काठमाण्डू नहाँस्ने ? त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

किन किन मन सानो गर्छ यो काठमाडौँ ?
दिन दिन किन एक्लै पर्छ यो काठमाडौँ ?
नियमसँग हिँडेमा लाज पो मान्न थाल्यो
फगत असजिलोमा नाचुँला भन्न थाल्यो ।१।

तिस दिन महिनामा हिँड्छ आन्दोलनैमा
बहुत खबरदारी गर्छ लागे मनैमा
सुनसरह उसैको भाउ त्यो पित्तलैको
अनुनय न कसैको चल्छ दावा उसैको ।२।

खलबल जब सानो हुन्छ त्यो गर्छ डाँको
छलफल किन गर्थ्यो झिक्छ ठुलै रडाको
बस बस किन बोल्छौ भन्छ हालेर फाँको
गफ थरिथरि गर्दै बस्छ मार्दैन माखो ।३।

सकभर दिन रातै बस्छ कुर्सी समाती
चमक धमक गर्दै छर्छ फूर्ती नजाती
वरपर कति होलान् भोकभोकै सुतेका
महलतिर अनेकौँ छन् तमासा उसैका ।४।

जब जब पद भेट्यो भन्छ संसार पाएँ
उदर कति ठुलो हो छैन कैल्यै अघाएँ
जति जति अघि आउन् प्रश्न झन् दिन्छ ध्वाँस
जति हिँड न सफा भै टम्म जालो त्यहाँ छ ।५।

रन वन जन देख्दा मान्छ त्यो नित्य त्रास
झलमल म हुँ भन्दै गर्छ त्यो अट्टहाँस
म भनुँ कुटिल बाटो छोडिदे काठमाडौँ
अरसिकसित नाता तोडिदे काठमाडौँ ।६।

अरब खरब गन्छस् नोटले खै पुगेन ?
पटक पटक माग्दा भोटले खै पुगेन ?
सहज सरस घाँटी छैन ल्याए नि ! पानी
सुख कुन चिज होला भन्दियोस् राजधानी ।७।

पर पर पनि हैनन् दाङ झापा इलाम
दिन दिन छ मिलेकै दार्चुलाको सलाम
सकल जग चिनाई लुम्बिनी प्रेम गाँस्ने
तर पनि किन होला काठमाण्डू नहाँस्ने ? ।८।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।