संविधानमाथिको सुझाव सङ्कलन कार्य सुरु

बनेपा, २८ असार । संविधानको प्रारम्भिक मस्यौदा–२०७२ माथिको सुझाव सङ्कलन कार्य काभ्रेपलाञ्चोकमा आजदेखि सुरु भएको छ ।

त्यसका लागि धुलिखेलमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासद्सहितको सर्वपक्षीय बैठकले संविधानको मस्यौदामाथिको छलफललाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरेको छ ।

काभ्रेपलाञ्चोक क्षेत्र नं ४ का सभासद् विदुर सापकोटाले अहिलेको संविधान परिवर्तनकारी शक्तिको संविधान भएको उल्लेख गर्दै समाजमा व्याप्त सबैखालको द्वन्द्वको व्यवस्थापनका लागि नयाँ संविधान निर्माण हुन लागेको बताउनुभयो ।

क्षेत्र नं ३ का सभासद् कञ्चनचन्द्र वादेले अहिलेको संविधान शक्ति सन्तुलनको संविधान भएको धारणा व्यक्त गर्दै यो संविधान पहिचानमा आधारित छ भन्नुभयो ।

क्षेत्र नं २ का सभासद् रामहरि सुवेदीले संविधानको मस्यौदालाई ग्रामीण क्षेत्रमा पु¥याएर जनताको राय लिनुपर्ने सुझाव दिनुभयो ।

क्षेत्र नं १ का सभासद् तीर्थ लामाले यो संविधान जात विशेष, लिङ्ग विशेष, वर्ण विशेष वा पार्टी विशेषको होइन भन्दै सुझाव सङ्कलनबाट परिष्कृत गरेर नयाँ संविधान जारी हुने बताउनुभयो ।

सभासद् केशव बडालले संविधानले विभेदको अन्त्य गरेको उल्लेख गर्दै सङ्घीयतामा आशङ्का नगर्न आग्रह गर्नुभयो ।

सभासद् कमला दोङले सङ्घीयताको सीमाङ्कन र नामाङ्कनका विषय संविधानसभाबाट नै टुङ्ग्याउनुपर्ने कुरामा जोड दिँदै आयोगबाट टुङ्ग्याए संविधानसभाको क्षेत्राधिकारमथि प्रश्न उठ्न सक्छ भन्नुभयो ।

सभासद् रेशम लामाले जनमत सङ्कलनमा खर्च हुने पैसालाई विकास निर्माणमा लगाउन सकिने तर्क गर्नुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले संविधानमा उल्लेख भएका विषय बाझिनेखालका र दोहोरो अर्थ लाग्नेखालका भएको टिप्पणी गर्दै पत्रकार आचारसंहिता सरकारले लागू गर्ने होइन भन्नुभयो ।

धुलिखेलका व्यापारी सुरज श्रेष्ठले तत्कालीन माओवादीले १० वर्षसम्म गरेको जनयुद्धको सम्बोधन भएको टिप्पणी गर्नुभयो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले चारवटा निर्वाचन क्षेत्रमा चारवटा स्थान तोकेर संविधानका विषयमा राय लिइने जानकारी दिँदै त्यसका लागि भकुण्डे, पाँचखाल, बनेपा र पनौतीमा आवश्यक तयारी भएको बताउनुभयो ।

व्यवस्थापिका–संसद् सचिवालयका उपसचिव घनिन्द्रराज चिमौरियाका अनुसार साउन ४ र ५ गते चारवटा निर्वाचन क्षेत्रमा राय लिइने छ । गाविसका लागि ८० थान र नगरपालिकाका लागि २०० थानमा प्रारम्भिक मस्यौदा वितरण गरिने छ । रासस

तपाइँको प्रतिक्रिया ।