स्वस्थ्य सुरक्षा मापदण्ड अपनाउदै गोकर्णेश्वरको कान्ति भैरब जात्रा शुरु
कपन अनलाइन
काठमाडौं, बैशाख २९ ।राजा मानदेवले पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा बैशाख २७ गते सोमबार मध्यरातदेखि गोकर्णेश्वरनगरपालिका वडा नं४ क्षेत्रमा शुरु भएको छ। वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा शुरु हुने परम्परा छ ।चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्छ तर कोरोना महामारीको कारण यस वर्ष पनि अघिल्लो वर्ष झैँ बिधि तथा नित्य पुजा मात्र गरिएको छ।
विश्वभरी फैलिंदै गइरहेको कोभिड १९ भेरियण्ट को संक्रमणतिब्र गतिमा फैलिदै गएको र जात्रा संचालन गर्दा भिडभाड बढ्ने र कोरोनाको जोखिम बढ्ने भएकोले सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ अनिवार्य मास्क प्रयोग गरि नित्य र बिधि पूजा बाहेक अन्य पुजापाठ जात्रा संचालन नगरिएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी गराए।
अघिल्लो वर्ष समेत रथ जात्र रोकिएको र यस वर्ष पनि रथ जात्रा नगरेमा आगामी बर्ष रथ जात्रा गर्न नहुने धार्मिक मान्यता अनुसार यस वर्ष एकदम न्यून मानिसहरूको उपस्थितिमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सामाजिक दुरी कायम गरि रथलाई कान्ति भैरब मन्दिर पुर्याएको थियो । श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई आकर्षकरूपमा सिङ्गारिएको तीन तले खटमा विराजमान गराइ उत्तर बाहिनीमा रहेको आफ्नो आमा कान्ति भैरवीको मुख हेर्न जाने धार्मिक मान्यता अनुसार सो जात्रा मनाउने गरिन्छ।
भातको देउता बनाएर फलफुल मिठाइ सहित बिभिन्न परिकारको साथमा भैरबको रथमा राखेर देशे गाउँको डुठुलाक्षीबाट बाजागाजा सहित उत्तर बाहिनीमा रहेको कान्ति भैरवको मन्दिरमा बिहानै सिमित ब्यक्तिको उपस्थितिमा पुर्याईएको थियो । तीनवटा रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइने गरिन्छ ।औँसीका दिन साँझ डबलीको दायाँबायाँ श्रीगणेश र श्रीकुमारी एवं बीचमा श्रीभैरवको रथ बिसाएपछि आमाको मुख हेर्ने दिनको जात्रा समाप्त हुन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन केपूजा गरेपछि मात्रै रथ उठाइन्छ । गोकर्णेश्वर–४ बाट प्रतिपदाका दिन मध्यान्ह सिङ्गो बाँसको पाँचवटा आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित श्रीभैरवको तान्त्रिक पूजा गरी बलि चढाइन्छ ।
ध्वजा भएको बाँसको टुप्पाले रथको गजुरमा जुधाएर रथ उठाइ डठुलाछीमा लगिन्छ । यस दिन गोकर्णेश्वरका ऐतिहासिक १० गाउँका मानिस पूजा सामग्रीसहित आएर पूजा गर्दछन् । यसरी पूजा गरेपछि स्थानीयवासीले आफन्त र नाता कुटुम्बलाई घरमा बोलाई भोज खुवाउने प्रचलन छ । तर कोरोनाको कारण भोज भतेर नगर्न नगरपालिकाले अनुरोध गरेको छ ।वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराएपछि ऐतिहासिक पाँचदिने जात्रा सम्पन्न हुन्छ । जात्रा सञ्चालनका लागि राजा मानदेवको पालादेखि नै प्रसस्त गुठीको व्यवस्था गरिएकामा हाल गुठी मासिएपछि पशुपतिनाथ अमालकोट र नगरपालिकाले जात्राको खर्च व्यहोर्ने गरेका छन्