पढेकी छोरीलाई जीवन पढाउँदा : इन्द्रकुमार श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पौष १०।

मेरो छोरी !
यत्तिका वर्षपछि
तिमीले अब त
विद्यालय शिक्षा पनि पूरा गरिसक्यौ
यसबीचमा तिमीले
धेरै समय बितायौ–
शिक्षकहरूका व्याख्यान सुनेर
थुप्रै पुस्तकहरू पढेर
प्रशस्त कापी र मसी सिध्यायौ
पानाका पाना होमवर्क÷प्रोजेक्ट वर्क गरेर
विभिन्न थरीका परीक्षा दिएर पास पनि ग¥यौ
रातदिन मिहिनेत गरेर
पक्कै पनि
यसबीचमा तिमीले धेरै कुरा सिकेको हुनुपर्छ
प्रशस्त ज्ञान हासिल गरेको हुनुपर्छ
अबचाहिं–
आफूले आफैंलाई मूल्याङ्कन गर्ने बेला भएको छ
आफूले आफैंसँग सिक्ने बेला भएको छ
आज मलाई पनि
तिमीलाई केही कुरा सुनाउन मन लागेको छ ।

उः त्यहाँ उभिने
बोली र अनुहार दुवै चिल्ला भएका र मोटाघोटा मानिसहरू
कथित् राजनीतिको नाममा
काम नगरी खाने र देश चुस्ने नेताहरू हुन्
तिनीहरूका बारेमा चासो राख्ने गर !

उः त्यो भुँडी ढल्काएर हिंड्ने ‘पण्डित’
जमानामा पाँचकक्षा पास गर्न नसकेर
अहिले रुद्राक्षको माला, चन्दन र धोती लाएको भरमा
कथित् धर्मात्माहरूको पाप पखालिदिन
‘देवता’ भएर सोहोरिरहेको छ सर्वत्र
त्यस्ताहरूदेखि सचेत रहने गर !

उः त्यो देशको सबभन्दा ठूलो विमानस्थलमा
ठूलो प्लेन उडेको देख्यौ नि !
हो, त्यसैमा हाम्रा
तिम्रै उमेरका साथीहरू दिनदिनै विदेश गइरहेका छन्
त्यसको कारण खोज्ने गर !

खेतबारीमा पसिना बगाइरहेका र
ठेला उठाइरहेका मानिसहरू हेर
तिनका नुनिला पसिना र डाढ बाङ्गिएका शरीर अनुभव गर
तिनका समस्या, दैनिकी र अनुभव बुझ !
यो देशमा–
ठेकेदारहरूको काम हेर
बिचौलियाहरूको गतिविधि अध्ययन गर
भ्रष्टाचारीहरूको जीवनशैली पढ
जब तिमी बुझ्दै जान्छौ यी सबै कुरा
एउटा असल र समुन्नत समाज निर्माणको
नयाँ अध्यायमा अगाडि बढ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।