दशैँ : कसैलाई पर्व, कसैलाई दशा ( ईश्वर साउँद ‘भिक्षु’)

दशैँ : कसैलाई पर्व, कसैलाई दशा ( ईश्वर साउँद ‘भिक्षु’)

कपन अनलाइन
काठमाडौं कार्तिक २।
परदेशीका लागि आँखा रसाउन,
फेरि दशैँ आएछ,
मन दुखाउने,
आफ्नै घर–आँगनीको
झल्को झल्काउने,
घुमीफिरी फेरि
दशैँ आएछ ।
घरका आँगनी रित्तै छन्,
बुढा बा–आमा टिलबिल छन्,
छोरा–छोरी परदेशमा,
सम्झनाका भारी बोकेर
झसङ्ग–झस्कन,
उसैगरी फेरि
दशैँ आएछ ।
न आफ्नोपन भेटिन्छ,
न त पुरानै कला–संस्कृति,
रमझम धेरै देखिन्छ,
तर मनभित्र सुनसान छ ।
बाँदरको हातमा नरिवलझैँ
देखावटी बनेको छ पर्व,
बुढा बा–आमाका ओठले
“आउन त दशैँ आयो” भन्छन्,
तर आँखाले भने
छोराछोरीको बाटो हेर्छन् ।
कसैका घरमा जमरा उम्रन्छ,
कसैका घरमा आशा मर्छ,
कसैको आँगनीमा खुसी नाच्छ,
कसैको चुलो मुस्किलले बल्छ ।
कसैका लागि नयाँ लुगा,
कसैका लागि पुरानै कपडा,
कसैको थालमा मासु–भात,
कसैको भागमा आँसु मात्र ।
दुई–चार पैसा हुनेहरूको दशैँ,
साँझ–बिहान खान नपुग्नेहरूको दशा,
साच्चिकै हुनेखानेहरूका लागि
सधैँ दशैँ आउँछ,
तर गरिबको झुपडीमा
दशैँ होइन—
दशा आउँछ ।
ऋण काढेर भए पनि
छोराछोरीको निधारमा टीका लगाउने,
आफ्नो दुःख लुकाएर
अरूलाई खुसी बनाउने
ती आमाका आँखामा
कति कथा होलान् ?
बा का चाउरी परेका हातमा
कति अधुरा सपना होलान् ?
परदेशी छोरा सम्झेर
ढोकातिर हेर्छन् बा,
छोरीको फोन पर्खेर
रात काट्छिन् आमा ।
मोबाइलको घण्टी बज्दा
एकछिन मुस्कुराउँछन्,
“आउँदै छु” भन्ने आशामा
फेरि आँखा पुछ्छन् ।
दशैँ,
तिमी साँच्चिकै दशैँ बन्नू,
धनीको मात्र उत्सव नबन्नू ।
गरिबको चुलोमा पनि
एक छाक खुसी बल्न देऊ,
रित्तिएका घर–आँगनीमा
आफ्नोपन फर्काइदेऊ ।
परदेशिएका सन्तानलाई
माटोको माया सम्झाइदेऊ,
बा–आमाको प्रतीक्षालाई
भेटको खुसी बनाइदेऊ ।
टीकाको रातो रङसँगै
मानवताको रङ पनि पोतियोस्—
त्यसपछि मात्र
दशैँ सबैको दशैँ होस् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।