हैन तीन वर्ष गयो न त कसैले त्यहाँ जाउँ घुम्न भने न त उषाले नै ल जाउँ भनिन् । कहिलेकाहिं म चाहिं उषालाई “उषाले छहरे झरना लगेर कति मजाले घुमाइन् हगी” भन्दै जिस्काउँथें, उषा लगायत सवै हाँस्थे । तर यो वर्षको वर्षा अर्थात् २०८२ सालको वर्षामा भने हामीहरू उषा विना नै त्यहाँ पुग्यौं ।
“ल दाइ पर्सि असारको २१ गते शनिवार छहरे झर्ना जाने भइयो । बद्रीजी भन्नुहुन्छ ।
ठिक छ, को को जाने त, मैले सोध्नु अघि नै पुरु सोध्छ । ए उही दुइवटा गाडीमा अट्ने जति त हो नी, महेन्द्र दाइको २ जना तिम्रो २ जना नारनको २ जना गणेशको २ जना गर्दा ८ जना भैहाल्यो । म एकजना अव अर्को १ जना कसैलाई भनौंला । बदी्रजी कुरा टुंग्याउनु हुन्छ ।
हामी कति वजे जाने होला र खानेकुरा के लग्ने – महिला टोलिमा खुल्दुली हुन्छ । प्रायः सँधै मैले यो यो खानेकुरा लग्ने भनेर भन्थें तर यो चोटी खानेकुरामा म मौन बसेको थिएँ । किनकि म इन्दिरा दाजुको आशोचमा थियौं । पैंतालीस दिन हामी वाहिर अनि अरुले वनाएको केही खाँदैनथ्यौं । त्यसैले मैले यो लग्ने उ लग्ने भनेर भन्नुपनि त उपयुक्त थिएन । त्यसैले विहान १० वजेतिर खाना खाएर जाने भनिदिएँ, खाजा तपाईंहरू आपैm मिलाएर लग्नोस, हामी खाँदैनौं भनेर तारा र शोभालाई भनें ।
सान्दाइ, तपाईंहरू कता घुम्न जानेरे मलाई पनि लग्नोस है, तपाईंहरू गएको ठाउमा त मपनि जानुपर्छ कहीं गएको छैन, मेरो क्यानाडा फर्कने वेला भैसक्यो” छोरी अञ्जुले भन्छे । दाइ विरामी भनेर नेपाल आएकी ऊ फर्केकी थिइन र ४५ दिनको मासिक सकेर फर्कने भन्थी । छोरीले म तपाईहरूसँग घुम्न जान्छु भनेपछि हुँदैन भन्ने कुरा भएन नत्र हामी ९ जना मात्र भएकोले १ जना रामेश्वर ढुंगानालाई भन्ने कुरा भैरहेको थियो ।
२१ गते शनिवार खाना खाएर हामी साढे १० वजे मेरा घर अगाडि जम्मा भएर पुरुको गाडी पर्खिरहेका थियौं । केहीवेरमा पुरु गाडी ल्याएर आइपुग्छ । उस्को गाडीमा २ जना आउनुपर्नेमा गाडिमा उस्की छोरी सहित तीन जना छन् । लौ १० जना भनेको त ११ जना पो भइयो । एउटा गाडिमा ५ जना र अर्कोमा कोचाकोच गरी ६ जना बसेर पौने ११ वजे हामी आरुबारीबाट टोखा हुँदै झोरस्थित छहरे झर्नाको लागि प्रस्थान ग¥यौं ।
छहरे–झरना, छहरे–झरना भनेको सुनेको थिएँ तर त्यहाँ पुगेपछि त कहीं कतै छहरे झरना भनेको पनि सुनिएनु र कतै लेखिएको पनि देखिएन । सायद नेपाली वस्तूहरूलाई जोड दिएर सम्बोधन गर्ने गर्छन्– जस्तो– “टेनिस सुजको जुत्ता, न्युरोड सडक, सहीदगेट ढोका, ट्रकको अगाडि पटि फ्रन्ट सिट” । हो त्यसैगरी छहारालाई छहरे भन्ने झरना जोडेको पो हो कि ? त्यहाँ पुगेपछि मात्र हामिलाई थाहा भयो त्यो झरनाभएको स्थान त “बौंडेश्वर महादेव गुफा झरना” भनेर चिनिदो रहेछ ।
हुन त हामी त्यहाँ कुनै देवीदेवताको मन्दिर छ भनेर गएको थिएनौं, न त हाम्रो धार्मिक यात्रा नै थियो । त्यहाँ पुगेपछि नै थाहा भयो त्यहाँ त साक्षात् शिवजी नै आपैंmले वरदान दिएको याचकको त्रासले लुकेर वस्न गएको रहेछन् । बौंडेश्वर महादेवको बारेमा त्यहाँ स्थानीय तवरमा २ वटा किम्वदन्ती प्रचलनमा रहेछ । भगवान शिवले समुन्द्रमंथनबाट निस्किएको विष कैलाश पर्वत मानसरोवरमा सेवन गरेपछि शिवलाई भएको डाहा, औडाह मेट्नलाई गोसाइकुण्ड जाँदा झोरस्थित उक्त गुफामा वास वसेको थिए भन्ने ।
अनि अर्को किम्वदन्ती अनूसार परापूर्वकालमा भष्मासुर नामक दैत्यले शिवजीको तपस्या गरेर “जस्को टाउकोमा मैले हात राख्छु त्यो भष्म् होस” भनेर वरदान माग्यो । भोलेबाबा शिवजी त्यो दैत्यले आफ्नो तपस्या गरेको देखेर खुसी हुँदै उस्ले मागे बमोजिमको वरदान दिए । वरदान पाएपछि भष्मासुर दैत्यमा शक्तिको नसा चढेर शिवजीलाई नै भष्म गर्छु भनेर लखेट्न थाल्यो र भष्मासुरको डरले झोरस्थित उक्त ढुंगाको गुफामा लुकेर ज्यान बचाए । बुढापाकाको भनाइअनुसार शिवजी ढुंगाको गुफामा छिरे तर अजंग शरीर भएको भष्मासुर उक्त गुफामा छिर्न नसकेकोले शिवजीलाई भेटाउन सकेन रे । त्यसपछि त्यो ढुंगाभित्रको मन्दिरलाई स्थानियहरूले “गुफा भित्रको मन्दिर” भनेर पूजाआजा गर्ने गरेका छन् । मन्दिर बाहिर रहेको ठूलो ढुंगा माथिबाट वर्षायाममा माथि माथि गाउँ देखि आएको खोलाको पानी छहराको रुपमा झर्ने भएकोले त्यो ठाउँ बौडेश्वर महादेव गुफा झरना भन्दा पनि “छहरे झर्ना झोर”को रुपमा परिचित भएको हो कि ?
हामी शनिवार छहरे झर्ना जाने सल्लाह भैरहेको कुरा सुनिरहेको कुमार (शम्भु) चालिसे २० गते शुक्रवार नै दिउँसो २ वजेतिर त्यहाँ गएछन् । “दाइ छहरे झर्नामा त पाइला टेक्नेको ठाउँ हुँदोरहेनछ, म भर्खर फर्केको” २० गते साँझ भेट हुदा कुमार वताउँछ ।
ल शुक्रबार त त्यस्तो झन भोली शनिवार के होला त ? म र बद्री कुरा गर्छौं । तर भोलिपल्ट झरना भन्दा माथि सडकमा गाडी राखेर हामी ढुंगाको सिंढी हुँदै करिव १ सय मिटर जति तल ओर्लन्छौं र महादेव लगायत अन्य देवीदेवताको मन्दिर, गुफा र झरना भएको प्रांगणमा पुग्छौं त्यहाँ विभिन्न निर्माण कार्यहरू हुदैथिए । बढी त फलामका सेटहरू वेल्डिंग गर्दै थिए । तर खासै मान्छेहरूको भिड थिएन र कुमारले किन त्यो भनेको होला जस्तो लाग्यो ।
हामी त्यहाँ पुगेर सवै आ–आफ्नो चाख अनुसार व्यस्त भयौं । मैले चाहिं झरना मुनि वसेर भिज्ने योजना अनुसार घरबाट त्यही अनुसारको पहिरनमा गएको थिएँ र एक जोर जगेडा लुगापनि लगेको थिएँ । त्यसैले म चाहिं दायाँ वायाँ कतै नहेरी सोभैm झरना मुनि गएर वसें । तर त्यहाँ अलि असहज पनि महसुस गरें, किनकि त्यहाँ त्यसरी भिजेर आनन्द लिनेहरूमा उमेरको हिसावले सवै कम उमेरको र प्रायः केटीहरू नै थिए । त्यहाँ भरपुर रमाइलो महसुस गरेर त्यहाँबाट निस्किएर लुगाहरू फेर्न थालें । हाम्रो टोलिमा जगेडा लुगा लिएर तारा जोशी जानुभएको रहेछ तर खै किन हो उहाँले झरनामुनि गएर भिज्नु भएन ।
त्यहाँ करिब एक डेढ घण्टा विताएपछि अव कहाँ जानेत भन्ने छलफल भयो । ल अव यहाँबाट सूर्य चौर जाऔं र त्यहाँ बसेर लगेको खाना खाएर फर्कियौं । वद्रीजी भन्छन् । झरनामा रमाउँदा रमाउँदै आकाश भरिलो भएर आयो र टप्प टप्प आँशु झारेर वर्षेला जस्तो भयो । यस्तोमा सूर्य चौर पुग्न सकिएला ? म भित्रको कच्चा ड्राइभरले शंका गर्नू स्वभाविक नै थियो । राष्ट्रिय निकुञ्जको बाटो हुँदै जानुपर्ने उक्त स्थान “गुर्जु भन्ज्याङ्ग सम्म उकालै उकालो पक्कि बाटो गएपछि कच्चि साँगुरो तर तेर्सो तेर्सो हुँदै सूर्य चौर पुग्न सकिदो रहेछ ।” आपूmले नदेखेकोले बाटोमा भेटिने मान्छेहरूलाई सोद्धा यसरी बाटो देखाइ दिएको थिएँ । उकालो बाटो त पिचै पिच नुवाकोट जाने हाइवे भएकोले कुनै समस्या परेन तर जव कच्चि साँघुरो बाटो लागियो यो वर्षायाममा त्यो बाटो गाडी लिएर जाने आँट मलाई आएन । सायद मेरो भन्दा अगाडि भएको पुरुलाई पनि त्यो भन्दा अगाडि गाडी लाने आँट भएनछ कि केहो गाडी रोक्यो । म गाडी राकेर आफ्नो स्वभाव अनुसार रिसाउँदै यस्तो बाटो देखेपछि पहिल्यै रोक्नु पर्दैन ? भनेर कराएँ । कराएर के गर्नु आइसकियो ।
अव समस्या गाडी फर्काउनुको पो प¥यो । पछाडि हटाएर आउँ, नगवेली बाटो, अनि साँघुरो अलिकति दायाँ बायाँ भयोकि शयौं फिट मुनि खस्ने । वल्ल वल्ल १०–१२ चोटी अघि पछि अघि पछि गर्दै गाडी घुमाएँ । पुरुको सहयोगमा । पुरुको गाडी घुमाउन त्यसैगरी सहयोग गर्ने भएको उस्को गाडिको चक्का हिलोमा फसेर हिलो पछाडि फ्याक्दा मेरा लुगा भरी हिलोको छिटाले लुगा रंगाइदियो । परिगयो नि फसाद, १ जोर लुगा झरनामा निथ्रुक्क, अर्को जोर हिलाम्मे पुछ पाछ गरेर त्यही हिलाम्मे लुगामा बाँकी यात्रा गरियो ।
गाडी घुमाएपछि एक क्षण लामो स्वास लिंदै चारैतिरको दृष्य तर्फ आँखा घुमाइयो । प्राकृति सुन्दरताले भरिपुर्ण हरियो जंगल, जंगल बीचको बाटो, चराचुरुङ्गीहरूको चिरबिर किरा–फट्यांग्राहरूको आवाज जस्ले कस्को मन लोभ्याउँदैन होला । तर के गर्नु, जुन ठाउँ पुग्ने, जहाँबाट अझ राम्रो प्राकृतिक सौन्दर्य पान गर्न सकिन्छ भनेर सुनिएको थियो, त्यहाँ नै पुग्न सकिएन अर्थात् अरुले गरेको वर्णन अनुसार सूर्य चौरबाट उत्तरतर्फ लामबद्ध भएर रहेका हिमश्रृंखलाको भरपुर अवलोकन गर्ने रहर रहरै भैदियो ।
त्यहाँबाट अघि आएकै बाटो ओरालो लाग्यौं । त्यहाँबाट ३ किलोमिटर जति आएपछि अर्को एउटा दोवाटो आयो, त्यहाँबाट आएको बाटो छोडेर त्यस्को दायाँ पट्टि लाग्यौं र १ कि.मि.जति अगाडि बढेपछि एउटा चौर आयो । त्यहाँ बसेर साथिहरूले आफुले लगेको खानेकुराहरू खानुभयो । त्यहाँ १ घण्टा विताएर त्यहाँबाट टोखास्थित सपनतिर्थ जाने सल्लाह अनुसार त्यता तिर लागियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
