क्षेत्र र जिल्लाको नतिजापश्चात प्रकाशमान र गगन थापाको राजनीतिक भविष्य

क्षेत्र र जिल्लाको नतिजापश्चात प्रकाशमान र गगन थापाको राजनीतिक भविष्य

101NCD90

कपन अनलाइन/फाल्गुण ८, २०७२

नेका अधिवेशन/राजनीतिक विश्लेषण

नेपाली कांग्रेसको महाधिवेशनको दिन अब एकदमै नजिक आइसकेको छ । जिल्ला अधिवेशनका धेरैजसो नतिजा सार्वजनिक भैसकेका छन् । महाधिवेशन प्रतिनिधिमा को कस्का मानिस आए भन्ने विषय पनि माथिल्लो तहमा अवगत भैसकेको छ भने महासमिति सदस्य छनौट गर्ने प्रकृया पनि संचालन भैरहेको छ । यद्यपि फाल्गुण महिनाको तेस्रो साता हुने महाधिवेशनमा कस्ले नेकाको रथ हाँक्छ भन्ने अड्कल यसअघिको महाधिवेशनजस्तो सजिलो यो महाधिवेशनमा हुन नसक्ने देखिएको छ ।

महाधिवेशनको मुखमा सभापति सुशील कोइरालाको असामयिक निधनसँगै नेकाको संस्थापन पक्षका कतिपय स्वरुपहरु परिवर्तन हुनसक्ने देखिन्छ । सभापतिका आकांक्षीदेखि उपसभापति, महामन्त्रिका दावीमा पनि सुशीलको निधनले धेरै ठूलो असर पर्ने देखिएको छ । जीतको संभावना देखिएको खण्डमा हिजो संस्थापन पक्षका भनिएका कतिपय पात्र देउवा पक्षका हिमायती बन्न सक्ने अवस्था सिर्जना भएको छ । जिल्लाको अधिवेशनसम्मको अवस्थामा कतिपय नेताहरुको भाग्य कमजोर हुन गएका छन् भने कतिपय नेताहरुलाई भाग्योदय चिठ्ठाजस्तो बन्न पुगेको छ । यसै प्रशंगमा काठमाडौं जिल्ला अधिवेशनले देखाएको नतिजाले केही नेताहरुको भाग्यलाई निर्धारण गर्ने देखिन्छ ।

prakash_man_singh_चाक्सीबारीको राजनीतिबाट ओतप्रोत हुने काठमाडौंको राजनीतिमा यसपाला प्रकाशमान सिंह निकै कमजोर देखिए । भलै जिल्ला अधिवेशनमा उनका उम्मेदवार भनिएका सबुज बानियाँले जिते तर यो सम्भावना तबमात्र सम्भव भयो जब काठमाडौंमा देउवा पक्षले सिंहको उम्मेदवारलाई सघाए । काठमाडौं अधिवेशनले देउवा पक्षलाई मजबुत बनाएको छ । काठमाडौंका १० मध्ये ५ वटा क्षेत्रमा देउवा पक्षले सभापतिमा बिजयमात्र गराएन यी क्षेत्रहरुबाट महाधिवेशन प्रतिनिधिमा जाने ७५ प्रतिशत व्यक्ति देउवा पक्षीयसमेत बनाएको छ । त्यस्तै महाधिवेशन प्रतिनिधिहरुको आंकडा हेर्दा काठमाडौंमा प्रकाशमान सिंह पहिलेका तुलनामा निकै कमजोर बनेको देखिन्छ । सिंहले सभापतिको अप्रत्यक्ष दावी पनि गरिरहेका छन् भने उपसभापति हुने रोलक्रम पनि उनैको हो । यस्तो अबस्थामा काठमाडौंमा उनको कमजोर प्रदर्शनले उनलाई केन्द्रमा सहज नबनाउने पक्का छ । सुशील कोइरालको निधनसँगै अब प्रकाशमानको दिन विस्तारै कमजोर भयो भन्नेहरु कांग्रेस वृत्तमा धेरै पाइन्छन् । महाधिवेशनमा सिंह कुन प्यानलबाट के पदमा कसरी उठ्लान् सबैलाई चासो भए पनि उनी स्वयम्ले भने आधिाकारिकरुपमा केही बोलेका छैनन् ।

IMG_7961काठमाडौंमा क्षेत्र र जिल्ला अधिवेशनपश्चात युवा नेता गगन थापा पनि कमजोर देखिएका छन् । देशभर उनको पक्षमा महाधिवेशन प्रतिनिधि आउने देखिए पनि आफ्नै क्षेत्र र जिल्लामा उनले पकड बनाउन सकेकनन् । यसमा गगन थापाको व्यक्तित्व कमजोर भएको भन्दा पनि उनले छनौट गरेको मानिस कमजोर भएको धेरैले आंकलन गरेका छन् । क्षेत्रमा गगन थापाले गरेको महान भूलका कारण उनले पछिसम्म दुःख पाउने देखिएको छ । क्षेत्रीय सभापति थापाका कट्टर आलोचक भएका कारण यो सिंगो कार्यकाल उनलाई सजिलो नहुने बताइन्छ भने जिल्लामा उनले फेरि एकपटक भिमसेनदास प्रधानलाई सहयोग गर्दा पराजित हुन पुगे । यद्यपि भिमसेनदासको विकल्प थिएन भन्नेहरु पनि छन् तर उनले बेलैमा गृहकार्य गर्न नसकेको धेरैले आंकलन गरे । महाधिवेशनमा महामन्त्रिको दाबी गरिरहेका गगन थापा अरु जिल्लाहरुमा बढि ध्यान दिन पुग्दा आफ्नै जिल्ला र क्षेत्रमा कमजोर हुन पुगेको हुन् ।

नेपाली कांग्रेसभित्र मासबेसको वकालत गरिरहेका थापालाई क्षेत्र र जिल्लामा क्याडरबाट गतिलो साथ प्राप्त हुन सकेन । यसको पछाडि उनले आफूपछिको गतिलो पात्र क्षेत्र र जिल्लामा प्रस्तुत गर्न नसक्नु वा उत्तराधिकारी नबनाउनु प्रमुख कारण हुनसक्ने धेरेले अनुमान गरेका छन् । यद्यपि क्षेत्र र जिल्लामा जे जस्तो नतिजा आए पनि गगन थापाले महाधिवेशनमा महामन्त्रि जित्ने सक्ने बताइन्छ । नेपाली कांग्रेसले स्वदेश वा विदेशमा देखाउन वा भजाउन सक्ने एकमात्र पात्र भएकाले पनि पार्टीभित्र उनको विकल्प छैन । उनलाई साथ लिएर नहिड्नु भोलि चुनावी माहौलमा विपक्षीहरुलाई मसला हुने भएकाले पनि संस्थापन तथा देउवा पक्ष गगन थापालाई आफ्नो पक्षमा ल्याउन चाहने कुरामा दुईमत छैन । १२ औँ महाधिवेशनमा थापाले सर्वाधिक मत ल्याएर केन्द्रिय सदस्य जित्दा उनी संस्थापन र देउवा दुवै प्यानलमा थिए ।

(प्रकाशमान सिंहको फोटो गुगलंमार्फत खोजिएको हो ।)

तपाइँको प्रतिक्रिया ।