नगरपालिकामा विपद् जोखिम न्यूनीकरण शाखा स्थापना हुँदै

कपन अनलाइन, काठमाडौँ, १४ मङ्सिर ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीयस्तरमा विपद् जोखिम तथा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सबै नगरपालिकामा शाखा स्थापना गर्ने भएको छ ।

मुलुकका २१७ वटै नगरपालिकामा ती दुई विषयलाई सम्बोधन गर्न नगरपालिकाभित्र नयाँ शाखा स्थापना गर्न लागिएको मन्त्रालयका सहसचिव गोपी खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सो शाखाले ती विषयमा सेवाग्राहीलाई विस्तृत जानकारी दिन छुट्टै सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको छ । चालु आवमा कम्तीमा ८० सेवा केन्द्र स्थापना गरिने बताइएको छ ।

“मानवीय तथा प्राकृतिक दुवै विपद्का जानकारी र सूचना तथा यसबाट जोगिन अपनाउनुपर्ने सावधानी, आफ्नो घर तथा समुदायलाई विपद्बाट जोगाउनका लागि तालिम जस्ता विषयका ज्ञान सो केन्द्रबाट सेवाग्राहीले प्राप्त गर्न सक्ने छन्” – सहसचिव खनालले भन्नुभयो ।

केन्द्र सञ्चालनसम्बन्धी कार्यविधिसमेत मन्त्रालयले तयार गरेको छ । हाल ४३ प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्छन् । सहरी क्षेत्रमा धुलो, धुवाँ, खानेपानी बिजुलीको अभाव, अस्तव्यस्त सडक, हुँदाहुँदै पनि ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँ सराइ गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

मन्त्रालयले सहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि उत्थानशील सहरी नीतिसमेत कार्यान्वयनमा ल्याउन लागेको छ । सो नीतिमा विपद् सामना गर्न स्थानीय समुदायलाई नै सक्षम बनाउन व्यवस्थापकीय र प्राविधिक पक्षमा बलियो बनाउन जोड दिइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।