काठमाडौँको बौद्धमा मनाइयो रोपाई जात्रा
कपन अनलाइन
काठमाडौं, साउन २९ । काठमाडौँको बौद्धमा रोपाई जात्रा धुमधामका साथ सम्पन्न गरीएको छ । हरेक वर्ष गाईजात्राको भोलीपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ ।
प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई यस पटक पनि निरन्तरता दिइएको हो ।मौलिक जात्राको रुपमा मनाईने रोपाई जात्रामा धान रोप्नेदेखी लिएर रमाईलो गर्ने सम्मका कार्य गर्दै झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेर पुनः बौद्ध परिसरको खुल्ला स्थानमा जम्मा भई औपचारिक कार्यक्रमका साथ जात्रा सम्पन्न भएको थियो ।
बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गरेका थिए । धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले यो तान्त्रिक, धार्मिक, सांस्कृतिक महत्त्वको जात्रा बनेको छ । यसले साँस्कृतिक एवम् जातीय एकतालाई मजबुत बनाउँदै लगेको पाइन्छ । धार्मिक, सांस्कृतिक एकताको अनुपम नमुना हो बौद्धको रापाइँ जात्रा । यसलाई संरक्षणमा अझ जोड दिन सके विश्व संम्पदा सूचीमा रहेको यस क्षेत्रको पर्यटन प्रवर्धन हुने स्थानीयको भनाई छ ।
प्रत्येक वर्षको गाईजात्राको भोलिपल्ट मनाइने सो पर्वमा विभिन्न विधामा उत्कृष्ट कला पर्दशन गर्नेलाई मेडल प्रमाणपत्र एवम् नगद पुरस्कार वितरण गरिएको थियो । हजारौंको संख्यामा रहेको भिडलाई नेपाल प्रहरी,ट्राफिक प्रहरी,सामुदायिक प्रहरी,नेपाल स्काउट एवम् स्थानीय संघ संस्थाले व्यवस्थापन गरेका थिए ।
जात्रालाई व्यवस्थित गर्न तामाङ कल्याण गुठी र बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त संयोजकत्वमा स्थानीय संघ संस्थाको सहभागीतामा गाईजात्रा तथा रोपाइँ जात्रा मुल समारोह समिति गठन गरिएको थियो ।
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल सरकारका संस्कृति पर्यटन मन्त्री मा जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, वडा अध्यक्ष भुवन लामा पुर्व जापानका लागि नेपाली राजदुत डा. गणेश योन्जन,बौद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष सम्पुर्ण लामा,दिलिप लामा,लगायत आयोजक संस्थाका पदाधिकारीहरु सहित स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्ने बक्ताहरुले जात्राले बौद्ध क्षेत्रकै सांस्कृतिक चिनारीको रुपमा निरन्तरता पाउँदै आएको बताउदै त्यसको संरक्षणमा जोड दिएका थिए ।
फोटो :सुरज रुम्बा