मनको इच्छा :त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं,माघ २७।
हेर्दै सुन्दर यी हिमालय चुली जीवन्त हाँसी रहूँ
यी पाखा वन कन्दरा तिर सधैँ निर्धक्क नाची रहूँ
पढ्दै आदिम कालका शुभ कथा विश्वास साँची रहूँ
पुर्खाको पसिना तथा रगतको सम्मान राखी रहूँ ।
यो घण्टाघरझैँ सुदिव्यलयमा हिँड्दै रहूँदिन्दिन
चम्केझैँ हिमशैल सुन्दर बनीखुल्दै रहूँ छिन्छिन
रम्दै बग्न सकूँ म निर्भय बनी मेची र कालीसरि
थाक्ने हैन म फूर्तिलो बनिरहूँ ठाडा उकाली चढी ।
यो सच्चा ऋषि औ महर्षि जनको प्यारो तपस्यास्थल
भेटौँशान्तितथा सुधामृत यही कैलास भन्दा तल
चोखा चिन्तन बुध्दका वचनका पढ्दै म डुल्दै रहूँ
झर्ना तालनदी र फाँट पहराजस्तै म खुल्दै रहूँ ।
तारा जून बसेर दूर जसरी हेरी रहन्छन् यहीँ
भोटा नित्य वसन्त आदिऋतुले फेरी रहेछन् यहीँ
इन्द्रेणी नव रङ्ग भर्दछ त्यही हेर्दै रमाई रहूँ
मैले भुल्नु हुँदैनकर्म र त्यही बाटो समाई रहूँ ।
छातीका नवनीत धड्कन बनी धड्कन्छ माटो यही
नौला जाँगर सीपले चहकले चम्कन्छ माटो यही
माटोमा नवसिर्जना लहरले बास्ना फिँजाई रहूँ
आमाको यस काखमै भय विना बाँचौँ बचाई रहूँ ।
ताजा राख्न सकौँ सधैँ हृदयमा भातृत्वका भावना
भै गुल्जार उठून् बढून् हरपला कर्तव्यका चाहना
यो नेपाल उठाउँने प्रगतिको बाटो समाई रहूँ
नेपालीहु नुमा छ गौरव यिनै पाखा सजाई रहूँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक