शिव भजन : चन्द्रा न्यौपाने

शिव भजन : चन्द्रा न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

पैलो चरण
भोले बाबा हे नाथ !
तिम्रै शरण !

कैलाश बास
चराचर जगत
यिनकै आश ।

यी भयङ्कर
देवादि महादेव
शिव शङ्कर ।

यी निराकारी
सृष्टि परिचालक
कल्याणकारी ।

शिव विज्ञान
परमात्मा यी पूरै
छर्ने सद्ज्ञान ।

शिव हुन् तत्व
जीवनको दर्शन
सारा अस्तित्व ।

सारा जगत
परमात्मा यी सत्य
अरू फगत ।

शिव हुन् शक्ति
आगो पनि उपमा
ऊर्जा उत्पत्ति ।

सूरोमा सूरो
खाँदा भाङ धतुरो
कैले बेसूरो ।

आहा ! त्यो गला
गेरुवस्त्र धारण
सर्पका माला ।

सज्जित हात
कमण्डलु त्रिशूल
डमरुसाथ ।

बाघको छाला
द्वितीयाको चन्द्रमा
रुद्राक्ष माला ।

आहा ! छ छाँट
त्रिपुण्डक तिलक
आहा ! ललाट ।

नन्दी वाहन
नीलकण्ठ महेश !
प्रकाशवान ।

कालकुट त्यो
समुद्रको मन्थन
बिष निस्कियो ।

सुरक्षा दिए
कालकुट त्यो बिष
शिवले पिए ।

जटा मुकुट
जीउभरि खरानी
सुहायो खुब ।

त्रिनेत्रधारी
ज्योतिर्मय आत्माका
जटाधारी यी ।

रूपै झलल
जटाबाट अचम्म !
गङ्गा सलल ।

फागुन मास
कृष्ण चतुर्दशी यो
महिमा खास ।

शिवलिङ्गको
अर्धकालरात्रीमा
प्रादुर्भाव भो ।

शिवमै मन
महाशिवरात्रिमा
खास पुजन ।

भक्ति साराले
बेलपत्र अर्पंण !
जलधाराले ।

दूधधाराले
शिवजीमा अर्पण !
स्वच्छ पाराले ।

कोटी नमन !
सर्वव्यापी शिवकै
ध्यान जपन ।

सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।