सुनको विज्ञप्ति : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,साउन २०।
न त मगमग बास्ना, छर्न मैले सकेको ?
न त उदर कसैको, भर्न मैले सकेको ?
छ किन रटन चर्को, दङ्ग पार्दै मलाई ?
म सुन, लसुन जस्तो, छैन मेरो बचाई ।।१।।
सब जन किन भिर्छन् ? कान छेडेर मुन्द्री
सब जन किन किन्छन् ? किन्न छोडेर गुन्द्री
गजब छ किन राख्छन् ? भित्रभित्रै लुकाई
ल सुन, लसुन जस्तो छैन मेरो बसाई ।।२।।
चुमुचुमु चहकिन्छन् चुट्नु चुट्दै मलाई
लुटुपुटु लहसिन्छन् लुट्नु लुट्दै मलाई
छुनुमुनु सब गर्छन् धन्य भन्दै कमाई
सुन न, लसुन जस्तो छैन मेरो रमाई ।।३।।
किन छ भर भरोशा साथ मेरो हुँदामा ?
किन म नहुनु पर्ने किन्तु दोस्रो सुदामा ?
किन फरर दिँदैछन् नित्य मेरो दुहाई ?
सहज, लसुन जस्तो छैन मेरो घुमाई ।।४।।
बदनियत र जाली तस्करीको चिरेर
दिन दिन झन ताली पत्रिकाको भिरेर
थकित छु म खरानी बन्न इच्छा छ भाइ ।
म सुन, लसुन बन्ने छैन मौका मलाई ।।५।।
फल ढलपल गर्दै खान्छ भत्ता फलाम
किन रहर गरेका भिर्छु भन्दै गलामा ?
न त रम रमितामा प्रेमको होस् उचाई
म सुन, लसुन जस्तो छैन माया मलाई ।।६।।
कति दिन अझ बन्ने, सन्दुके रामछाया ?
कति दिन अझ भोग्ने, बन्दुके मोहमाया ?
किन कर बल सत्तासुन्दरीको बनाई ?
सब गरिब धनीको, बन्न देऊ मलाई ।।७।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक