माया : शम्भु ढकाल (लघुकथा)

माया : शम्भु ढकाल (लघुकथा)
कपन अनलाइन

काठमाण्डौ ,बैशाख १३।

सधैँ के न के भनेर टारटुर पार्ने उस्ले आज बिहानै पत्नीलाई भन्यो ‘मन्दिर जाऊँ ।’ धेरै समयपछि आएको प्रस्तावलाई सहजै स्वीकारी पत्नीले ।
घरको थान्को मुन्को सकेर उनीहरु मन्दिरतिर लागे । दुई तिर ठूला खोलाको बीचमा थियो, शिव मन्दिर ।
‘फूल प्रसाद सबै यतै किनौँ ल ।’ एउटा पसलमा पुगेर पत्नीले भनी ।
भगवान भोलेनाथको वहान नन्दीलाई पुजेर भित्र छिरे, उनीहरु ।
पूजा सामाग्रीको पोको छदै थियो । खोलाबाट उघाएर लगेको पवित्र  जलले भगवानका स्नान गरे । दुवैले बसेर धेरैबेर पूजा गरे । लगेका सामान सबै चढाई सकेपछि अन्तमा फेरि जल चढाउने बेला भयो ।
‘तपाईं मलाई  कति माया गर्नुहुन्छ । आज भगवान पनि छक्क पर्नु हुन्छ होला ।’ पत्नीले भनी ।
‘यी हेर न यो जल ,जुन म भगवान्लाई चढाउदै छु, यसका जति अणु छन् नि त्यो भन्दा अझ धेरै माया तिमीलाई गर्छु ।’ उसले जल चढाउदै भन्यो ।
जल चढाइरहेको शिवलिङ्गबाटै प्रकट भएर भगवानले भने, ‘अस्ति ल्याएकी केटीसँग पनि यही वाक्य बोलेका थियौ त । भक्त, तिम्रा कतिवटी पत्नी छन् ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।