भानुमोती पुरस्कार र भद्र दिदीको दोसल्ला : ललिता ‘दोषी’ (आत्मापरक निबन्ध )
कपन अनलाइन
काठमाडौं, फागुन २०।
फूल हौ तिमी जून हौ, हौ सिर्जनाकी खानी
ढल्दै छ दिन तिम्रो लाग्छ सधँै छ्यौ बिहानी
मृदु मुस्कान उस्तै, उस्तै छ लगन र सीप
तिम्रो हृदयमा देख्छु केवल उज्यालो दीप ।
शोषित, पीडित सबैको मर्म बुझ्ने कति–कति
सधैँ पूmल जस्ती, सधैँ जून जस्ती उज्यालो लाग्ने छवि
चेतनाको शङ्खनाद गर्दै हिँड्यौ तिमी जताततै
अक्षरको खेती गर्न थाकिनौ तिमी कवै ।
वाणीमा वैभव त्यस्तै हरदम देखिन्छ्यौ खुसी
लाग्दैन तिमीभित्र पीडा होलान् रत्ति
आरोह–अवरोह खेप्दै निरन्तर लेखिरहेछ््यौ तिमी
कामना गर्छु यसरी नै बितोस् तिम्रो जीवनी ।
बहुमुखी प्रतिभाकी धनी सुश्री भद्रकुमारी घले मलाई उज्यालो दीपझैँ लाग्छ । निरन्तर साहित्य सिर्जनामा तल्लीन भद्र दिज्यूको जीवनका थुप्रै पाटा छन् । कला, साहित्य, समाजसेवा, राजनीति जुन पाटो नियाल्दा पनि उस्तै उर्वर छन् । उहाँका त्याग बलिदानका कुराहरू चार–छ पानामा लेखेर सकिँदैन । सिमलझैँ ताती भद्र दिज्यूको पत्रपत्र केलाउने हो भने सिङ्गै ठेली बन्छ । म उहाँको अतीत वर्तमानका कथाहरू भविष्यको इच्छा केही कोट्याउदिनँ । उहाँका थुप्रै प्रकाशित कृतिहरू छन् । मैले केही कृति पढेकी पनि छु । अरू पुस्तकभन्दा पृथक् लागेको कृति ‘बुढ्यौलीको गन्थन’ हो । यसलाई मैले थोरै कोट्याएँ जसलाई उहाँले आत्मापरक निबन्धसङ्ग्रह भन्नु भएको छ । हुन पनि हो त्यहाँ आत्मा नै बोलेको छ । प्रत्येक दिन देखेका, भोगेका र सोचेका कुराहरू एक–एक थुँगा पूmल भएर सिङ्गै बगैँचा बनेको छ । बगैँचामा फूलेका पृथक्–पृथक् फूलहरूझैँ उहाँको जीवनमा प्रत्येक दिन घटेका पृथक् कुराहरू छन् ।
बुढ्यौलीको गन्थन पल्टाउँदा मलाई उहाँको हृदयको पाना पल्टाएझैँ लाग्यो । के–के होलान् उहाँको हृदयमा उर्लेका भाव कौतूहल मेटाउनु छ भने सानो सुन्दर कृति ‘बुढ्यौलीको गन्थन’ पल्टाउनु नै पर्छ । हामीले आफ्नो प्रतिबिम्ब ऐनामा हेरेझैँ भद्र दिज्यूको सुन्दर प्रतिबिम्ब त्यहाँ झल्केको छ । २०६९ जेठ १४ गते उहाँमा उर्लिएका भावना यस्ता छन् ।
२०६९ जेठ १४ गते नयाँ संविधान पेस गरिनुपर्ने थियो सो भएन चार–छ घण्टा बाँकी रहँदा म सुतेँ । हाम्रा नेता एउटा निर्णयमा पुग्न सकेका छैनन् । यस्तो स्थिति आएको छ । आज पन्ध्र गते राष्ट्र शून्यतामा पुगेको छ । यस्तै–यस्तै भावना छन् । बाबुराम भट्टराईले केही गर्लान् कि भन्ने आश पनि उहाँमा टुसाएको रहेछ ।
‘बुढ्यौली गन्थनमा’ २०६९ जेठ ८ गतेदेखि २०६९ कार्तिक १८ गतेसम्म प्रत्येक दिन घटेका सुखद,
दुःखद घटनाहरू छन् । २०६९ जेठ ०८ गते दिज्यूले प्रकाश समीर बाबुको कुरा, साहित्यमा शैलीको कुरा आदिको बारेमा लेख्नुभएको छ ।
२०६९कार्तिक १८ गते आफ्नै जीवनबारे सोच्नुभएको छ । जीवनमा सबैले पालना गर्ने कर्तव्यबारे आफ्नो मत राख्नुभएको छ । रमाइलो कुरा दिज्यूले दैनिकीमा शीर्षक पनि राख्नुभएको छ । राम्रो विचार, जीवनको सदुपयोग जस्ता थुप्रै शीर्षकहरू छन् । यो पुस्तक पढेर मैले उहाँलाई धेरै नजिकबाट चिन्ने मौका पाएँ । उहाँलाई जस्तै सबैलाई देश दुखेको भए सायद देश शिखरमा पुग्थ्यो होला । उहाँलाई देशको धेरै चिन्ता छ । गुणवान्को गुण र बैगुनीको बैगुन पनि खुलेरै भन्ने उहाँको हक्की स्वभावसँग म केही परिचित थिएँ । पुस्तक पढेपछि झन् धेरै कुरा बुझ्ने मौका पाएँ । उहाँका कृति पढेपछि जीवनदेखि निराश हुने जो कोहीले पनि जीवनको मूल्य बुझ्छन् । जीवनमा केही गर्नुपर्ने रहेछ भनेर सकारात्मक सोच जन्माउँछन् । मेरो ठम्याइ यही हो ।
हुन त मैले लेख्न लागेको पाटो ‘भानुमोती पुरस्कार र भद्र दिज्यूको दोसल्लाको’ कुरा थियो । बुढ्यौलीको गन्थन पढेपछि मेरो कलम त्यतै चिप्लियो । दिज्यूको बुढ्यौलीको गन्थन जस्तै मरो पनि आफ्नै गन्थन–मन्थन छ । साहित्यको कुरा गर्दा पुरस्कार पाउँछु भनेर कुनै पनि साहित्यकारले साहित्य सिर्जना गर्दैनन् तर राम्रो साहित्यको मूल्यङ्कन भएन भने कति ऊर्जावान् व्यक्ति पलायन भएका होलान्, भएका पनि छन् । यो मेरो बुझाइ हो । म गलत पनि हुन सक्छु तर मलाई आफ्नै भोगाइ भन्न त छुट छ । म आफ्नो अतीतका टिठलाग्दा दुर्दिन सम्झन्छु । त्यो सम्झिँदा छाती बिझाउँछ । २०५९ सालसम्म मैले तीन पुस्तक प्रकाशित गरिसकेकी थिएँ । प्रिय पाठकको धेरै माया पनि पाइसकेकी थिएँ । साहित्यकारहरूबाट बारम्बार खुट्टा तान्दा म ज्यादै निराश हुन्थेँ । साहित्यकार रमेश खकुरेल सरका मायालु शब्द सम्झेर बेलाबेलामा आँखा पनि रसाउँथ्यो । उहाँले बढो मायालु पारामा भन्नु भएको थियो । नानी, तिमी जस्ती सोझीमान्छे यो क्षेत्रमा आयौ । तिमी डुब्यौ बा, डुब्यौ । मैले सोचेँ, म साँच्चै डुबेँ । त्यो पनि उत्रिन नै नसक्ने गरी । कतिले लेखेरे के पाइस् भन्नेजस्ता कुरा पनि गरे । अब साहित्य लेख्दिनँ, पढेर ठूलो मान्छे बन्छु भन्ने सोचेँ । लेख्न चटक्कै छोडेँ । भानुमोती पुरस्कारका लागि कविता मागेपछि मैले पुरानो कविता यसो पठाई हेरौँ न भनेर पठाएँ । मैले कुन कविता पठाए,ँ कहिले रिजल्ट हुन्छ भन्ने कुरा पनि भुलिसकेकी थिएँ । कविता पठाएको करिब दुईतीन महिनापछि एक दिन दिउँसो साथी अमिरमैया रञ्जितले फोन गरेर भनिन्, ‘ल अब कहिले भोज खुवाउने ?’
अलमल्ल पर्दै के को भोज खुवाउने उनलाई नै सोधेँ । त्यसपछि अमिरले भानुमोती प्रथम पुरस्कार पाएको कुरा गरिन् । पुरस्कार पाउनेमा तुलसीहरि कोइराला बाबु, काशिराम विरस बाबु पनि हुनुहन्थ्यो । मलाई त त्यो क्षण सपना जस्तै लाग्यो म खुसीले चिच्चाएँ । सूचना दिएकोमा अमिरलाई धन्यवाद दिएँ । त्यो नै मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो । कविता निर्णायक कमिटीमा वरिष्ठ साहित्यकारहरू ईश्वरबल्लभ सर, केशव सुवेदी सर, इन्दिरा प्रसाई दिज्यू हुनुहँुदोरहेछ । मैले सबैलाई आभार प्रकट गरेँ । मेरो खुट्टा खुसीले भुइँ मै थिएन । आपूmले आकाश नै छोएझैँ लाग्यो । पुरस्कार दिने दिन पनि आयो । सीताराम प्रसाई सरले पुरस्कार दिनुभयो । त्यो पुरस्कारको राशी रु. १५ हजार थियो । त्यो १५ हजार पुरस्कार मेरो लागि १५ लाखभन्दा पनि कति बढीबढी थियो । भानुमोती पुरस्कार मैले पाएको पहिलो देशव्यापी पुरस्कार थियो । त्यो दिन मैले संसारलाई धेरै सुन्दर देखेँ । समाजमा राम्रा मान्छेहरूको पनि कमी रहेनछ म ढुक्क भएँ । मनमनै संकल्प गरेँ । ती राम्रा निर्णायक वरिष्ट साहित्यिक व्यतित्वहरूको शिर, पुरस्कार दिने व्यक्तिको शिर, पुरस्कार दिने संस्थाको शिर म मेरो नामबाट झुक्न दिने छैन ।
पहिलो पटक दोसल्ला ओडाउँने भद्र दिज्यू नै हुनुहुन्थ्यो । दिज्यूले खैरो रङको दोसल्ला ओडाउँदै नानी, बधाई छ, राम्रो लेख्दै जानू भन्नु भयो । म भद्र दिज्यूको दोसल्लाको पनि मान राख्छु भन्ने सोचेँ । मभित्रको घोर अँध्यारो हट्यो । म अनवरत लेख्दै गएँ ।
यही फागुन १९ गते भद्र दिज्यूको ९२ औँ जन्मदिनमा मैले उहाँले दिनुभएको दोसल्ला पनि सम्झेँ केही लखेँ । आज समयले धेरै फट्को मारि– सकेछ । मेरो नामसँग जोडिएका थुप्रै निर्णायकहरू, थुप्रै संस्थाहरू छन् । मैले सबैलाई सम्झिरहेकी छु । सायद मैले भानुमोती पुरस्कार र नपाएकी भए आज म डुबिसकेकी हुने थिएँ । कहिल्यै उत्रनै नसक्ने गरी । हो कहिल्यै … ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक