भेरीको फेरी विस्थापित हुँदै, १२ वर्ष लागेर पुल बन्यो !!!

भेरीको फेरी विस्थापित हुँदै, १२ वर्ष लागेर पुल बन्यो !!!

Veri-ko-Feri
कपन अनलाइन, सल्यान, १० जेठ, २०७३

भेरी नदीमा पुल सञ्चालनसँगै १७ वर्षदेखि सञ्चालनमा आएको फेरी विस्थापित हुने भएको छ । यातायातका साधन तथा मानिसलाई खोला वारपार गर्नका लागि प्रयोग गरिएको फेरी भेरी नदिमा नवनिर्मित  पुल सञ्चालनसँगै विस्थापन भएको हो । सल्यान र सुर्खेतको सिमानामा पर्ने भेरी नदी पुलको आज उद्घाटन गरिएको हो ।

पुल निर्माण सुुरु गरिएको १२ वर्षपछि पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले यस क्षेत्रका जनताले भोग्दै आएको बर्साैँको समस्या अन्त्य भएको बताउनुभयो । “फेरीको समस्याको समाचार मैले धेरैचोटि पढेँ, त्यो पीडा आजदेखि अन्त्य भएको छ, पुल निर्माण हुनु यस क्षेत्रका बासिन्दाका लागि खुसीको कुरा हो”, गच्छदारले भन्नुभयो ।

नदीमा फेरी प्रयोग गरिएको भए पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन हँुदा यस क्षेत्रमा मानिसले सास्ती खेप्दै आएका थिए । साँझ ५ बजेपछि फेरी नचल्दा सवारी साधन सल्यानको सल्लीबजार र सुर्खेतको राकममा रात बिताउनुपर्ने बाध्यता थियो । पटक पटक फेरी बिग्रने र वर्षायाममा नचल्ने भएकाले पनि स्थानीय तथा छिमेकी जिल्लाका बासिन्दाले समेत समस्या भोग्दै आएका थिए ।

फेरी विस्थापित भएपछि स्थानीयवासी खुसी भएका छन् । “काम विशेषले राकम पुगियो भने ५ बजेपछि फेरी नचल्दा बासबस्नुपर्ने बाध्यता थियो । पुल बनेपछि सहज भएको छ–” स्थानीयबासी दुर्गा बिसीले भन्नुभयो । कुल १८० मि लम्बाइ रहेको पुल सञ्चालनमा आएपछि सवारी साधन निर्धारित समयमै गन्तव्यमा पुग्न थालेका छन् । रासस

फोटो साभार: नेपालजापानडटकम

तपाइँको प्रतिक्रिया ।