किन दूर भइन् रसिली कविता : प्रतिभा देवी न्यौपाने (कविता )
कपन अनलाइन
काठमाडौं ,मंसिर ३।
रन भुल्ल परें दिन रात म ता
मन ग्रस्त रस छैन यता
मन व्यग्र भएर खस्यो किनहो
कविता कसरी म रचूँ अब भो ।।०१।।
छ दिगन्त भरै छल झेल अहो
ननिकाखल संगतको फल यो
मधुभावहरू नबने सरिता
कसरी म रचूँ रसिला कविता ।।०२।।
कहिले महिला म बनें थिचिएँ
कति संस्कृतिले घुन झैं पिसिएँ
जति बुझ्दछु झन् छ ठगी रमिता
र त दूर भइन् रसिली कविता ।।०३।।
इतिहास हुँदै थलिए महिला
सु सती बनिए सकिएपहिला
अब संस्कृति धान्न बसे कतिता
र त दूर भइन् रसिली कविता ।।०४।।
घर खेत हुदैं गिरि टार सबै
लय के हर पाइ घरै छ सँधै
लुटिएर बसे महिला बनिता
कसरी नवसिर्जन होस् कविता ।।०५।।
अझ चाल कुनै बदलिन्न यहाँ
सरकार चल्यो नित नाटकमा
चलखेल हुने अति पेत्न सदा
र त दूर भइन् रसिली कविता ।।०६।।
नवमार्गहरू कति बन्द भए
समता सित लैंगिकता उभिए
सजिलो छ र छैन सँगाल्न यता
र त दूर भइन् रसिली कविता ।।०७।।
हर सागर तर्न सके न कडा
दश तर्फ शिला छ यही तगडा
कुन जाँगरले म बनौं सरिता
र त दूर भइन् रसिलीकविता ।।०८।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक