अनुकूल : कविता दाहाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १३।
‘अब म त्यो घरमा जान्न । कि घर कि जागिर रे यस्तो पनि शर्त हुन्छ ?’ नीरुको कुरा सुनेर उनकी हजुरआमा झसङ्ग भईन् । उनको लागि यो सानो झट्का थिएन । नातिनीलाई सम्झाउँदै भनिन्, ‘नानी ! छोरी भएर यस्तो घमण्ड देखाउनु हुँदैन । घर खान तेति सजिलो कहाँहुन्छ र ! तँ जन्मेपछि तेरी आमाले पनि पढाउन छोडेकी थिई । तैंले पनि आफूलाई अब घर अनुकूलको बनाउनुपर्छ । जाबो जागिर खान पनि घरै त्याग्नुपर्छ र ! जोरीपारिले के भन्छन् ? जगहँसाई नगर नानी !
हाम्रो इज्जतको ख्याल तैंले नगरे कल्ले गर्छ ?’ हजूर आमाको कुरा ढोका छेउमा उभिएर नीरूकी आमाले पनि सुनिरहेकी थिईन । आशा लाग्दो आँखाले सहयोगका याचना गर्दै नीरुले आमालाई हेरिन् । छोरीको अगाडि केही नबोली आमा त्यहाँबाट हिंडिन् । केही क्षणमा छोरी बिदाई गर्न एउटा झोलामा दुई चार थान किताब बोकेर आमा बाहिर निक्लिइन् । उनले छोरीको हातमा कोसेली झोला दिंदै भनिन्, ‘नानी ! तिमी घर अनुकूल नबन्नु बरु यस्तो लायक बन्नु कि घर तिम्रो अनुकूलको बनोस् ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।