पहिरोको डरले काठमाडौमै एक सय परिवार विस्थापित

पहिरोको डरले काठमाडौमै एक सय परिवार विस्थापित

६ असार, काठमाडौ । काठमाडौको गोकर्णेश्वर नगरपालिकाको तारेभीरको जोखिम यथावत रहेपछि भीरभन्दा तलको बस्तीका करिब एक सय घर परिवार अस्थायी टहरा बनाएर सुरक्षित स्थानमा बस्न थालेका छन् ।
Tarebhir

काठमाडौको उत्तरी क्षेत्रको तारेभीरबाट गत शनिबार विहान ठूल्ठूला चट्टान खस्न थालेपछि आसपासका बस्ती सुरक्षा जोखिममा छन् ।
तारेभीर प्रावि आसपासको बस्ती, लहरे टोल, माने गाउँ, भालुमारे टोल, गोठघर र मोक्तान टोल जोखिममा परेका छन् ।

भीरबाट करिब ५ सय मिटर तलसम्म ढुंगा खसेपछि सो क्षेत्रका स्थानीयले आफूलाई पायक पर्ने सुरक्षित स्थानमा अस्थायी टहरा बनाएका छन्, नेपाल समाचारपत्रमा खबर छ ।

जोखिममा रहेका अधिकांश परिवार साविकको बालुवा गाविसका तामाङ समुदायका छन् ।

20150614_185252

प्रभावित परिवार आफ्नो घरभन्दा एक किलोमिटर दायाँबायाँ अस्थायी टहरा बनाएर बसोबास गर्दै आएका छन् । भीरबाट चार मिटर लम्बाइ र ४ मिटर चौडाइसम्मका ढुंगा खसे पनि अहिलेसम्म ठूलो मानवीय र भौतिक क्षति भने भएको छैन । ‘अझैसम्म ससाना ढुंगा खस्ने क्रम जारी रहेकाले जुनसुकै बेला पनि ठूलो ढुंगा खसरेर दुर्घटना हुने खतरा छ’, भालुमारे टोलका स्थानीय लक्ष्मणकुमार थापा -गोलेंले भने । वर्षा शुरु भएसँगै भीरबाट पूर्वतिर पहिरो गएको देखिए पनि नजिक गएर हेर्ने स्थिति नरहेको उनले जानकारी दिए ।

गत सोमबार खानी विभागका ३ जना भूगर्भविदको टोलीले प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरे पनि थप जोखिमका बारेमा स्थानीयलाई बताएका छैनन् ।

 

तपाइँको प्रतिक्रिया ।