चरी : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, असोज १७ ।
खोज्दै दाना टिप्दछ चुच्चो
खाई थोरै कुद्दछ फुच्चो
कैले आँगन कैले छाना
हिँड्दछु नाङ्गै के को नाना ।
नाँच्यो हाँगा हाँगातिर गै
हेर्दै फर्क्यो छाँगातिर गै
घरमा चाँ चाँ चीँ चीँ बाला
सुन्दर मनको उज्ज्वल चाला ।
स्वच्छ फूलका वोट चुमेको
वेँशी पाखा भोट घुमेको
डुल्न कतैको बाधा छैनन्
साँध सिमाना केही हैनन् ।
वास छ सुकिला–लहरा भित्रै
खास छ बलियो पहरा भित्रै
आस कसैको गर्नु नपर्ने
दास कसैको पर्नु नपर्ने ।
चाहना छैन मालिक बन्ने
राजा म हुँ है रैती तँ भन्ने
लुट्दै ढाँट्दै हिँड्नु नपर्ने
जाल अनेकौँ बुन्नु नपर्ने ।
हुलमा निस्क्यो वनमा नाच्यो
चिरबिर चिरबिर बोल्यो हाँस्यो
के छ र पाउनु ? आँसु छरेको
के छ र आउनु ? दुःख गरेको ।
टार्नु दगुर्दै दिनहूँ खाँचो
राख्नु लुकाई घरको साँचो
के को सास्ती ? आफ्नै रजाइँ
झञ्झट क्यै पनि छैन मलाई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक