भिखारी : बालकृष्ण गजुरेल (लघुकथा )
कपन अनलाइन
काठमाडौं, पौष २१ ।
हिमालको सुन्दरताले नलोभ्याउने कोही हुँदैन रहेछ। म पनि हिउँ खेल्न दामन पुगेँ । दिउँसो तीन बजे देखि सडक कुर्दा गाडी काठमाण्डौ फर्केन । बिरानो ठाउँमा चिनापर्चि गर्दा प्रवेश ढकाल मित्र बने ।
उनले पालुङमा होटल चिनाइदिए । अर्को दिन बिहान बस खोज्दै बसपार्क पुगेँ । एउटा बस भित्र प्रबेश ढकालका सपरिवार देखा परे । खुशी लाग्यो साथमा काठमाडौं फर्कन पाएकोमा ।
दस बर्षको छोरो र उनको श्रीमती एउटा सिटमा थिए । सामुन्नेको सिटमा हामी थियौँ । उनले हौसिँदै भने, ” हेर्नोस् बालकृष्ण जी , मैले सरकारी इन्जिनियर छोडेर ब्यवसाय थालेँ । श्रीमती कलेज पढाउँछिन् । छोरीले ब्रिटिस गोर्खा कलेज टप गरिन् । बाबू पनि चार कक्षामा प्रथम छ । ” मलाई अत्याधिक खुशी लाग्यो । मैले रमाउँदै भनेँ, “प्रबेश ढकाल जी, हजुर जस्तो सुन्दर ब्यक्तित्व बिरलै भेटिन्छन् ।” मेरो शब्दलाई काट्दै उनले थपे, ” हेर्नोस् बालकृष्ण जी, यो तेह्र बर्षमा सन्तान पढाएर ६ करोड कमाएछु ।
सरकारी जागिरले लालची मात्रै बनाउँदो रहेछ ।” “ठिक भन्नू भयो । ब्यवसाय गर्ने नै सफल हुन्छन् ” मैले हो मा हो थपेँ । पछाडीबाट सहचालक पैसा माग्न टुप्लुक्क अाइपुग्यो ।
उसले सानो बाबूको भाडा माग्न थाल्यो । उनले श्रीमती र अाफ्नो भाडा तिरे । बाबूको भाडा नतिर्ने सुरमा झर्कँदै भने, ” यति सानो मान्छेको भाडा लिन्छौ ?” सह चालकले रिसाउँदै भन्यो, ” दाजु, पाँच करोड कमाउँदैमा धनी बनिँदैन । सोच भिखारी बनेपछि अस्तित्व कहाँ बाँच्छ ?”