कविताको प्रश्न : रामचन्द्र दाहाल (कविता)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९।
यो देश कस्को हो ?
अनादि ऋषिमुनीको हो कि ?
ऐतिहाँसि राजाको ?
कि वीरविरङ्गनाको ?
कि आम नेपाली को ?
प्रश्न उभिएको उभियै छ
पृथ्वी स्वयंम मौन छ ।
दुशासनहरू पनि मौन छन् ।
राज्यसत्तमा चलखेल छ
लोकतन्त्र गणतन्त्र सबै मौन ।
लेनदेनमा लम्पट अधिकार पनि मौन
विशुद्ध प्रश्न अलिखित छ
लिखित उत्तरमा कैलियत छ
शिर्फ छोटो उत्तरमा
तपाईं भन्नुस महाशय !
यो देश कस्को हो ?
देशको अस्तित्व
न्यायलयको तराजु हो कि ?
सत्ताउन्मादको आर्तनाद ?
देशको सार्वभौमिकता
ब्यक्तिको एकाधिकार हो कि ?
जनताको सर्वाधिकार !
अपराधी उन्मुक्ति आम माफी,
अन्याय, अत्यचार,
उत्पीडन र कुठाराघात
देश भनेको लुटको पराकाष्ठा हो ?
कि माफियाको रामराज्य
के व्यक्तिको लण्ठ लहड नै देश हो ?
कि धृतराष्टिय अन्धकार ?
कविताको प्रतिकले
अहंम प्रश्न तेस्र्याएर
कविहरूलाई नै सोध्यो
तपाइँ नै भन्नुस् त महोदय,
यो देश कस्को हो ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक