नेपाल–चीन व्यापार सहजीकरण बैठक राजधानीमा जारी, द्विपक्षीय व्यापार विस्तारमा केन्द्रित

काठमाडौँ, ४ भदौ । नेपाल–चीन व्यापार सहजीकरण समितिको छैटौँ बैठक राजधानीमा प्रारम्भ भएको छ ।

द्विपक्षीय व्यापार विस्तारमा केन्द्रित उक्त बैठक थप नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म पहुँच उपलब्ध गराउने तथा सम्भावित मालसामानको पहिचान गर्नमा पनि केन्द्रित रहेको छ ।

बैठकमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले गर्नुभएको छ भने १० सदस्यीय चिनियाँ पक्षको प्रतिनिधित्व चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमहासचिव काइदान नाजेले गर्नुभएको छ ।

दुईदिने उक्त बैठकमा समितिको पाँचौँ बैठकका निर्णय र तिनको कार्यान्वयनको अवस्था, पारस्परिक व्यापारका लागि बैंकमार्फत कारोबार सञ्चालन, दुवै देशको कार्यालय समय÷कार्यतालिकामा एकरुपता कायम गर्ने र नेपाल–चीन व्यापार प्रवद्र्धनमा मद्दत पु¥याउन नेपाली र चिनियाँ भाषामा वाणिज्य र व्यापारसम्बन्धी ‘पोर्टल’ बनाउने प्रयासका बारेमा छलफल भइरहेको छ ।

राससलाई प्राप्त बैठकको कार्यसूचीअनुसार खोरेत रोग नियन्त्रणसम्बन्धी परीक्षण केन्द्र स्थापनामा नेपाललाई सघाउने, तातोपानी–झामु र रसुवागढी–जिलोङ व्यापार नाका पुनः सञ्चालन, लार्चा सुक्खा बन्दरगाहको द्रुत गतिमा निर्माण, रसुवागढीको टिमुरेमा जाँच चौकी निर्माणबारे पनि छलफल हुनेछ ।

त्यसैगरी, बैठकमा नेपाल र चीनले पारस्परिक व्यापार प्रवद्र्धन गर्न थप व्यापार नाका सञ्चालन गर्नेबारे विचारविमर्श गर्नुका साथै दुवै देशका वाणिज्य मन्त्रालयबीच अन्तरसरकारी समिति गठन गर्ने सम्बन्धमा पनि विचार आदानप्रदान हुनेछ ।

नेपाली व्यापारीलाई सरल रुपमा चीनको स्वशासित क्षेत्र तिब्बतमा व्यापार गर्न सरल रुपमा प्रवेशाज्ञा (भिसा)को व्यवस्था र द्विपक्षीय व्यापार बढाउन समय समयमा दुवै देशमा व्यापार मेलाको आयोजना गर्ने सम्बन्धमा द्विपक्षीय छलफल हुनेछ ।

दुईदिने छलफलपछि दुवै मुलुकका अधिकारीहरुले समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

बैठकमा वाणिज्य तथा आपूर्ति, अर्थ, परराष्ट्र, कानुन, कृषि मन्त्रालयका साथै गुणस्तर तथा नापतौल, नेपाल राष्ट्र बैंक र सडक विभागका उच्च अधिकारी सहभागी हुनुहुन्छ ।

त्यसैगरी तिब्बतको वाणिज्य विभाग, ल्हासा भन्सार, क्वारेन्टिन, बाह्य व्यापार मामिला विभाग, सार्वजनिक सुरक्षा तथा सीमा प्रतिरक्षा, उद्यम तथा वित्त विभागका वरिष्ठ अधिकारीको सहभागिता छ ।

नेपालसँगको व्यापार असन्तुलन कम गर्न चिनियाँ पक्षले विगत केही दिनयता विविध प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

भूकम्प र पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग र स्याफ्रुबेँसी–रसुवागढी सडक पुनः सञ्चालनका लागि नेपाली सुरक्षाकर्मीसँग सहकार्य गरी चिनियाँ सशस्त्र प्रहरी परिचालन गरेर बाटो खुलाउन चीन लागिपरेको छ ।

साथै, चीनले नेपाली उद्यमी व्यवसायीका समस्या बुझ्न र तिनलाई समाधान गर्न निजी क्षेत्रका प्रतिष्ठित उद्योगीलाई नेपाल पठाएको छ ।

हाल राजधानीमा रहेको ५० सदस्यीय तिब्बतेली व्यापारिक प्रतिनिधिमण्डलले नेपाल–चीन उद्योग वाणिज्य सङ्घ, निर्यात प्रवद्र्धन केन्द्र र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुलाई भेटेर छलफल गरिरहेको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव यसै वर्ष परेको छ । रासस

तपाइँको प्रतिक्रिया ।