अपहरण गरेको विमान सङ्ग्रहालयमा

कपन अनलाइन, काठमाडौँ, ९ जेठ, २०७३

प्रजातन्त्र पुनःस्र्थापनाका लागि खर्च जुटाउने उद्देश्यले विसं २०३० जेठ २८ गते तत्कालीन प्रतिबन्धित नेपाली काँग्रेसले अपहरण गरेको विमान बिपी सङ्ग्रहालयमा ल्याइएको छ । विराटनगरबाट काठमाडौँका लागि उडेको डिई ह्याभिल्यान्ड डिएचसिसी ६३०० ट्वीन अटर नाइन एन–एबिबी एमएसएन ३०२ नामक हवाइजहाज आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा ल्याइएको संस्थापक अध्यक्ष एवम् संरक्षक पर्शुराम पोखरेलले राससलाई जानकारी दिनुभयो ।

“बिपी कोइरालाको सक्रिय नेतृत्वमा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनोहरि बराल, विनोद अर्याल, मदन अर्यालको संलग्नतामा वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुङ्गेलले विमान अपहरण गरी भारतको फारविसगञ्जस्थित घाँसे मैदानमा अवतरण गराई भारु ३० लाख कब्जा गरिएको थियो”– उहाँले भन्नुभयो । विमानमा भएको भारु ३० लाख लिएपछि विमानलाई नेपाल फिर्ता पठाइएको थियो । चालीस वर्षसम्म नेपाली आकाशमा उडेको यो विमानमा अपहरणमा संलग्न नेता पनि पटक–पटक यात्रा गर्नुभएको थियो ।

पोखराबाट जुम्लाको उडानका क्रममा विसं २०७० फागुन ४ गते अर्घाखाँचीको मसिनेलेकमा दुर्घटना भएदेखि नै विमान सङ्ग्रहालयमा ल्याउने प्रक्रिया सुरु गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । विसं २०७२ वैशाख २१ गते नेपाल वायुसेवा निगम, राष्ट्रिय बिमा संस्थान र सङ्ग्रहालयका बीचमा भएको त्रिपक्षीय सम्झौताबमोजिम विमान ल्याइएको हो । विमानको स्वामित्व निगमको भएपनि विमाको प्रावधानका कारण विमान उत्पादक म्याकलरेन्स कम्पनीलाई एक डलर तिरेर विमान सङ्ग्रहालयमा ल्याइएको हो । एक डलरमा विमान नपाइने भएपनि प्रक्रिया पु¥याउन न्यूनतम शुल्क तिरिएको सङ्ग्रहालयले जनाएको छ ।

विमान दुर्घटनापछि निगमको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयको इन्जिनियरिङ कम्प्लेक्समा भण्डारण गरी राखिएको थियो । शुक्रबार क्षेत्रीय कार्यालय प्रमुख किरण श्रेष्ठले सम्झौता गरी सङ्ग्रहालय समितिलाई विमान हस्तान्तरण गर्नुभएको थियो । विमान लिएर पूर्वपर्यटनमन्त्री एवम् काँग्रेस नेता तारिणीदत्त चटौत, सांसद दीपक खड्का र नेपाली काँग्रेस बाँके जिल्ला सभापति किरण कोइराला पनि काठमाडौँ आउनुभएको छ ।

विमानसँगै काँग्रेसका संस्थापक नेता बिपी, गिरिजाबाबु, सुशील कोइरालालगायतका नेता नेपालगञ्ज जाँदा चढ्ने गरेको बा १ च ५०६७ नंको जिप पनि सङ्ग्रहालयमा सार्वजनिक प्रदर्शनका लागि ल्याइएको छ । विमान र जिप बिपी पुत्र एवम् काँग्रेस महामन्त्री डा शशांक कोइरालाले अध्यक्ष पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो । विमान र जिपलाई दुईवटा ट्रकमा राखेर १८ घन्टामा काठमाडौँ ल्याइएको हो । विमान र जिप भावी पुस्तालाई प्रजातन्त्र पुनःस्र्थापनाका लागि कसरी क्रान्ति गरिएको थियो भन्ने बुझाउन प्रदर्शनका लागि राखिनेछ । भागभागमा छुट्टिएको विमानलाई जोडेर प्रदर्शन गर्न रु ८७ लाख लाग्ने अनुमान गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । बजेट समयमै पाए छ महिनाभित्र विमान जोडिने उहाँले बताउनुभयो । रासस

(फाइल फोटो)

तपाइँको प्रतिक्रिया ।