सुन्दर : त्रिलोचन आचार्य (कविता )

सुन्दर : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ९।

१ हुन्छन् सुन्दर फूलका तनहरू बेदाग जैले पनि

हुन्छन् सुन्दर त्यागका मनहरू निःस्वार्थ जैले पनि

धर्ती सुन्दर रम्य भव्य जलका थोपाहरू सुन्दर
रात्री सुन्दर चम्किला गगनका पोकाहरू सुन्दर ।
२ हुन्छन् खेत किसानका लय मिले जैले सुकै सुन्दर
हुन्छन् प्रातः बिहानको लय मिले देख्दा निकै सुन्दर
पानी घाम र शैल फाँट चुचुरा खोलाहरू सुन्दर
जान्छन् दूर रमाउँदै खुरुखुरू बेलाहरू सुन्दर ।
३ मान्छेका मनका समग्र जनका ढाँचाहरू सुन्दर
बोली पर्दछ पुग्नु दिव्य सत्य पथका बाचाहरू सुन्दर
हावा सुन्दर व्योमका छुनमुने लोलीहरू सुन्दर
माया सुन्दर दिव्य बाल वयका बोलीहरू सुन्दर ।
४ बेला सुन्दर यामका हरफका पानाहरू सुन्दर
मेला सुन्दर घामका किरणका छानाहरू सुन्दर
खोला सुन्दर दिव्य रत्न जलका थोपाहरू सुन्दर
नौलो स्वच्छ भविष्य खोज्न मनका खोपाहरू सुन्दर ।
५  जे देख्यो प्रिय त्यै सधैँ चहकिलो आँखा भए सुन्दर
जे बोल्यो अनि त्यै सफा चहकिलो भाका भए सुन्दर
जे छोयो प्रिय त्यै सुगन्धित हुने माटो भए सुन्दर
सारा विश्व सधैँ प्रफुल्लित हुने बाटो लिए सुन्दर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।