हराएको छोरो : आचार्य प्रभा (लघुकथा )
‘को हो यो ? म चिन्दिनँ !’ बृद्धले तोते बोल्दै भने ।
‘बुवा, म माइला क्या ! तँपाईको छोरा।’
‘मेरा कोही छैनन् ।’
‘म पुकुले क्या ! सानोमा हजुरले पुकुले भन्नु हुन्थ्यो नि !’ छोराले बुवालाई आफ्नो सानोको नामबाट परिचय दिँदै भन्न खोज्यो । ‘ए ! त्यो पुकुले । बिहे गरेपछि हरायो ।’ बुवाले अझै नचिनेझैं ग¥यो ।
‘बुवा म कहाँ हराएँ र ? आएँ त ।’ भन्दै छोरा अलिक नजिक गयो ।
‘अनि मलाई यहाँ छाड्ने बेलामा त अब म तँपाईँको लागि छैन । हराएको सम्झिनु भन्या थिनस् ? त्यसपछि तँ बेपत्तै भइस् । मैले त हराएकै ठान्या थिएँ ।’
बुवाको रोदनयुक्त आवाजले यसो भनिरहँदा छोरा केही भावुक बनिसकेको थियो । ‘बुवा म हराएको छैन,
फर्किएँ । आउनु होस्, मेरो नजिक।आज बुवाको मुख हेर्ने दिन, मैले हजुरलाई मन पर्ने मिठाई ल्याई दिएको छु । ल, मुख आँ गर्नु होस् ।’
‘बरु बिष ल्याएको भए हुन्थ्यो नि ! सुगरले मेरो ज्यान नै जान लागेको बेला किन मुख हेर्नु पर्यो ? लाश नै हेर्दा सन्तोष हुन्थ्यो होला ।’
बुवाको मार्मिक वाक्यले छोरा मर्माहत बन्यो । आँखाको आँसु पुछ्दै थियो । आँखा खोल्दा बुवालाई एक ब्यक्तिले हातमा समातेर भित्र लैजाँदै थियो । अनि बृद्ध आश्रमको द्वार पनि बन्द भयो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक