देवकोटागृहको विनिर्माण : रमेश शुभेच्छु
कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।
सधैँ सधैँ तिहारका बिचमा लक्ष्मीपूजाका दिन चर्चामा आउने लक्ष्मीप्रसाद देवकोटा यो साता उनकै परिश्रमले बनाएको घर विक्री र नयाँ घर निर्माणको विषयमा चर्चामा रहे । चर्चाको विषय थियो उनको घर भत्काइएको र त्यहाँ नयाँ घर बनाउन लागिएको । देवकोटाका सुपुत्र साहित्यकार प्राध्यापक पद्म देवकोटाले फेसबुकमा लेखे : आफू जन्मे हुर्केको घर भत्केको देख्दा मनमा अनेकौँ तरङ्ग उत्पन्न हुँदा रहेछन् । दुख्दो पनि रहेछ । कोठा कोठाको याद बैरिएर आएका छन् यसपालि !
यो विषयमा धेरै सहानुभूतिका कमेन्ट आए । एक जना प्राज्ञले उनलाई पैसामा किनेर भत्काएको भन्ने जवाफ दिएछन् । त्यस विषयलाई लिएर वादविवाद भएको पनि देखियो । हो पनि पद्म देवकोटा स्वयम्ले आफ्ना बाबुका नाममा त्यतिको घर फेरि बनाउन नसक्ने होइनन् । त्यो घर प्रतिष्ठानलाई दिनु उनको बौद्धिक प्राज्ञिक चेतना पनि हो । काठमाडौँको मुटुमा रहेको झन्डै १२ आना जग्गामा जस्तो भवन बनाउन पनि सकिन्छ।
त्यसै जग्गाले घर बनाउने लोन ल्याउँछ तर यहाँ सांस्कृतिक मूल्य र देवकोटाको विराट प्रतिभा संरक्षणको विषय ठुलो हो ।
केही लेखकले प्राज्ञहरुलाई जागिरे प्राज्ञहरूको संज्ञा दिँदै भ्रष्ट, मूर्खतापूर्ण र बहुलट्ठी निर्णय हो भन्न पनि भ्याए । प्राज्ञहरुको यस्तो दरिद्र सोचको निन्दा गर्छु पनि भन्न भ्याए । यो अर्को अतिवाद हो । यस्ता सबै अतिवादको प्रतिवादमा प्रतिष्ठान र त्यसका प्राज्ञहरु उत्रनु हुँदैन ।
अनेक विवादित स्टाटस, समाचार र लेखहरु आए ।
तिनको खण्डनमा प्रतिष्ठानले विज्ञप्ति नै निकाल्नु पर्यो । यस बिचमा इतिहासविद्हरु र संस्कृतिविद्हरु उति बोलेनन् । सम्भवतः उनीहरुले कुरा प्रष्ट बुझे । विरोधमा र समर्थनमा पनि अलि अलि बुझेकाहरु बढी बोले । प्रज्ञा–प्रतिष्ठानको विज्ञप्ति आएपछि हिजो गाली गर्दै स्टाटस सेयर गर्नेहरु डिलिट गर्न पनि थाले । कसैले पुनः स्पष्टिकरण पनि दिए । यथार्थ बिचमै रह्यो ।
नेपाली समाज सांस्कृतिक मूल्यहरुलाई संरक्षण गर्न सकिरहेको समाज होइन । यहाँ धार्मिक संस्कृति केही मात्रामा संरक्षित रहे पनि बौद्धिक संस्कृति, सभ्यता र प्रतिभाको संरक्षण हुन नसकेको कुरा यथार्थ हो ।
सांस्कृतिक मूलय संरक्षण गर्ने संस्थाहरुबाट पनि कमजोरी भएकै हो । यद्यपि यस पटक देवकोटाको घर विवाद बाहिर देखिए जस्तो होइन । यसको खरिद र विनिर्माण प्रक्रियागत रुपमा भएको छ । यो नयाँ घरहरा बनाउनु जस्तै हो ।
अव पुरानो ढलिनै सक्यो । हुँदा पनि त्यो धराप भइसकेको थियो । हामी देवकोटा परिवारका सज्जन सन्ततिहरुलाई धन्यवाद दिऊँ कम्तिमा उनीहरुले त्यसलाई भत्काएर व्यापारिक महल बनाएनन् । उनीहरुले राष्ट्रिय विभूतिवत पुर्खाको नासो राष्ट्रलाई नै सुम्पे ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर देवकोटाकै नाममा सङ्ग्रहालय बनाउने प्रयोजनका लागि भत्काइयो । जुन घरमा लक्ष्मीप्रसाद देवकोटा बसे, जहाँ सास फेरे, सिर्जना र परिवर्तनका सपना देखे, दुखसुख भोगे, रमाइला र शोकका घडी विताए, जुन घरको ईटा–ईटामा उनको स्पर्श छ । उनको भावना, कला, साधना घोलिएको छ ।
एक विराट प्रतिभाको जीवनशैली जोडिएको छ । त्यो घर भत्कँदा सर्जक मन रुनु स्वाभाविकै हो । भनिन्छ आँसुमा एक प्रतिशत पानी र ९९ प्रतिशत भावना हुन्छ । यो भावना सबै कलम चलाउनेका मनमा आएको छ । यथार्थ हो, अब त्यो ठाउँमा बन्ने घर देवकोटाको नाममा मात्र हुनेछ, देवकोटाकै घर हुने छैन । देवकोटाको घर जसतै हुनेछ देवकोटाकै घर हुने छैन ।
यो विषयलाई विज्ञहरुबिच छलफल चलाइएकै हो । जति गरे पनि , जसो गरे पनि यो घरलाई नयाँ बनाउन आवश्यक थियो । सीमित जग्गाका बिच यसलाई तराबार वा अन्य संरक्षण गरेर अर्को अहिलेको योजनाअनुसारको बनाउन सकिन्थ्यो तर जग्गा अपुग थियो । यो परियोजना प्रज्ञाप्रतिष्ठानको परियोजना हुँदा बजेटको सीमा पनि थियो । अन्ततः भत्काएर पुन निर्माण गर्र्नेनुपर्ने अवस्था आइलाग्यो । यत्ति हो, त्यसै घरका काठ इट प्रयोग गरेर त्यस्तै बनाउन सकिँदैन ? त्यही प्रबिधिको प्रयोग गरेर बनाउन सकिँदैन ? त्यही समयको झल्को दिने गरी बनाएर संरक्षण गर्न सकिँदैन ? आदि ।
विश्व सन्दर्भमा रुसी र बेलायतीहरु सांस्कृतिक सम्पदा संरक्षणमा अगाडि छन् । बेलायतको स्टाटफोर्डमा बिलियम शेक्स्पियरको ४००–५०० बर्ष पुरानो घरलाई जस्ताको तस्तै संरक्षण गरिएको छ । जोन किड्सको दुई सय वर्ष पुरानो घरलाई जस्ताको तस्तै राखिएको छ र दुनियाँलाई घुमाइएको छ । यद्यपि त्यस घरमा उनी जीवनको उत्तराद्र्धमा जम्मा दुई वर्ष बसेका थिए । भारतमा रवीन्द्रनाथको घरलाई जोगाइएको छ । भारत र बङ्लादेशलाई राजनीतिले विभाजन गर्यो ।
भावनामा ती दुई मुलुकमा पुगेका मानिसलाई भिन्न बनाउन त्यो राजनीतिक विभाजन सफल भएन । राजनीतिक विभाजनमा भारत र बङ्ला देशका नागरिक दुई देशका भए पनि, उनीहरुका देशका कानुन फरक भए पनि, नागरिकता फरक भए पनि उनीहरुले एकै कवि रवीन्द्रनाथ ठाकुरका गीतलार्य राष्ट्रगान बनाएर गाइरहेका छन् ।
सांस्कृतिक बौद्धिक सम्पदा चिन्ने मुलुकहरु लेखकका जन्मघर मात्र होइन कर्मघर, डेरा, मृत्युस्थल, समाधिस्थल सबैलाई तीर्थस्थल मानिरहेका छन् । शरणार्थी भएर बेलायत पसेका सिग्मन्ड फ्रायर्ड बसेको ठाउँ पनि उनीहरु तीर्थस्थल बनाइरहेका छन् ।
क्युवामा अर्नेस्ट हेमिङवेको, बङ्लादेशमा जगदीशचन्द्र बसको, उल्थफोर्थमा न्युटनको घरलाई उसै रुपमा संरक्षण गरिएको छ । चिनमा यस्ता अनेक उदाहरण छन् । भियतनाममा होचिमिन्हको घर सुरक्षित छ । उनीहरुले ती घरहरुलाई संरक्षण गरी पर्यटन प्रवद्र्धन पनि गरेका छन् सांस्कृतिक संरक्षण पनि गरेका छन् । उनीहरुले अनेक प्रविधिको प्रयोग गरेर पुरानो स्वरुपलाई जोगाएर राखेका छन् । उनीहरुले नयाँ बनाउनुभन्दा पुरानो संरक्षणलाई महत्त्व दिएका छन् । त्यो नयाँ बनाउन नजानेर वा नसकेर पटक्कै होइन ।
सांस्कृतिक सम्पदाको संरक्षणमा जापान झन् अगाडि छ । हिरोसिममा बम खस्दा बचेको एक्लो घरलाई आजसम्म जस्ताको त्यसतै संरक्षण गरिएको छ । त्यस घरको संरक्षणले जापानलाई हेर्न भन्दा त्यस घरलाई हेर्न विश्वका मानिस त्यहाँ पुगिरहेका छन् । त्यसले जापानको अतीत जीवन्त बनाएर उभिएको छ । त्यो घर होचो छ तर त्यसको परिचय जापानमा बनेका आधुनिक कुनै टावरले छेक्न सकेका छैनन् ।
हामी सांस्कृतिक सम्पदा संरक्षणमा कमजोर छौँ । हामीले देवकोटाकै भषामा नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष भाननुभक्तको घर जोगाउन सकेनौँ । लेखनाथको घर बचाउन र उनका नाममा एउटा नगरपालिकाको नाम राख्न पनि आँट गरेनौँ ।
नगरको नाम राखेको पनि खोस्नमा गर्व गर्यौँ । देवकोटाका नाममा कुनै नगर, महानगरको नाम राख्न सकेनौँ । नेपालमा विश्वविद्यालय स्थापना गरिदिने, उस समयका प्राध्यापक, शिक्षामन्त्री र विशिष्ट लेखक, महाकवि भएर राष्ट सेवा गर्ने विशिष्ट प्रतिभा हुँदाहुँदै पनि देवकोटाका नाममा कुनै विश्वविद्यालयको नामकरण गर्न सकेनौँ ।
हामीले बरु अमूर्त पात्रहरु राष्ट्रिय विभूति बनायौँ, पौराणिक पात्र र धर्मगुरुहरु विभूति बनायौँ तर देशलाई विश्वमा चिनाउने देवकोटालाई राष्ट्रिय विभूतिका रुपमा आदर पनि गर्न सकेनौँ । यस्तो खडेरीका बिच बल्ल राज्यले देवकोटालाई सम्झने एउटा काम हुँदैछ । यसबेला विरोधको स्वर चर्को सुनिनु झन् दुखद पक्ष हो । हाम्रो सांस्कृतिक चेतना कमजोर भएको अवस्थाको प्रतिध्वनि हो ।
देवकोटा सङ्ग्रहालय निर्माण कार्यको विरोध भन्दा पनि समर्थन, साथ र सहयोग गर्नु सान्दर्भिक हुन्छ । नेपाल सरकारको संस्कृति मन्त्रालयका तर्फबाट केही वर्षअगाडि स्थापना भएका देवकोटाका नामका चारवटा पुरस्कारले देवकोटाको केही सम्मान भएको थियो । अहिले देवकोटाका नामको सङ्ग्रहालय स्थापना प्रयास अर्को सम्मान हो । यो सम्मान प्रयासलाई विवादमा नल्याऊँ । विरोधका लागि विरोध र समर्थनका लागि समर्थन नगरौँ ।
सबै पुराना कुराहरु जस्ताको तस्तै राख्न सकिँदैन । बुद्धले ज्ञान प्राप्त गरेको रुख पनि बुढो भएर मरेपछि अर्को रुख रोपिएको इतिहास छ । त्यही रुख नभए पनि भक्तलाई त्यस्तै अर्को रुख चाहियो । मन्दिरहरु नभत्कने होइनन्, दरबारहरु नभत्किने होइनन् सकेसम्म त्यस्तै रुपमा बनाइहालिन्छ । हाम्रामा भानुभक्तको पुरानो घर भत्किएको अवस्थामा यियो ।
त्यो घर मर्मत गरेर भानुभक्त चलचित्र बनाइएको र त्यो पनि डढेलामा परेर सखाप भएको इतिहास छ । त्यो घर फेरि बन्न सकेको छैन । भुकम्पपछि राष्ट्रिय पुस्तकालय बोरामा कोचिएर बसेको छ । पुराना पुस्तकालयहरुमा पानि चुहिएको र पुस्तक संरक्षण नभएको समाचार अउँछ । राज्य बाटो, पुल र धरहरा मात्र विकास देखिरहेको छ । हिजोदेखि आजसम्म नेपालका शासकहरुलाई त्यो बौद्धिक सम्पदा चाहिएकै देखिँदैन ।
यहाँ त देवकोटाको घर जग्गा संरक्षणको काम हुँदैछ । हो लक्ष्मीप्रसाद देवकोटाको पुरानो घरलाई रेट्रोफिटिङ गरेर पनि जोगाउनु पथ्र्याे । जापनिज र अन्य प्रविधिबाट त्यस घरको रक्षा गरेर बरु अर्को छुट्टै घर बनाउनु पथ्र्यो तर अब त्यो ढिला भइसकेको छ । नेपाली संस्कृति संरक्षण परम्परामा विशिष्ट प्रतिभाको घर संरक्षणको प्रयास भएको छ । यो उपलब्धी मान्नुपर्छ । केन्द्रदेखि प्रदेश सरकारका भवनहरु भाडामा चलिरहेको मुलुकमा एक जना दिवङ्गत स्रष्टाको घर संरक्षित हुनु आफैमा खुसीको कुरा हो । आज विरोध भए पनि यसको योजना र कार्यान्वयनमा लाग्नेहरुको प्रशंसा हुने नै छ ।
देवकोटाको घरका विषयमा केही बोल्नु प्रज्ञाप्रतिष्ठानको विरोध होइन । यो भावनाको कुरा हो । यद्यपि हामी धेरै भावनामा बहकिनुको पनि अर्थ छैन । यो घर लक्ष्मीप्रसाद देवकोटाको जन्मघर होइन । देवकोटाले बनाएको र सिर्जना साधाना गरेको घर चाहिँ हो । यो बुद्धको तपस्या गरेको रुख जस्तै, साधु सन्तले तपस्या गरेको कुटी जस्तै देवकोटासँग भावनात्मक सम्बन्ध रहेको घर चाहिँ अवश्य हो । नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारबाट मोहियानी हक हस्तान्तरण भई आफ्ना नाममा हकभोगमा आएको बताएको छ । यो पक्रिया लामो प्रयासपछि पुरा भएको हो । यस घरको नाम देवकोटा स्वयम्ले ‘कविकुञ्ज’ राखेका थिए ।
प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ नाम भन्न्दा कवि कुञ्जनै राख्नु उपयुक्त हुन्छ कि ? वहस अब यता गरौँ । यो ठाउँ ।काठमाडौँ महानगरपालिका वडा नं. ३०, मैतीदेवीस्थित रहेको छ । यसलाई महानगरले पनि पुनर्विचार गर्न सक्छ कि ? अझ व्यवस्थित बनाउन सघाउँछ कि ? चिन्ता यता गरौँ । यस घरले चर्चेको १२ आना १ दाम जग्गामा नगरपालिकाले थप सहयोग गरेर अरु भव्य र फराकिलो बनाउन पो सक्छ कि ? पहुँच हुनेले पहल यता गरौँ । यस घरका निर्माण सामग्रीहरु पनि संरक्षण गर्न पो सकिन्छ कि ? बरु यी विषयमा अझै mै सोच्न सकिन्छ ।
हामीसँग अर्को झन् ठुलो विकल्प छ । देवकोटाका नाममा यो कविकुञ्जका साथै उनी जन्मिएकै घर वा त्यसको माटोमा पनि काम गर्न सकिन्छ । देवकोटाको जन्मभरका रुपमा सिर्जनात्मक संग्रहालय र यस घरलाई कर्मघरका रुपमा अनुसन्धानात्मक संग्रहालय बनाउन सकिन्छ । शरु अब जन्मघरसँग जोडिएको अर्को काम गर्ने प्रयास गरौँ ।
देवकोटा जस्तो व्यक्तित्वको घर जग्गाका लागि दुई करोड २० लाख ठुलो कुरा होइन । पैसाको मात्र हिसाब गर्ने हो भने कसै धनी व्यक्तिले पनि यसलाई किनिदिन सक्थ्यो र यस्तो संग्रहालय बनाउन र हामीमाथि व्यापार गर्न सक्थ्यो । किट्स डेरा बसेको घर त्यहाँका धनाढ्यहरुमा बढाबढ मूल्यमा किन्ने प्रतिष्पर्धा भएको थियो र सबैभन्दा बढी पैसा दिन सक्ने धनाढ्यले लिएर संग्रहालयमा परिणत गरी त्यसैलाई आधार मानेर व्यापारिक केन्द्र बनाएको थियो । यहाँ त्यसो पनि हुन सक्थ्यो ।
देवकोटा परिवारका पद्यम देवकोटादेखि नाति पनाति पुस्तासम्मका बौद्धिक सदस्यहरुले मिलेर अब बन्न लागेको जस्तो भवन आफै पनि बनाउन सक्थे । यस दृष्टिले उनीहरुलाई पैसा लिएको आरोप लाउनु पनि गलत हो । उनीहरुले पनि राज्यले देवकोटाका नाममा केही गरोस् भन्ने चाहेका हुन् र नै एकेडेमीलाई दिएका हुन् भन्ने लाग्छ । एकेडेमी स्वयम् देवकोटाको चेतना र परिकल्पनाको बौद्धिक मन्दिर हो, सांस्कृतिक मन्दिर हो र नेपाली चेतनाको आदि संस्था हो ।
पहिलो धन्यवाद देवकोटा परिवारलाई जसले देवकोटाको घरजग्गालाई व्यापारिक केन्द्र हुनबाट बचायो । दोस्रो धन्यवाद नेपाल प्रज्ञाप्रतिष्ठानलाई, जसले संस्थापक प्रतिभाको जीवनी व्यक्तित्व र कृतित्वलाई अमर बनाउने प्रयास गर्यो । थप धन्यवाद यो कामका विरोधी र समर्थकलाई, सबैमा देवकोटाको घर सुरक्षित रहोस् भन्ने भावना रहेछ । यो भावनाले नेपाली समाजको बौद्धिक चेतना विकास गरिराखेको छ । अब अंरु प्रतिभाका विषयमा पनि यस्तो प्रयास होस् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक