सत्यको जित : रञ्जना पराजुली (लम्साल)
कपन अनलाइन
काठमाण्डौ ,असोज २।
‘दुलही, ए ठुली दुलही, हेर घाम झुल्किसक्दा पनि नउठेकी ।सानी दुलहीलाई क्याम्पस जान ढिलो भइ सक्यो । गाई दुइदे देखि त एक मुठी तातो दुध खाएर जान्थी नि ।’ साहिली बज्यै फतफताउदै गोठतिर लागिन बाल्टी बोकेर ।
साहिला बाजे कोठेबारी एक फन्कोलाई बारीमा फलेका एक मुठी जोगि तरकारी दुई चार वटा फर्सीका मुन्टा, बोडीका दुई चार त्यान्द्रा त्यस्तै गोडा दुएक भिण्डी पिढिमा राखेर मुढा तानी बसे थचक्क । साहिली बज्यै फतफताएको सुने पनि नसुने झैँ ।
‘ठुली दुलही, एक गिलास तातोपानी लेउ त !’ चकमन्न घर कुनै उत्तर आएन । ‘ठुली दुलहीलाई के भो आज ? सधैं चारै बजे उठेर धानधान– धुनधुन गर्ने किन उठिनन सन्चो पो भएन कि !’ डराइ डराइ घरभित्र पसे साहिला बाजे । ठुली दुलहीको कोठाको ढोका उघ्रीएको थिएन । अप्ठ्यारो बुहारीको कोठाको ढोका ढकढकाउन ससुरालाई त्यसमा पनि …। फर्किए साहिला बाजे फनक्क र मुढामा बसेर बोडी भाच्न थाले । फतफताउदै गोठमा गएकी साहिली बज्यै फतफताउदै दुधको बाल्टी लिएर आइन । ‘मै बुढी तरुनी छु मैलाइ देख्छन । मेरो हड्डी घोटेर खान पल्केकाहरु’ के – के हो के – के सुनी नसक्नु बिहान बिहान ।
साहिला बाजे बोडि भाच्दै बसिरहे । बोलु कसको पक्ष लिएर बुहारी या त आफ्नी बुढी ? बुढिको पक्ष लिए सोझी बुहारी उसलाई नराम्रो सोचे भगवानले पनि कहिले माफ गर्ने छैनन जो दिनभरी मेसिन झैँ चलिरहन्छे ।
बुहारिको पक्ष लिउ अरिगांलको गोलोमा ढुङ्गो हाने जस्तो बुढीलाई पुग्थ्यो काम दिनभरी फलाक्न । धर्म संकटका साहिला बाजे तैं चुप मै चुप हुनु शिवाय थिएन अरु केही आँखाले साँचो र झुठो देख्दा देख्दै पनि ।
‘आमा म गए है’ घ्यु रङ्गको पारी भएको कफि रङ्गको घरेलु धोतिमा चिटिक्क परेर सानी दुलही क्याम्पस जान निस्किन । ‘हेर बिचरी भोकै हिडि’ टिठाइन साहिली बज्यै दुलही गएको बाटो हेर्दै । हुन त सिंगारिन सानी दुलही पनि चारै बजे उठ्थिन। क्याम्पसको धोती स्याहार्न र मुख लिपपोत गर्न नउठे त उनैलाई ढिलो हुन्थ्यो । फर्कदा बा¥ह बज्थ्यो । राखिदिएको भात खाएर आफुले खाएको एउटा थाल माँझे पछि बिहानीको काम सिद्दिन्थ्यो । दिनभरी कोठा भित्र किताब पल्टाएर बसे पछि चियाउने हिम्मत कसको र ? साहिली बज्यै, ठुली दुलही झन् ससुराको त परै जावस । तीन बजे खाजाको समय भान्सामा आउँथिन सानी दुलही ।
समय मिलाएको हो कि, बिदेशमा भएका लोग्नेको बैठकमा भएको लेण्ड लाइन फोनमा त्यति नै बेला फोन आउँथ्योे । घण्टौ कुरा पालैपालो सानी दुलही अनि साहिली बज्यैको । साहिला बाजे पालो आउन्न थाहा थियो त्यही भएर निस्किदिन्थे बारितिर । चोखो मिठो के पाक्थ्यो भाग लगाइ कुर्थिन ठुली दुलही । अफसोच यो थियो कि अलिकति धेरै पकाए किन यत्रो जतन छैन आफुले सर्दाम जोर्नु परे पो थोरै पकाएर भाग नपुगे भण्डार भरी ल्याएर राख्देको छ त पुग्ने पकाउनु नि ! अपजसिया पुर्पुरो ठुली दुलहीको मेसिन झैँ चलिरहदा पनि । महिनामा चार दिन घर धन्दा साहिली बज्यै र सानी दुलहीको भागमा पर्थ्यो । ओहो महाभारतको लडाइँ त्यही घरमा हुन्थ्यो । चार दिन आराम त के दुई गाँस निल्न पनि आँशुको घुट्को पिउनु पर्थ्यो । माइती थिए टाढा तर, जानुको कुरा त परै जावस खुलेर फोनमा कुरा गर्न पनि गा¥हो थियो उनलाई । आउँथियो फोन कहिले काहीं तर यसरी ‘हेलो छोरी, सन्चै छौ ?’
‘सन्चै छु आमा’ बस, त्यति भन्न नपाउँदै फोन पुग्थ्यो साहिली बज्यैको हातमा र कुरा यसरी मोडिन्थ्यो ।
साहिली बज्यै हत्तपत्त, ‘सम्धिनीज्यु ढोग गरे ।’
उताबाट, ‘मैले पनि ढोग गरे सम्धिनीज्यु । सन्चै हुनुहुन्छ हजुर ।’
‘सन्चै छौ हामी सबै जना सन्चै छौ । हजुरले छोरीको केहि चिन्ता लिनु पर्दैन । चार जनाको जहान प्रलय काम के पो छ र ! खायो बस्यो एउटा दुहुनो गाई छ । दुध, दहि, महि टुट्या छैन । रमाइलो छ सानो परिवार सुखी परिवार फेरि पकाइ तुल्याइ चटक्क पार्ने ठुली दुलही नै हो क्यारे हाम्रो घरमा । उसको जस्तो मिठो पकाउन सानी दुलहीको कति ढंग छैन । कुरो गर्न कि सिपालु साहिली बज्यैले सानी दुलही तिर हेर्दै आँखा सन्काएर कुरो टुङ्ग्याइदिन्थिन ।
निर्दयी आइमाई । आइमाई भएर आइमाई माथि नै शोषण र घृणाको भावना । काम खाने मात्र त्यसमा पनि आफ्नै छोराकी दुलही त्यही घरकी बुहारी तर फरक कहाँ आकाश त कहाँ पताल । सानी दुलही उडेकी थिइन् आकाशमा त्यसै फुरुरु बिदेशबाट लोग्नेले पठाएको पैसाको बिटोले । बलेको आगो त ताप्छन नि सबैले त्यस्तै बलेको आगो थिइन सानी दुलही त्यस घरमा अझै सासुलाई न्यानो गराउने खजना सासुकि प्यारी । त्यसै फुरफुर किन टेर्थिन र अरुलाई । सिन्को नभाच्ने फिटिक्क न कसैलाई गन्ने ।
साहिला बाजेलाई मन पर्दैनथ्यो तर बुढिको रडाको सुन्न र देख्न नचाहने भएर चुप हुनु नै बेस ठानी दिएका थिए कुनै दिन सत्यको जित होला नि भन्दै । उहीँ घरकी बिचरी ठुली दुलही त्यही घरमा किचिएकी थिइन् । को थियो र ! सहानुभूति देखाउने बस जिउ सन्चो छउन्जेल काम की प्यारी मात्र काम की प्यारी ।
घाम माथी आइसके ठुली दुलहीको कोठाको ढोका उघ्रीएन । कहिलेकाही ढिलो हुँदा उठेर मलाई अलि सन्चो भएन भन्दै आउँथिन र काम सम्भाल्थिन । निकैबेर नआउँदा साहिला बाजेको मुटु चिसो भएको थियोे । डर थियो उनलाई अनर्थ त हुने होईन ।थुप्रै घटनाहरु सुनेका र देखेका साहिला बाजे घरी भित्र घरी बाहिर गरिरहे ठुली दुलहीको ढोका खुली हाल्छ कि भन्दै तर ढोका उघ्रीएन ।
दुध तताउँदै चिया बसाल्न तिर लागेकी साहिली बज्यै फतफताउन छोडेकी थिइनन । ‘मै बुढी तरुनी छु । मेरो हड्डी घोटेर खान पल्केकाहरु उठ्नु पर्छ नि ! अहिले खान त फेरि दुई थाल उसैलाई चाहिन्छ । यसबेला सम्म नउठ्ने कहिँ कि घोसेत्री ।’ कति नमिठो बोली न त कहिले उज्यालो अनुहार ठुली दुलहीको लागी । कसरी सहिन त्यो उनलाई थाहा थियो कि त भगवानलाई ।
चार दाजुकी एक्लि बहिनी लाडप्यारमा हुर्केकी ।
पढाइमा अब्बल, सबैकि हाइ– हाइ अनी राम्रीमा उस्तै राम्री तर खोटो भाग्य । सानैमा बाबा बित्नु नै दुर्भाग्य थियो उनको लागी । बाबा बितेपछी बेसुर भएकी आमा । चार दाजु– भाउजूको खर – खटन आमाको हातमा व्यबहार थिएन केही । आमासँग बिलौना गरेर पिडा माथि पिडा थप्न चाहन्न थिइन् न त आमासँग एक रात बस्न चाहिन कहिले । घर खान नसकेर आएकी भाउजुहरुले भन्लान् भन्ने ठुलो पिर बोकेकी चार भाइकी एक्लि चेलीले आफ्नो पिर ब्यथा आफै भित्र गुम्स्याएर सधैं हाँसिरहिन ।
बिहेको कुरो चल्दा पढ्दै थिइन् दशमा । साहिला बाजे र बज्यै अझै दुलहा हुनेको त झन् आँखैमा झल्किएकी थिइन् । बाबा नभएकी टुहुरी आमाको मन थिएन चाँडै छोरीलाई अन्माउन तर दाजुभाउजुको करले अन्मनु परेको थियो पढ्दापढ्दै ।
‘बिहे भए पछी पनि हामी पढ्न रोक्दैनौ नि ! सानो परिवार छ हाम्रो ।’ त्यो बेला चिप्लो घसेकी साहिली बज्यैले सबै कुरा बिर्सेर उनलाई पढाउने त के पढेर के हुन्छ उहीँ छोराछोरी पाउने र हुर्काउने त हो नि !किन पढ्नु पर्यो ? घर धन्दा सिक्ने हो बुहारीले भयो अब सासुको कडा शासन । बिचरी पढ्नेको कुरै भएन । त्यसपछि बिहे भएको छ महिना नपुग्दै श्रीमान गुमाउनु कत्रो बज्रपात भर्खरकि दुलही माथि । त्यसै दिन देखि सकिएका थिए श्रृङ्गारका सामान र सबै रहरहरु । दुई बर्ष पछी देवरको बिहे भयो ।
बिदेश बस्ने देवर धेरै पैसा कमाउने । कमाउने कि स्वास्नीको रवाफै बेग्लै । सासुले हेर्ने नजर त्यस्तै हरेक कुरामा कमाउनेकै स्वास्नीको नाम आउने । पैसाको मोह अचम्मको एउटै घरमा एउटै रगतको नाता व्यबहार फरक । बलेकै आगो त हो सबैले ताप्ने तर त्यो आगो दिनहुँ रापिलो हुँदै जादा साहिला बाजेलाई असहय हुन्थ्यो भित्र भित्र।
घाम माथी आइसकेको थियो । सधैं भन्दा चिया पिउने समय पनि बितिसकेको थियो । साहिला बाजेको मन भतभती पोले पनि हिम्मत थिएन बोल्ने । त्यतिकैमा फतफताउदै चिया लिएर आइन साहिली बज्यै । ‘होइन, त्यो लाज पचेकी अझै उठेकी छैन ?’ अब भने साहिला बाजेलाई सहि नसक्नु भयो । कि वार कि त पार जे होला सोही टर्ला मलाई त असहय भइ सक्यो भने बिचरी दुलहीलाई कस्तो भएको होला ।थाले भुट्न लागेको मकैको फुल उफ्रे जस्तो भुटुटुटु उफ्रन ।
‘कति खेदो गर्छेस हँ ? तँ त्यसको । सम्झी त पहिलाको कुरो, बिहे गरेर नल्याउन्जेल कुरो ल्याउनेको दिन रात पछी लाग्ने तैं होइनस ? बरु बेहुलो हुनेले त्यति बिध्न गरेन बिचरो…’ कुरो काट्दै खनिन थालिन बज्यै बाजे तिर ।
‘तँपाई किन बुहारीको मात्र पक्ष लिनु हुन्छ आजभोलि ? ससुरो भएर बुहारीलाई धेरै माया नगर्नु के भन्छ समाजले त्यसमा पनि ………।’
‘चुप साहिली, तँ आजभोलि हद भन्दा माथि जान थालेकी छस । घरकी बुहारीमा कति फरक छ तेरो व्यबहार । सानी दुलहीको लोग्ने छ अंगालो भरिको त्यसमा पनि कमाउने बिदेशी डलर । तँलाई त्यही पैसाले अन्धो बनाएको छ अनि सोच घटिया । ठुली दुलही जो सोझी सानैमा बुहारी भएर यस घरमा भित्रीएकि कसैकी छोरी त्यसमा पनि टुहुरी ।
अझै दुःख लाग्दो बिहे भएको छ महिना नपुग्दै सिउँदो पुछिएकी एउटि अभागिनी । जान्दाजान्दै किन खनिन्छेस तँ सधैँ उसै माथि ? सानी दुलहीलाई किन केहि भन्दिनस ? एउटि आइमाई भएर आइमाईको मर्म नबुझ्ने तँ कस्ति खालकी आइमाई होस । अन्नपानीको शरीर हो उसको पनि। बिहान उठे देखि राती ओछ्यानमा नजाउँन्जेलसम्म मेसिन झैँ चलिरहन्छे तर पनि जस कहिले दिन्नस तैँले । एउटा न एउटा खोट निकालेर टोकस्छेस । विचरीलाई सन्चो भएन होला बरु जा सोध के भयो भनेर उ माथि तेरो मनमा अलिकति पनि दया छ भने ।’
कहिले ठुलो स्वर नगर्ने बुढा मान्छेको चर्काचर्किले साहिली बज्यैको सातो गयो । बुढाले भनेका शब्दहरु सम्झिन थालिन । जति सम्झिन् त्यति भित्र भित्र छोएर मन पोल्न थाल्यो भतभती । आफुले आफैंलाई प्रश्न गरिन ।
‘यदि ठुली दुलहीको ठाउँमा मेरि छोरी भएको भए र यस्तो पिडा सहनु परेको भए……. ओहो कसरी सोच्नु । मेरो छोरी नभएर पो रहेछ छोरीको पिडा के हो बुझ्न नसकेकी । गलत मै रहेछु । जति गाली गरे पनि आमा भन्दै छेउमा आउँछे । केही छुन दिन्न जे पनि मै गर्छु भन्छे तर तर मैले उसलाई कहिले मिठो मुखले बोलाइन । छोरो नभए पनि छोराको एउटा अङ्ग यस घरकी सदस्य भनेर कहिले सोचिन ।’
भतभती मन मुटु पोलेकी साहिली बज्यै उठेर गइन ढोका ढकढकाउन ठुली दुलहीको ।
‘दुलही ढोका खोल, ढोका खोल दुलही’ निकैबेर ढकढकाए पछी ढोका उघ्रीयो । बिस्तारै ढोका खोलेर ठुली दुलही डङ्ग्रङ्ग पल्टिन बिस्तारामा । निधार छामिन बज्यैले । ‘राम – राम – राम कस्तो तातो आगो जस्तै’ आत्तिन साहिली बज्यै ।
निधारमा सासुले छामेको हातको स्पर्शले मन थामिएन ।डाको छोडेर रोइन जहाँ मायाको कमिले खुम्चिएको छाती एक्कासी ढक्क फुलेर बिस्फोट भए जस्तै ।आगोको भुङ्ग्रो जस्तो तातो शरीर रगत नभएको पहेँलो अनुहार अनि अनि श्रृङ्गार बिनाको उमेरदारी मानव आकृति जो कोहीले देख्दा पनि मन खाने कटक्क । आखिर नारीको मन न हो पग्लिन बेर कति नलाग्ने । साहिली बज्यै दुलहीलाई अंगालो हालेर रुन थालिन संग– संगै अनेकौं बिनसित्ती लगाएका लान्छना र घृणालाई आँशु संगै बगाएर हो आँशु सँगै बगाएर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक