पुनःनिर्माणमा सबै क्षेत्रको सहयोग आवश्यक

काठमाडौँ, ४ भदौ । भूकम्पपछिको पुनःनिर्माण चुनौतीपूर्ण भएकाले यसलाई सही तवरले अगाडि बढाउन सबै क्षेत्रबाट सहयोग आवश्यक हुने बताइएको छ ।

भूकम्पपछिको पुनःनिर्माणलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने विषयमा नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आज यहाँ आयोजना गरेको राष्ट्रिय बहसमा अर्थमन्त्री डा रामशरण महतले पुनःनिर्माणमा सरकारले मात्र नसक्ने भएकाले निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालगायत सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।

अर्थमन्त्री डा महतले स्रोत परिचालनको विधिमा सुधार गरिएको र बजेटको अख्तियारी सबै मन्त्रालयलाई दिइसकेकाले चालु आवदेखि पुँजीगत खर्चमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले मानव संसाधन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबीचको समन्वय र पुरातात्विक क्षेत्रको पुनःनिर्माणका लागि आवश्यक पर्ने आवश्यक सामग्री जुटाउने चुनौती प्राधिकरणमा रहेको बताउनुभयो । सामाजिक एवम् सांस्कृतिक पाटोलाई पनि ध्यान दिएर पुनःनिर्माणमा जानुपर्नेमा उहाँको जोड थियो ।

व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिका सभापति गगनकुमार थापाले स्थानीय निर्वाचन नगरी पुनःनिर्माणलाई स्थानीय जनतासम्म पु¥याउन नसकिने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले पुनःनिर्माणलाई अगाडि बढाउँदा राजनीतिक पूर्वाग्रह राख्न नहुने बताउँदै आर्थिक समृद्धि र न्यायपूर्ण समाजलाई केन्द्रमा राखेर पुनःनिर्माण कार्यलाई अगाडि बढाउनुपर्छ भन्नुभयो ।

पूर्वअर्थमन्त्री एवम् एकीकृत नेकपा(माओवादी)का नेता वर्षमान पुनले नेतृत्व र राजनीतिप्रतिको विश्वास नहुँदासम्म पुनःनिर्माणलाई अगाडि बढाउन नसकिने भएकाले सर्वपक्षीय प्रतिनिधित्व हुने गरी प्राधिकरणको पुनःसंरचना गर्नुपर्ने धारणा राख्नुभयो ।

अर्थसचिव सुमनप्रसाद शर्माले पुनःनिर्माणका लागि साधन र स्रोतको कमी हुन नदिइने र कार्यक्षमताका आधारमा कार्यान्वयन गर्ने निकायको मूल्याङ्कन हुने बताउनुभयो ।

एसियाली विकास बैंकका देशीय निर्देशक किनिची योकोयामाले पुनःनिर्माणलाई अगाडि बढाउन सरकार, निजी एवम् सामाजिक क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा, नेपाल बैंकर्स सङ्घका अध्यक्ष उपेन्द्र पौडेल र राष्ट्रिय निर्माण व्यवसायी महासङ्घका सहमासचिव रामशरण देउजाले पुनःनिर्माणमा सरकारलाई सघाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकारले आफूहरुलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।