पुर्ख्यौली बुढो घर : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक २२।
जीवनको इन्द्रेणी सपनाले
हरेकबर्ष दशैंमा कमेरो पोतेर
सिंगार्दै दंग पर्दै टाढाबाट हेरिरहन्छ त्यो बुढो घर,
ढुङ्गा माटोको त्यो बुढ्यौली घर
बाबुको स्वामित्वबाट सर्दै सर्दै आइरहेछ ।
मेरो भन्ने शव्द करौंतीले
औशवण्डामा चिराचिरा पारेको छ सिङ्गो घर,
मलाइ थाहाछ नब्बे सालको भूकम्प पछि नै बनेको हो,
बहत्तरको भूकम्पले शहरका गगन्चुम्बी
महलहरू ढले,भत्के,चिरा परे
तर, त्यो बुढो घरले परास्त गर्यो कम्पनको लडाईं,
युद्ध जितेर खुसी दिएको छ नयाँ पुस्तालाइ,
नयाँ पुस्ताहरू भने,
शहरको रमझममा जीवनलाइ नै,
सपनको नशासँगै निलिरहेछन् ।
लालपुर्जी अधिकार मागेर बेच्न खोज्दैछन् ,
विदेशमा फल्ने पैसा टिप्न त्यो बुढो घर !
उनीहरूला इआफ्नो पाखुरी सँग विश्वास छैन,
माटो भित्र स्वदेशमै पैसा फल्छ भन्ने स्वीकार्दैनन्
स्याउफल्ने बोटमा जस्तै फल्छ भन्छन् विदेशमा पैसा
अनी टिप्न हतारिन्छन्
चरा आफ्नो पखेटाको भरमा उडेको देखेर
चरा जस्तै उड्न खोज्छन् त्यो निलो आकाशमा
अन्ततः करेशावारी सहितको त्यो बुढो घर बन्धकी राखेर
मेन पावरको खाता भरिदिन्छन् ।
अनी उड्छन् चरा जस्तै आकाशमा,
खुसीले धर्तीलाई बाइबाइ गर्दै ।
समयको अन्तरालमा फर्कदा
रातो बाक्सा भित्रआफै भरिएर फर्कन्छन् ।
त्यो बेला प्रियसी नदी किनारमा वालुवा चालिरहेकी,
सन्तान गिट्टी कुटीरहेका हुन्छन्
फर्कनेले कसैलाइ देख्दैन
मात्र देख्छ त्यो बुढो घरले रातो बाक्सा र तरक्क रून्छ
आवाज नदिइकन आँसु नबगाइकन ।
बुढो घर ! बुढो घर ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक