इर्ष्या : डा.राजेन्द्र परदेशी (लखनउँ, भारत)
कपन अनलाइन
काठमाडौं, फागुन २०।
मंगरूवा सधैँको जस्तै बेलुका खेतबाट फर्कंदा ठाकुर भुलासिंहका हवेलीतिर लाग्यो । दलानमा पाइला राख्ने बित्तिकै ढोग गरेँ भन्यो र निभ्नै लागेका चिलिममा आगो सल्काउन लाग्यो । उसले बिस्तारै भन्यो– ‘सरकार हजुरले केही सुन्नुभयो कि ?’ ‘के कुरा हो ?’ ठाकुर शायद अद्र्धनिद्रामा थिए । गान्धी साहित्य, सिरानबाट झिकेर टेबुलमा राखिदिए र आँखा मिच्न लागे । मंगरूवाले तुरुन्तै पाउ समात्यो र मिचिदिने कोसिस गर्यो । ‘रतनवाले बीस हजारको जोडी ल्यायो सरकार’, मंगरूवाले कुरो सुरु गर्यो ।
‘कहाँबाट ल्याएछ,’ ठाकुरले कोल्टे फेर्दै सोधे । ‘सुन्दरवा कमाउन थालेको छ नि’ ‘कहाँ ?’ ‘कोलकातामा अरे । कतै काम गर्छ, हरेक महिना बाउलाई दस–पाँच हजार पठाउँदै पनि छ । ठाकुरले आँखा पल्टाए, फेरि ढुक्कको मुद्रामा भने– ‘रतनवाले साह्रै दुःख गरेर छोरो पढायो, भैगो, राम्रै भयो, कम से कम छोरो बाउको सहारा त बन्यो ।’ रतनवाका छोराको प्रशंसा मंगरूवालाई राम्रो लागेन ।
कसैको पाइलो अघि बढोस् र उसलाई मन परोस् भन्ने त असम्भव नै थियो । उसले भन्यो– ‘सरकार, यो त हजुरकै कृपा थियो र पाइलैपिच्छे उसको मद्दत गर्नुभयो नत्र गाउँमा कति केटा छन् । कहाँ को पो पढेर हाकिम बने ?’ ‘त्यो त हो ?’ ठाकुरले सार मात्रै मिलाए । ‘तर सरकार, गुन मान्ने सट्टा रतनवा त उल्टै हजुरको खोइरो खन्दै हिँडेको छ ।’ मंगरूवाको कुरो सुनेर ठाकुर छक्क परे, बोले– ‘हँ के अरे, कुरा
के हो ?’ निसाना ठिक ठाउँमा लागेको जानेर मंगरूवाले भन्यो– ‘सरकारले जानेर के गर्नुहुन्छ र ? राम्रो कुरो भए पो भन्नु ।’ सच्चाइ जान्न ठाकुरको जिज्ञासा बढ्यो । साहुले जोड दिएर भने– किन नबोलेको त ? ‘सरकार, हजुरले भन् भनेपछि भन्छु त । ‘रतनवा एक दिन ठाकुर साहबको टाँडीको जमिन लिने विचारमा छु र त्यहाँ एउटा पक्की घर बनाउँछु भन्दै थियो । झुप्रो ढल्न लागेको छ । त्यसलाई बनाउनतिर लाग्नुभन्दा दुईवटा पक्की कोठा नै बनाइदिने । उसका कुरो सुन्दै रिस उठ्यो ।
चार पैसे के कमायो ऊ सबको जमिन किन्न लाग्यो । उसले हजुरका घरमा गोठालो बसेको पनि पो बिर्सिएछ ।’ ठाकुरलाई सम्झना भयो । चार दिन अघि त रतनवा छोरासँगै उनका घरमा आएको थियो । छोरालाई गाली गर्दै थियो– चार अक्षर पढेँ भन्दैमा ठुलाबढाको सम्मान गर्न बिर्सिइस् । चाँडो बाबाका गोडा छोएर प्रणाम गर् । केटाले तुरुन्त गोडा छोएर प्रणाम गर्यो र सङ्कोच मान्दै एक छेउमा उभिएको थियो । मंगरूवाले भनेको उनले सुने– सरकार रतनवाकै कुरा सोच्तै हुनुहुन्छ कि ? जान दिनुहोस्, अरु कसैले भए त उसकै जिब्रो झिक्ने थियो, हजुर त देवता हुनुहुन्छ र पो सुने पनि छोडिदिनुहुन्छ । होइन, कुरा त्यसो होइन ।
म त भोलि नै सहर गएर पो टाँडीको जमिन रतनवाका नाममा पास गरिदिऊँ कि भन्ने सोच्तै छु । बिचरा बाउछोरा चार दिन अघि आएर कति अनुरोध गरेका थिए । अब यसो गर् तँ नै गएर उसलाई भोलि बिहान सबेरैे तयार भएर मेरा घरमा आइज भनी बोलाइदे । ठाकुरको कुरो सुनेर मंगरूवालाई जाडोमा उसका टाउकामा चिसो पानीका घैला खन्याए जस्तो लाग्यो । अनि ऊ लुक्नका लागि अँध्यारामा पस्यो ।
(अनुवादः मञ्जुश्री केसी प्रधान)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक