कपनको ह्याण्डबल मैदान कस्को ?

कपनको ह्याण्डबल मैदान कस्को ?

कपन अनलाइन, बैशाख २७, २०७३

Hand Ball
बुनपा १२ स्थित ह्याण्डबल खेल मैदान माथिबाट माटो झरेर दुईवर्षको अन्तरालमा दुईजनाको मृत्यू भएपछि स्थानीय तथा केही संघसंस्थाले सम्बन्धित सरकारी निकायलाई गुहार लगाएका छन् । बुढानिलकण्ठ नगरपालिकालाई स्थानीयले गुहारेपछि सम्बन्धित हुन सक्ने सरोकारवाला संस्थाहरु  ह्याण्डबल संघ, जिल्ला खेलकुद विकास समिति, वडा नागरीक मञ्च, स्थानीय दलहरुसहित केही अन्य संस्था तथा नेतृत्वकर्ताबीच छलफल गरेको छ । ह्याण्डबल मैदानमा नै भएको छलफलमा ह्याण्डबल एसोसियसनका केन्द्रिय कोषाध्यक्ष मिठाराम अधिकारीले सो मैदान आफ्नो भन्नसमेत नसकेपछि मैदान कस्को भन्ने विषय शुरु भएको छ । ह्याण्डबल एसोसियसनको प्रत्यक्ष संलग्नतामा बनेको सो मैदानमा ह्याण्डबलका बिभिन्न गतिबिधि संचालनमात्र भएका छैनन्, सो मैदानका नाममा नेपाल सरकारका बिभिन्न निकायमार्फत बिभिन्न समय तथा बिभिन्न शीर्षकामा ४० लाखभन्दा माथि बजेट खर्चसमेत भएको छ । ह्याण्डबल मैदानले चर्चेर बसेको सो सार्वजनिक जमिनको भोगाधिकार ह्यान्डबल एसोसियसनको हो भनेर देखिएको छैन । यसरी कानुुनीरुपमा आफ्नो भोगाधिकारमा नरहेकोले मान्छे मर्ने गरी भएको दुर्घटनाको जिम्मेवारी लिनु पर्ने हुँदा यतिखेर ह्याण्डबल एसोसियसन खुलेर सो क्षेत्र आफ्नो हो भन्ने सकिरहेको छैन ।

आइतबार बिहान बिभिन्न राजनीतिक दलहरुका प्रतिनिधि, नगरपालिकाका कार्यकारी अधिकृतसहितको सो भेलामा सबैले ह्यान्डबल मैदान भन्ने तर ह्यान्डबलका भनेर बजेट ल्याउने अनि समस्या परेका बेला हाम्रो हो भन्न नसक्ने विषयलाई गम्भीरताका साथ उठाएपछि कपनमा स्थानीय राजनीति गर्ने ह्याण्डबल एसोसियसनका कोषाध्यक्ष मिठाराम अधिकारीले ३ दिनको समय मागेका छन् । अधिकारीले ३ दिनभित्र सो मैदान ह्याण्डबल एसोसियसनको हो वा हैन निर्णय गर्ने बताएपछि बुधबारसम्ममा अधिकारीलाई निर्णय गरेर ल्याउन भनिएको छ ।

कपनमा नै ह्याण्डबल एसोसियसनका केन्द्रिय पदाधिकारीमध्ये कोषाध्यक्ष मिठाराम अधिकारीसहित बरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी पनि बसोबास गर्छन् भने काठमाडौं जिल्ला ह्याण्डबल एसोसियसनमा कपनका नै ९० प्रतिशत स्थानीय राजनीतिक कार्यकर्ताहरु सदस्य रहेका छन् । कपनमा रहेको यो ह्याण्डबल मैदानलाई नेपालकै पहिलो र व्यवस्थित ह्याण्डबल मैदान बनाउने क्रममा हालै २७ लाख बजेटसमेत विनियोजन भएको छ । केही दिन अघि सो बजेट कार्यान्वयनका लागि कर्ण लामाको अध्यक्षतामा एक उपभोक्ता समिति पनि बनाइएको छ । कर्ण लामाको अध्यक्षतामा उपभोक्ता समिति बनेपछि यसअघिका भएजति सबै जिम्मेवारी र दायित्व लामाको टाउकोमा पार्दै अरु सरोकारवालाहरु पन्छिन खोजेको र लामाको टाउको सबै समस्या थुपार्न खोजेको एक स्थानीय क्लबका अध्यक्षले नाम नलेख्ने शर्तमा कपन अनलाइनलाई बताए ।

खेलकुदसँग सम्बन्ति विषयमा मानिस मर्ने घटना हुँदा जिल्लाको आधिकारिक संस्था काठमाडौं जिल्ला खेलकुद विकास समितिलेसमेत यो विषयलाई एजेन्डा बनाएर कुनै पनि कुरा बाहिर नल्याएकोमा पनि भेलामा आलोचना भएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेउपाध्यक्ष दामोदर भट्टराई दुवै कपनकै निवासी मात्र हैनन् स्थानीय राजनीतिक कार्यकर्ता पनि हुन् । उपाध्यक्ष भट्टराई काठमाडौं जिल्ला ह्यान्डबल एसोसियसनका सचिव पनि हुन् साथै सो ह्यान्डबल मैदानका एक निर्माण प्रकृयामा अध्यक्षसमेत रहिसकेका छन् । यद्यपि यो मैदानलाई ह्यान्डबल मैदान भनिए पनि मैदानमा ह्यान्डबलभन्दा फुटबल नै खेलिने गरिन्छ । यसैबीच नेपाल ह्यान्डबल यसोसियसनले सो मैदान आफ्नो भन्न नसक्ने हो भने ह्यान्डबल मैदानलाई आफ्नो माताहातमा संचालन गर्ने वडा नागरीक मञ्चका श्याम डोटेल बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।