पर्या–पर्यटनः खै त सम्बर्धन ?
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १३/राजेशमान के.सी.
पर्यावरणीय पर्यटन भन्नाले खासगरी पर्यटनको त्यस्तो स्वरुपलाई जनाउँछ जस अन्तर्गत प्राकृतिक वातावरण र जैविक विविधताको संरक्षण गर्दै दिगो पर्यटन विकासद्धारा स्थानीय बासिन्दाको सामाजिक र आर्थिक हितमा विशेष जोड दिइन्छ । अर्को अर्थमा भन्ने हो भने भौतिक विकासका गतिविधिहरुबाट हुने वातावरणीय क्षतिलाई न्यूनीकरण गर्दै प्रकृतिमा आधारित पर्यटकीय गतिविधिहरुको संचालन गरी दिगो पर्यटनको विकास गर्नु नै वास्तवमा ‘पर्यावरणीय पर्यटन’ हो भन्न सकिन्छ ।
पर्यावरणीय पर्यटनको कुरा गर्दा खासगरी पदयात्रा, साहसिक यात्रा, विभिन्न जीवजन्तु एवम् चराचुरुंगीहरुको अवलोकन, पर्वतारोहण, जलचरण आदि लगायत विभिन्न जातजातिका वनस्पतिहरुको वैज्ञानिक अध्ययन अनुसन्धान सम्बन्धी महत्वपूर्ण कार्यहरु समेत यस अन्तर्गत पर्ने र यी सबै कुराहरुको सम्भावना नेपालमा प्रचुर मात्रामा विद्यमान रहेको हुंदा विश्वमा ठूलो संख्याका पर्यावरणीय पर्यटकहरुले नेपाललाई एक किसिमबाट स्वप्नभूमीकै रुपमा हेर्ने र लिने गरेका छन् । यहां विद्यमान जैविक विविधता, सांस्कृतिक सम्पदाको प्रचुरता, प्राकृतिक स्रोत र साधनहरुको व्यापकताले गर्दा हाम्रो मुलुकलाई प्राकृतिक रुपमै अत्यन्त सम्पन्न र वैभवशाली तुल्याइदिएको छ । उदाहरणको लागि हाम्रो मुलुकका विभिन्न वनजङ्गल एवम् आरक्ष केन्द्रहरुमा पाइने जीवजन्तुहरु, चराचुरुङ्गी, पुतली, विभिन्न जातजातिका बोटविरुवाहरु, सेता र कन्चन हिमालय, नदीनाला, तालतलैया, झरना आदि विदेशी पर्यटकहरुका लागि अत्यन्त आकर्षित प्राकृतिक स्रोतका रुपमा स्थापित हुन पुगेका छन् । यसका साथै हाम्रो मुलुक धार्मिक, सांस्कृतिक एबं् आध्यात्मिक दृष्टिकोणले समेत महत्वपूर्ण स्थलको रुपमा विशवभरी नै प्रसिद्धी पाएको हुँदा नेपालप्रति विश्वका धेरै भन्दा धेरै पर्यटकहरु आकर्षित हुने गरेका छन् ।
विश्वमा अहिले कतिपय वैज्ञानिक एबं् वातावरणविद्हरु भौतिक निर्माण र विकासको नाममा गरिने लापरबाहीपूर्ण गतिविधिहरुबाट उत्पन्न हुन पुगेको बढ्दो वातावरणीय विनाशप्रति चिन्तित हुन थालेका छन् । खासगरी विश्वव्यापी बढ्दो तापक्रम र जलवायु परिवर्तनबाट उत्पन्न असरका कारण सिंगो विश्व आज पर्यावरणीय समस्याबाट ग्रसित बन्न पुगेको छ । जसको फलस्वरुप प्राकृतिक स्रोत र सम्पदाहरुको संरक्षण एबं् सम्बर्धन नै वातावरणविद्हरुको लागि अहिले प्रमुख समस्या र चुनौती बन्न पुगेको छ । यस अर्थमा विश्वमा अहिले बढ्दो तापक्रम र जलवायु परिवर्तनको असरबाट देखा परेको वातावरणीय विनाशको चुनौती तथा प्रकृति, कला, संस्कृति एवम् जैविक विविधताको संरक्षण सम्बर्धनप्रति बढ्दो चासो र अभिरुचीलाई पर्यावरणीय पर्यटनप्रतिको झुकावकै रुपमा लिन सकिन्छ ।
नेपालमा पर्यटन विकासका सम्भावनाहरु प्रशस्त छन् । स्वच्छ हिमालयको काखमा अवस्थित रमणीय स्थलहरु, मनोरम तालहरु, हिमालयबाट अविरल वगिरहने नदीनाला र झरनाहरु, तराइका हरिया फाँटहरुले कुनचाहीँ विदेशीको मन नलोभ्याउला र? देशको उत्तरी सिमाना विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अग्ला–अग्ला र मध्यम उचाइका आकर्षक हिम शिखरहरुबाट ढाकिएको छ भने प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी, विविध सांस्कृतिक सम्पदा, पवित्र धार्मिक तीर्थस्थलहरु र अझ त्यो भन्दा पनि महत्वपूर्ण कुरा नेपालीहरुको मिलनसील स्वभाव र मैत्रीपूर्ण व्यवहार पर्यटन विकासका दृष्टिकोणले महत्वपूर्ण पक्ष बन्न पुगेका छन् । त्यसमाथि नेपालका तीन प्रमुख सहरहरु काठमाडौँ, ललितपुर र भक्तपुरस्थित दरबार स्क्वायर, चाँगुनारायण, बौद्धनाथ र पशुपति क्षेत्र विश्व सम्पदा सूचीमा पर्न गएबाट नेपालमा पर्यटन विकासको सम्भावना यथेष्ट मात्रामा बढ्न गएको छ । नेपाल एक यस्तो मुलुक हो जहां १०० भन्दा बढी जनजातिहरु छन् भने ७० भन्दा बढी विभिन्न जातीय एबं् उपजातीय भाषाभाषीहरु छन् । जुन वैज्ञानिक अनुसन्धानकर्ता, समाजशास्त्री, मानवशास्त्री एबं् धार्मिक पर्यटकहरुका लागि पनि अध्ययन र आकर्षणको विषय बन्न पुगेको छ । त्यसो त नेपालको संघीय राजधानी काठमाडौँ शहर पनि मन्दिरै मन्दिरको शहरको रुपमा विश्वमाझ परिचित छ ।
यी सम्पूर्ण कुराहरुलाई मध्येनजर राखेर हेर्दा नेपाललाई पर्यावरणीय पर्यटनको दृष्टिले विश्वको एउटा प्रमुख गन्तव्यस्थलकै रुपमा विकास गर्न सकिने सम्भावना यथेष्ट छ । तर विडम्बनाको कुरा के छ भने नेपाल सरकार एबं् सम्बद्ध निकायले अझै पनि पर्यावरणीय पर्यटनको दृष्टिले उपयोगी स्थलहरुको खोजी गरी यथोचित संरक्षण सम्बर्धन गर्न सकिरहेको छैन । यस्ता पर्यटकीय स्थलहरुको खोजी गर्नुका साथै ती पर्यटकीय स्थलहरु वातावरणीय दृष्टिकोणले पनि स्वच्छ र व्यवस्थित रुपमा विकास हुनु आवश्यक छ ।
नेपालमा अहिले कतिपय सांस्कृतिक स्थल र सम्पदाहरु यथोचित संरक्षण हुन नसकी उपेक्षित अवस्थामा रहेका छन् । त्यसैले यस्ता उपेक्षित अवस्थामा रहेका क्षेत्रहरुको संरक्षण सम्बर्धन गर्नु पनि उत्तिकै आवश्यक छ । वास्तवमा पर्यावरणीय पर्यटनको विकासले नै हाम्रो प्राकृतिक वातावरण र जैविक विविधताको संरक्षणमा टेवा पुग्न जाने भएको हुँदा यसबाट दूर्लभ जीवजन्तु, वनस्पति एवम् सीमसार क्षेत्रको संरक्षण सम्बर्धनमा समेत महत्वपूर्ण योगदान पुग्न सक्ने देखिन्छ ।
अर्कोतर्फ नेपाल जस्तो भूपरिवेष्ठित मुलुक जहाँ सामुद्रिक बन्दरगाहको सुविधा छैन, जहाँ प्रचुर मात्रामा प्राकृतिक खनीज साधनहरु छैन, जहाँ ठूलठूला उद्योगधन्दा र कल– कारखानाहरुको अझै पनि अभाव छ र जहाँ विदेशी मुद्रा आर्जनको अर्को कुनै विकल्प छैन, त्यस देशका लागि पर्यटन उद्योगको आवश्यकताबारे उल्लेख गर्नु सायदै जरुरी होला । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रुपमा रहेको पर्यटन उद्योगको विकासबाट एकातिर विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सकिन्छ भने अर्कोतिर रोजगारको अवसर, घरेलु उद्योग धन्दामा विकास र सांस्कृतिक आदान प्रदानमा पनि उत्तिकै टेवा पुग्न जाने कुरा स्पष्ट छ ।
समग्रमा भन्नु पर्दा देशमा पर्यटन क्षेत्रको समुचित विकास र व्यवस्थापनका लागि साझा राष्ट्रिय नीति र कायक्रमहरुको तर्जुमा गर्नु अति नै आवश्यक देखिन्छ । यसको लागि देशमा भित्रिने पर्यटकहरुका लागि शान्ति सुरक्षाको प्रत्याभूति पहिलो आवश्यकता हुन्छ । देशमा यदि शान्ति सुरक्षाको स्थिति नै चित्त बुभ्mदो र भरपर्दो छैन भने विभिन्न भ्रमण वर्षको नाममा लाखौँ पर्यटक भित्र्याउने महत्वाकांक्षी नारा घन्काउनुको कुनै अर्थ रहँदैन । अर्को महत्वपूर्ण कुरा भनेको विभिन्न राजनीतिक दल वा तिनका भात्रृ संगठनहरुद्धारा यो वा त्यो बहानामा जनताको दुहाई दिँदै जनताकै दैनिक जीवनलाई अत्यन्त कष्टकर तुल्याउन गरिने बन्द, हड्ताल र चक्काजाम जस्ता क्रियाकलापहरु सदाका लागि अन्त्य गर्न सामूहिक प्रतिबद्धता जाहेर गर्नु पर्दछ । यसो हुन सकेको खण्डमा मात्र नेपालमा पर्यटन क्षेत्रको समुचित विकास हुन गई देशको अर्थतन्त्रले नयाँ गति प्राप्त गर्न सक्तछ । यसतर्फ सरकार र सबै जिम्मेवार राजनीतिक दलहरुले बेलैमा गम्भीर भएर सोच्ने हो कि ?
तपाइँको प्रतिक्रिया ।