विवसता :गङ्गा कर्माचार्य पौडेल (लघुकथा )
कपन अनलाइन
काठमाडौं ,कार्तिक ३०।
कोरोना भाइरसका कारण २०७६ चैत ११ देखि सरकारबाट देशभर एकसाथ लकडाउनको घोषणा गर्यो । त्यसपछि सामान नपाइएला भनेर टोल छिमेकीहरुले नजिकको पसलबाट धमाधम खाद्यान्न नुन तेल खरिद गर्न थाले । मलाई भने अनावश्यक संचय गर्ने मन थिएन । किनभने त्यसले गर्दा उपभोग्य बस्तुको अभावभई मूल्य बृद्धि हुने पक्का थियो ।
तर म एकजना नजाँदैमा पसलमा सामान किन्नेको भिड कम भएन । त्यसपछि म सोचमा परेंं । मनमनै भने ‘पसलै रित्तीयो भने म मात्रै कहाँ गएर सामान खरिद गर्नु’ यस्तै कुरा खेल्यो मनमा र म पनि त्यही पसलमा किनमेल गर्न गएँ ।
पसलेले एकएक गर्दै बिलमा सामानको मूल्य चढायो । अधिपछिको भन्दा दोब्बर मुल्य देखेर मैले भने ‘हैन सामानको भाउ बढ्यो भनौं भने अहिले नयाँ आएको माल होइन यो । पहिलैकै सामानलाई किन दोब्बर भाउ बढाएको
साहुजी?‘
“हे हे हे लकडाउनको फाइदा नि । हामीले दुईचार पैसा कमाउने भनेकै यस्तै मौकामा हो हजुर । भुइँचालो आएको बेला घडेरी जोडें । अब यस्पाली घर बनाउनु पर्छ । के गर्नु ? अधिपछि त किन्यो ल्यायो बेच्यो सापो नापो ठिक्कै हुन्छ” । पसलेले जवाफदियो ।
मान्छेलाई अप्ठेरो परेको बेलामा झन् अप्ठेरो पार्न हुन्छ त ? काम गर्न नपाएर पैसा नभएको बेला सक्दो सहयोग गर्नु पर्नेमा सामानको भाउ बढाए पछि कसरी किनेर खानु ?हामी जस्ता जनता भोकै मरिदैनं ?मैले भने ।
“जनतापाल्ने जिम्मा मेरो होइन हजुर । सरकारको हो । तपाईलाई महँगो लाग्छ भने नलानुस् कर छैन”भनेर उसले सामान राखेको झोला जुरुक्क उचालेर भित्र लग्यो ।
त्यो देखेर भोली त्यै पनि नपाए के खानु ? पैसा खाएर भएन । खान अन्नै चाहियो भन्ने लाग्यो
मलाई । त्यसपछि पसलेलाई बोलाउँदै भनें. ‘ह्या… साउजी ! तपाई नि यत्तीकै रिसाउनु हुन्छ । खै ल्याउनुस्
सामान ।
उसले मलाई आँखा तर्दै भन्यो “यतिकामाल बेचीसकेंं कसैले केही नभनी लगे । तपाई मात्रयसो उसो भन्नुहुन्छ । चिनेको पुरानो ग्राहक भएर पो नत्र दिनेनै थिइन । पहिला पैसा दिनुस्”।
मन खिन्न पार्दै ब्यगबाट पैसा झिकेर दिएँ । जनाजानी ठगिनु थियो मेरो विवसता ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक