जासुसीको आरोप गरेको भन्दै दिल्लीमा नेपाली जेल चलान

कपन अनलाइन

,काठमाडौं कार्तिक १९।

भारतीय प्रहरीद्वारा जासुसीको आरोपमा केही समयअघि समातिएका एकजना नेपालीलाई तिहाड जेल चलान गरिएको छ । पेशाले पहिले सवारी चालक शेरसिंह अर्थात राज बोहोराको नाममा एमजे नामक एउटा संस्था (कम्पनी) दर्ता गरिएको तर त्यसको हर्ताकर्ता भने चिनियाँहरू रहेको भारतीय अधिकारीहरूको दाबी छ । भारतमा चिनियाँ नागरिकलाई संस्था (कम्पनी) दर्ताको छुट छैन ।
चालकको पेशा छाडेर पछिल्लो समय बोहोरा पर्यटन व्यवसायतिर लागेका थिए । त्यहि क्रममा अवसर विस्तार हुँदै गयो भने आम्दानी पनि बढ्दै गयो । विदेशीसँगको संगतले बिस्तारै अंग्रेजी बोल्न र बुझ्न थालेपछि उनले चिनियाँसँग सम्पर्क गरेको भारतीय अधिकारीहरूले निचोड निकालेका छन् ।
आरोपित बोहोरालाई अदालती प्रक्रिया चल्दा चल्दै जेल पु¥याइएको हो । नेपालमा प्रहरीले समातेर २५ दिन हिरासतमा राख्न पाएजस्तै भारतीय अपराध कानुनमा कुनैपनि आरोपमा गिरफ्तार व्यक्तिलाई १४ दिनसम्म थुनेर अनुसन्धान गर्ने म्याद तोकिएको छ । त्यो अवधिभित्र अनुसन्धान पूरा भए पनि, नभए पनि १४ दिनपछि अदालतले जुन जेलमा राख्न आदेश दिन्छ, त्यहीँ राखेर कानुनी प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । भारतीय कानुनमा मुलुकको जासुसी गरेको अभियोग प्रमाणित भए बीस वर्षभन्दा बढीको कैद सजायँ छ ।
स्रोतका अनुसार, ६१ वर्षका भारतीय नागरिक राकेश शर्माले चीनको ग्लोबल टाइम्स अंग्र्रेजी साप्ताहिकको लागि सन २०१४ देखि रिपोर्टिङको काम गर्दै आएका थिए । पेशाले पत्रकार उनी लामो समयदेखि युन्नान प्रान्तको खुन्मिङ्गका दुई जना चिनियाँसँग नियमित सम्पर्कमा थिए । बोहोराको नाममा कम्पनी दर्ता गरेपछि संस्थाको कारोबार स्वतः बैंकमार्फत् हुन थाल्यो । शर्माले देखिने कुनै सीधा सरोकारबिना पटकपटक गरी एक वर्षको अवधिमा तीस लाख भारु.बराबरको चेक शेरसिंहको कम्पनीमार्फत बुझेको देखिएको प्रहरीले अनुसन्धानको क्रममा फेला पारेको हो । खातामा चिनियाँहरूले नियमित रूपमा रकम जम्मा गरिदिएको र त्यो रकम शर्माले प्रयोग गरेको देखिएपछि प्रहरीले मुलुकबिरुद्ध जासुसी गरेको आशंका र आरोपमा शर्मा र बोहोरालाई यौटी चिनियाँ महिलासहित पक्राउ गरेको बताइएको छ ।
एमजे नामक संस्था (कम्पनी) को उद्देश्यमा औषधी वितरणको काम गर्ने विवरण उल्लेख छ । एक किसिमले उक्त कम्पनी भारतमा रहेका लाखौं औषधी वितरक कम्पनी जस्तै हो । तर, कम्पनीमा नदेखिने गरी कसको र कति लगानी छ भन्ने केही खुलाइएको छैन ।
आरोपितहरूले उन्मुक्तिको लागि चिनियाँको तर्फबाट कानुन व्यवसायीसमेत राखेका छन् । तर, एकजना नेपालीमाथि यति गम्भीर आरोप लगाएपछि निजको बारेमा भारत सरकारले नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई तत्काल जानकारी गराउनुपर्ने कूटनीतिक मर्यादाको भने पालना गरेको देखिएन ।

नेपाली सञ्चार माध्यमहरूले पक्राउ परेका नेपाली र भारतीय रवैयाको बारेमा लेखेपछि एक महिना गुजारेर हतार हतार भोलिपल्ट बिहान नौ बजे दिल्ली पुलिसले दूतावासमा लगी शेर सिंह जेल चलान भएको पत्र बुझाएको परराष्ट्र स्रोतले बताएको छ ।
बोहोरामाथि लगाइएको यस किसिमको गम्भीर आरोप सम्भवतःभारतमा रहेका नेपालीलाई लगाइएको हालसम्मकै पहिलो हुन सक्छ । यसअघि अन्य कतिपय आरोपमा समातिएका व्यक्ति नेपाली भनिए तापनि उनीहरूसँग भारत सरकारद्वारा जारी कुनै न कुनै परिचयपत्र भेटिने गरेका थिए । अहिले बोहोरासँग पनि भारत सरकारले प्रदान गरेको आधार कार्ड रहेको बताइन्छ ।
त्यहाँ ढुक्कैसङ्ग जमेर बसेका ७५ प्रतिशतभन्दा बढी नेपालीले उतैको कुनै न कुनै खाले परिचयपत्र बोकेका हुन्छन् । तर, अधिकांशले नेपालको वास्तविक नाम र ठेगानाभन्दा फरक ब्यहोरा उल्लेख गरेर त्यस्ता परिचय पत्र लिने गरेको पाइएको छ । राशन कार्ड, आधार कार्ड हुँदै धेरैले चुनावताका भोटर्स कार्डसमेत बनाएको देखिन्छ । मत बटुल्ने प्रयोजनको लागि नेपालको तराई मधेसमा जस्तै त्यहाँका राजनीतिक दलहरूले चुनावताका धेरैलाई भोटर्स कार्ड बाँड्ने गरेको पाइन्छ ।सामाचार साभार : जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।