कुरी कुरी पत्रकार, लज्जाशरणम पत्रकारिता ।
जनआस्था सम्पादक किशोर श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा डा. गोविन्द केसीको अनशनमार्फत् नेपाली मिडियाले बसाउन खोजेको संस्कारबारे बहस उठाउन खोजेका थिए । ‘एउटा मान्छे पटक–पटक अनशन बस्ने कुरालाई फ्रण्ट पेजमा ठुल्ठूला फोटासहित भव्य स्पेस दिएर हामीले अवज्ञा, बन्द, धर्नाको कस्तो संस्कृतिलाई प्रोत्साहित गर्दै छौँ ? अनशन बस्नु कसैको निजी इच्छाको विषय हो, यसलाई किन अन्तर्राष्ट्रियकरण गर्दै छौँ ? यसो गर्दा पो राज्यलाई झुकाउन सकिँदो रहेछ भन्ने सन्देश किन कलिलो पिँढीलाई दिन खोज्दै छौँ ? एउटा सानो जिज्ञासा हो मेरो समस्त मिडियाकर्मीप्रति । आउनोस्, हामी आफ्नै भूमिकाको निर्मम समीÔा गरौँ ।’ किशोर श्रेष्ठको यो आग्रहमा यतिधेरै पूर्वाग्रहका वर्षा भए कि, मानौँ यो गोविन्द केसीको विरोधमा लेखिएको स्टाटस हो । बहस मिडिया संस्कार र प्रवृत्तिका लागि खुला गरिएको थियो । तर, यसमा कसैको गम्भीर प्रतिक्रिया नै आएन ।
वास्तवमा डा. गोविन्द केसीको यसपटकको अनशनमार्फत् नेपालको मूलधारे मिडियाले गरेको नांगो कार्टेलिङले उनीहरूले नै भन्ने गरेको कथित व्यावसायिक पत्रकारितालाई आर्यघाटमा पु¥याइदिएको छ । एउटा सम्पादक र उसको मातहतमा कार्यरत पत्रकार टिचिङ अस्पताल पुगेर अमूक दल र नेताविरुद्ध नाराबाजी गर्छ, निःशुल्क बाँडिएको टिसर्ट लगाउँछ, निश्चित मिसन बोकेकाहरूको मिटिङमा बसेर अनशनलाई कडा बनाउने निर्णय गर्छ र न्युजरुममा फर्किएर लेख्छ–आई एम विथ डाक्टर केसी । अनि अर्को सम्पादक लेख्छ–यस्ता महात्मा, सत्ज्ञानी मान्छे यो युगमा अरू जन्मिन सक्दैनन् । अझ अघि बढेर अर्का सम्पादक लेख्छन्– धरोधर्म जन्मेर यत्रो भएँ, आजसम्म यस्ता भगवान्जस्ता मान्छे भेटेकै थिइनँ, यी साधारण मान्छे होइनन्, एक्काइसौं शताब्दीका कल्की अवतार हुन् ।
कोहीले सम्पादकीय लेखे, कोहीले बाइलाइन समाचार लेखे, कोहीले टिप्पणी लेखे, कोहीले आर्टिकल बनाए । सञ्चार सिन्डिकेटको निश्कर्ष एउटै थियो, गोविन्द केसी सत्याग्रही महात्मा हुन्, ३ करोड नेपालीका मुक्तिदाता उनीबाहेक अरू कोही छैनन् । मूलधारका भनिएका ब्रोडसिट पत्रिकाले ११ दिनसम्म नेपालमा गोविन्द केसीको अनशनबाहेक अरू कुनै विषय समाचारयोग्य देखेनन् । पत्रकारिताको आधारभूत मान्यता र विश्वविद्यालयमा पढाइने पत्रकारिताको सिद्धान्तको घाँटी रेटे । समाचारको सामान्य सिद्धान्त पढेका ११ कक्षाका विद्यार्थीले पनि बुझ्ने कुरा के हो भने,कुनै पनि समाचारमा आरोपित पक्षको पनि भनाई समेटिनुपर्छ ।
मर्यादित र जिम्मेवार पत्रकारिताको धज्जी उडाउँदै देशका ठूला अखबारमा गोविन्द केसी विशेषांक निस्किए । गोविन्द केसीले जसलाई जे भनेर आरोपित गरेका थिए, ती आरोपितको प्रतिक्रिया कुनै पत्रिकाले छाप्न चाहेनन् ।बरु राजनीतिक दलका मुखपत्र वा कुनै संघसंस्थाका जर्नलमा विभिन्न पक्षका भनाई राखिएलान् तर नेपालका दैनिक पत्रिकाले पत्रकारिताको त्यति सामान्य सिद्धान्त पनि पोलेर खाएको आँखैअगाडि देखियो । मूलधारे पत्रिकाको पर्चाकारिता देखेर लाजै लागेपछि लज्जाशरणम अभियन्ता पत्रकार भुवन केसीले फेसबुक र ट्विटरमै लेखे– डा. केसी प्रकरणमा सरकार त नांगियो नै † पत्रकारिताको सामान्य मूल्य–मान्यतासमेत पालना नगरेर मिडिया पनि नांगिए । लज्जाशरणम । नेपालका सम्पादक तहकै पत्रकार यसरी कुनै एउटा व्यक्ति र उसलाई अघि सार्ने नियोजित स्वार्थ समूहको यति नांगो दलालीमा संगठित ढंगले लागेको सम्भवतः यो पहिलो घटना हो ।
यसबाट के प्रष्ट भएको छ भने– कुनै पनि संगठित गिरोह वा गोविन्द केसीले भन्ने गरेका माफियाले चाहे भने देशका व्यावसायिक भनिएका पत्रकार, सम्पादक र कर्पोरेट मिडियालाई आफ्नो इशारामा नचाउन सक्ने रहेछन् । तत्कालका लागि गोविन्द केसीसँग गाँसिएकाहरूले यसलाई सामान्य रूपमा लिए पनि, दीर्घकालीन रूपमा सञ्चार सिण्डिकेट लोकतन्त्र र नागरिक अधिकारका लागि भयानक स्याबोटेज हुनेछ । गोविन्द केसीको अनशनभित्रको राजनीति अर्कै पाटो हो । तर, स्वतन्त्र र व्यवसायिक भनिएका मिडिया, विशेष गरी सम्पादक तहका व्यक्तिको भूमिकामाथि प्रश्न उठेको छ ।
कुनै सम्पादक एउटा संगठित र नियोजित मिसनको सक्रिय सदस्य हुन्छ, त्यो मिसनका लागि गरिएको अनशनस्थलमा जुलुस लगाउँछ, स्रोत नखुलाइएको पैसाबाट छापिएको टिसर्ट लगाउँछ, धारे हात लगाएर कुनै राजनीतिक दल, त्यसका नेता र निश्चित मेडिकल कलेजका सञ्चालकलाई अपराधी र माफिया करार गर्छ भने उसले लेख्ने समाचार र त्यो पत्रिकाको विश्वसनीयता कहाँ रहन्छ ? बहसको विषय यो हो ।
कुनै व्यक्ति वा संस्था माफिया हो भनेर किटान गर्ने गोविन्द केसी वा उनको मिसनका मिडिया पार्टनरले हो कि राज्यका अदालत वा अख्तियारप्राप्त निकायले हो ? वरिष्ठ पत्रकारहरूले इतिहासको कठघरामा उभिएर कुनै दिन यसको जवाफ दिनु पर्दैन ? उनीहरूले जे लेख्यो त्यहि सही हुने हो भने अनुजा बानियाँ आज नेपाली आइकन बनेर समाजमा स्थापित हुने थिइन् । दिलशोभा श्रेष्ठ यौन दूराचारी ठहर भएर जेलमा पुगिसकेकी हुने थिइन् । रसेन्द्र भट्टराईले शेष घले र उपेन्द्र महतोहरूलाई फुच्चे बनाइसक्थे । रामबहादुर थापा बादल भक्तमान श्रेष्ठको अपहरणकारी बनेर जेलमा हुन्थे । त्यसैले दिन सधैँ कुलीन घरानाका सम्पादक र तिनका पृष्ठपोषकका मात्र हँुदैनन् । जवाफ हरेकले दिनैपर्छ कि–यसपटक उनीहरूले जे गरे त्यो वास्तवमै व्यावसायिक पत्रकारिताको मूलधारे कोर्स नै हो त ? त्यसो हो भने विश्वविद्यालयबाट पत्रकारिताका पुस्तक निकालेर आगो लगाऔं र एलिट सम्पादकलाई नयाँ पाठ््यक्रम तयार पार्न लगाऔँ, जहाँ लेखिएको हुनेछ–हामी पाँच÷सात जनाले जे गर्छौं, लेख्छौं त्यही नै व्यावसायिक पत्रकारिता हो ।
हरेक न्युजरुमका अधिकांश पत्रकारले यसपटक आफ्ना सम्पादकले जुन मिसनको सदस्य बनेर पत्रिका वा आफ्नो सञ्चारगृहलाई मिडिया पार्टनर बनाए त्यसमा अमिलो मन लगाए । तर, उनीहरूको निरीहता यतिसम्म देखियो कि, सामाजिक सञ्जालमा समेत तिनले आफ्नो विमति पोख्न सकेनन् । यो भनेको पत्रकारको आत्मा मरेको क्षण हो । एउटा पत्रकारले न्युजरुममा विमति राख्ने र आफ्नो मत लागू नभएमा स्वतन्त्र रूपमा ब्लग वा सोसल मिडियाबाट विचार प्रवाह गर्न सक्नुपर्छ । त्यो नै स्वतन्त्र पत्रकारिता हो ।
गोविन्द केसीको अनशन सकिए पनि ती मिडियामा रहलपहल अझै नसकिएको त्यहाँ प्रकाशित हुने सामग्रीले देखाउँछन् । सम्पादकहरू आफैँ कनी–कनी गोविन्दगाथा लेख्दै छन् । यतिसम्म कि गोविन्द केसीको पक्षमा जे लेखे पनि छापिन्छ भन्ने आममान्छेमा परिसकेकाले उनीहरू पनि सम्पादककै रुचिका विषय लेखेर पठाउन थालेका छन् । गोविन्द केसीको समर्थनमा लेखिएका पाठकपत्र पनि लेख बन्न थालेका छन् । कुनै अभिभावकले आफ्ना छोरा छोरीलाई गोविन्द केसीजस्तै डाक्टर बनाउन चाहन्छु भनेर लेख्नासाथ ठाउँ पाइहाल्ने अवस्था बनेको छ ।
यो सामान्य कुरा होइन । नियोजित र संगठित मिसन हो, जसमा सम्पादकहरूलाई प्रवक्ता बनाइएको छ । ती प्रवक्ताले लेख्ने र बोल्ने कन्टेन्टलाई कुरी कुरी भन्नुबाहेक अरु शव्द केही छैनन् । त्यसैले भन्छु–कुरी कुरी पत्रकार, लज्जाशरणम पत्रकारिता ।
यो लेख जनआस्था साप्ताहिक बाट साभार गरिएको हो ।
मात्रिका पौडेल अनलाइखबर डट कम का उप- सम्पादक हुन