माफ गर्नोस बा, विश्वास कायम राख्न सकिन : महेन्द्र चालिसे (व्यक्ति विशेष)

माफ गर्नोस बा, विश्वास कायम राख्न सकिन : महेन्द्र चालिसे (व्यक्ति विशेष)
  कपन अनलाइन

काठमाण्डौ ,असार १६।

सायद ६५ सालको अन्त्य या ६६ सालको सुरु हुनुपर्छ उहाँसँग मेरो पहिलो जम्का भेट मेरै घरको ढोका अगाडी भएको थियो । नमस्ते भाइ, म रामेश्वर चापागाईं सुनिताको बुबा, सुनिता त्यतिवेला हाम्रो छिमेकी हुनु हुन्थ्यो । म तपाईको घरमा दुई वर्ष अघि पनि आएको थिएँ, त्यतिवेला तपाई विदेश जानु भएको थियो, तपाईको पिताजीको दर्शन गर्ने अवसर पाईयो । ऊहाँको बारेमा भाई डा. नरेन्द्र चापागाईंबाट धेरै सुनेको थिए । अब म पनि यही स्थाई बस्ने गरी आइपुगें । तपाईंहरुको बारेमा छोरी सुनिताले धेरै कुरा गर्छीन । अहिले संयोगले जम्का भेट भैहाल्यो ।’
पहिलो जम्का भेटमा उहांले यति कुरा गर्नुभयो । म पहिलो भेटमा कसैसँग त्यति खुल्न सक्तिन र चाहन्न पनि । तर उहाँको बोलिमा कुन आकर्षण थियो कुन्नी, म त्यतिबेला मेरो पिताजीको आशौचमा थिएँ र उहाँलाई देख्नासाथ खै किन हा उहाँलाई मैले ‘बा’ को सम्बाृधन गर्न पुगेँ । उहाँको र मेरो उमेरमा सायद १८, २० वर्षको फरक थियो कि ? उहाँ मलाई महेन्द्र भाई भन्नुहुन्थ्यो म उहालाई ‘बा’ नै भन्थें जुन सम्बोधन उहाँको र मेरो अन्तिम भेट २०८० साल जेठ २० गते विहान ६ वजे सम्म रह्यो ।
त्यो पहिलो भेटमै उहाँलाई मैले हामि प्रायः विहान बेलुकी साँझमा जमघट हुने आरुबारी चोकमा गौतमको चिया पसलमा जाने प्रस्ताब राखें, जुन प्रस्ताव उहाँले सहर्ष स्विकार गर्नुभयो । हुनसक्छ उहाँले सजिलै त्यो प्रस्ताव स्विकार गर्नुमा मेरो माध्यमबाट अन्य स्थानीय वासीहरुसँग चिनजान गर्ने उद्देश्य थियो होला जुन वास्तवमा प्रभावकारी पनि रह्या,े किनकि पछिसम्म त्यो चिया पसलमा ऊहाँको उपस्थिति रह्यो र उहाँको विद्वत्ता, उमेर आदि सवै कारण उहाँलाई सवैले आदर सम्मान गर्थे र उहाँ पनि सवैसँग घुलमिल हुनुहुन्थ्यो ।
रामेश्वर चापागाईं जो पहिले भोजपुर क्याम्पसमा अध्यापन गराउनु हुन्थ्यो । पछि धनकुटा कलेजमा पढाउन थाल्नुभयो र प्रोफेसर पदबाट निवृत्ति हुनुभएको एउटा विद्वान् व्यक्ति कता कुन संयोगले हाम्रो छिमेकी हून आइपुग्नुभयो । माथि भने भैंm हामी बीच १८–२० वर्षको उमेर फरक थियो । तर उहाँको र मेरो र आरुबारी चोकको हाम्रो जमघट हुने ठाउँमा आउने प्रायः मेरो सम्पर्कका सबैसँग पुरै साथी जस्तै हुनुहुन्थ्यो । उहाँ हामीलाई प्रायः संस्कृतमा र नेपालीमा रसीला र रसीक काव्यहरु सुनाउनु हुन्थ्यो । त्यसमध्ये उहाँले सुनाउनु भएको प्रकृतिको स्वभावका बारेको ४ लाइन कविता मलाई अहिले पनि मुखाग्रै आउँछ–
‘गृष्मको सूर्यको राप
बढ्न थाल्यो उभोतिर,
पृथ्वीमा गर्मीको ताप,
बढ्न थाल्यो, उधोतिर,
प्रचण्ड गर्मिको ताप,
बढ्न थाल्यो जति जति,
त्यति त्यति लतावृश,
सुक्न थाले उति उति ।
चोकको जमघटमा अनेकौ गफहरु हुन्थे, सवैको छोरा छोरी विदेश जाने र गएको कुरालाई उहाँ मानव स्वभाव र समाज शास्त्रको आधारमा परिभाषित गर्नुहुन्थ्यो र प्रत्येक १०० वर्ष भित्रमा मान्छले बसाई सर्छ, ल हेर्नोस् म नै धनकुटाबाट आरुबारी बसाई सरें, भनेर मिठो हाँसो हाँस्नुहुन्थ्यो र अरु साथीहरुसंग मलाई देखाउँदै “हामि त ढुक्क छौ, महेन्द्र भाईहरु जस्ता छिमेकी हुनुहुन्छ, एउटै परिवार जस्तो गर्नुहुन्छ हामिलाई केही भयो भने, एक चोटी पक्कै भैहाल्छ, बुढाबुढी भैसक्यो – उहाँले व्यवस्था गर्नुहुन्छ, सटक्क लगेर विजुली मेसीनमा हालिदिनु हुन्छ खेलै खतम” उहाँले यसो भन्दा म चाहिँ “ए बा, के भन्नुभएको यस्तो, हामि तपांईको छहारीमा धेरै बस्नुपर्छ अझै अहिल्यै यस्तो कुरा गर्ने ? उहाँ हासेर सत्य यही हो नी, भन्नुहुन्थ्यो ।
कोरोना संक्रमण सम्म उहाँ र हामी नियमित रुपमा गौतमको चिया पसलमा विहान सधैं र साँझ कहिलेकाहीँ जान्थ्यौं । उहाँले त्यहाँ विहान वेलुका १–१ कप चिया पिउनु हुन्थ्यो, हामि चाहिं ३–४ कप नै पिउँथ्यौं । कहिलेकाहीं म दोश्रो कपको लागि कर गर्थे, सुरुमा त उहाँ मान्नु हुन्नथ्यो । तर अलि कर गरेपछि मान्नुहुन्थ्यो तर “लौ कर गरि हाल्नुभयो, खाई दिन्छु, मलाई वेफाइदा भयो भने अस्पताल लग्न त तपाईले नै पर्छ” भन्नुहुन्थ्यो । तर मैले उहाँलाई कहिल्यै अस्पताल लग्नु परेन । कोरोना संक्रमण पछि चाहिं उहाँको उपस्थिति धेरै पातलियो । कहिलेकाहीं “ल म त भाइ साथिहरुसँग भेट्न आइपुगें “ भन्दै आउनुहुन्थ्यो र १ कप चिया पिएर” तपांइहरु बस्नोस म चाहि जान्छु ” भनेर हिंडनुहुन्थ्यो ।
हामि म र इन्दिरा प्रायः विदेश र देश घुमिरहन्छौं २–४ दिन देखि ४–५ महिनासम्म । जव हामी फर्कन्छौं– बा र आमा दुवै जना “तपाईंहरु नभएपछि त यो टोेलै अँध्यारो हुन्छ, हामि त वेसहारा जस्तै महसुस गर्छौ” भन्नुहुन्थ्यो । त्यो उहाँहरुको वडप्पन जो थियो । किनकि हामिले उहाँहरुलाई केही गरेकै थिएनौं र उहाँहरुको लागि हामिले केही गर्नै पर्दैनथ्यो किनकि शोभा र गणेशजी
(उहाँका छोरी ज्वाईं)ले उहाँहरुको सारै राम्रोसँग रेखदेख गरिरहनु भएको
थियो । मात्र हामी उहाँहरु दुवैजनामा आफ्ना बाबा आमाको झल्को पाउँथ्यौं र उहाँहरुपनि हामिलाई छोराछोरीकै रुपमा हेर्नुहुन्थ्यो ।
हाल केही समयदेखी बा त हैन आमा चाहिं अलि अस्वस्थ रहन थाल्नु भएको थियो । हामी गत जेठ २० गते अमेरिका आउने भयौं, आमाले अलि नरमाइलो मान्नु भएको महसुस गरेको थिएँ । अघिल्लो दिन विदाबारी भएका थियौँ तर २० गते बिहान पौने ६ मै उहाँहरु हामिलाई बिदा गर्न सबेरै उठेर आउनु भएछ । त्यति बेला बाले हाँसेर ल त अव कार्तिक २४ गते भेटौंला भन्नु भएको थियो र हामि त्यहाँ सबैंसँग विदावारी भएर हिड्यौँ ।
अमेरिका आएको १५–१६ दिन भयो यो विचमा इन्दिराले आमासंग एक दुई चोटि फोनमा कुरा गरिन क्यार म चाहि पछि फोन गरौंला भनेर बसें । तर एक्कासी यही असारको ५–६ गते नेपाल बाट फोन आउछ बा बित्नुभयो भनेर ।
हैन यो के खब्र सुन्नुप¥यो, कसरी पत्याउने ? तर नपत्याई कन पनि त सार छैन । त्यो फोन आएको केही क्षणपछि गणेश बरालले जीले फोन गरेर खवर गर्नुभयो – अब त नपत्याई धरै नै थिएन ।
‘बाबु र इन्दिरा छोरी भएपछि हामि त ढुक्कै छौं नी, प्रायः आमा बा को मुखबाट निस्कने शब्द हो यो । तर जतिखेर उहाँहरुलाई हाम्रो ढाँड, भरोसाको आवश्यकता थियो र उहाँहरुलाई हामिले ढाँड भरोसा दिन्छौं भन्ने ऊहाँहरुलाई जुन विश्वास थियो परिस्थितिले त्यस्लाई झुठो ठहराई दियो ।
‘बा–आमा हामिलाई माफ गर्नोस हामिले तपाईंहरुको विश्वास कायम राख्न सकेनौं ।’
तपाईंको आत्माले चीर शान्ती पाओस्– प्रोफेसर रामेश्वर चापागाईं, जस्लाई हामिले अविभावक ग्रहण गरेका थियौं ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।