आऊ प्रिय शान्ति आऊ: राजेश अधिकारी (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक ७।
तिम्रो अविरल स्पर्शको कुराइमा
मनधारी म भित्रको अन्तरात्माले
कतीअखप छटपटीहरु पचाए
कती ब्यग्र उकुसमुकुसहरु पिए
कती अधिर पलहरु बिताए
तिम्रो आगमनको स्वागत गर्न
आतुर मेरा उत्ताउला नजरहरु
तिम्रो बाटो हेर्दाहेर्दै थाकिसके
तिम्रो आभासको सपना देखिरहँदा
कटु बिपनाको ठक्करले टुटिसके
तिम्रा पदचापका झन्कार सुन्न
उत्सुक मेरा संगीतमैत्री कर्णपटहरु
गोरेटाका रिक्तता सुन्दासुन्दै तड्पिसके
तिम्रो पाउको सरगमको साटो
भ्रामक श्रव्यताको निसानबाजीले भत्किसके
तिम्रो बहुप्रतिक्षित सुगन्धपान गर्न
पागल मेरो महकप्रेमी नासिका
पवनका झोक्काहरु सुघ्दासुघ्दै जिल्लिसके
तिम्रो श्वासको महकताको बदलामा
दुर्गन्धको तिखो प्रहारले भाँचिइसके
तिम्रोे कोमल स्पर्श पाउन
लालायित मेरो भावुकचर्म
अशान्तिको निशाना बन्दाबन्दै धर्मराइसक्यो
तिम्रो परमानन्दिय छुवाइ चाहँदा
काँडाको दर्दशील घोचाइले पोलिसक्यो
तिम्रो सौम्य आभाचाख्न
आतुर मेरो भोको जिब्रो
हैरानी चाट्दाचाट्दै दिक्क भैसक्यो
मधुस्वादको मिठास मनमाकल्पिदा
स्वाद अमैत्री कोचाइले खुइलिइसक्यो
ज्वारभाटा बनीबिस्फोट हुन
उकुसमुकुस मेरा ज्ञानेन्द्रियहरुका लाभा
आफैंभित्र उम्लिदा उम्लिदै उध्र्वपात हुन्छन्
शान्तिको अधर चुम्नै लाग्दा
कोलाहलले अपेक्षितलक्ष मोडिदिन्छन्
कोलाहल र चित्कारको घण्टाघरमा
हल्लिरहेका यीलंगुर जिन्दगीहरु
जीवन र मरणको दोसाँधमा तड्पिरहेछन्
काकाकुल मरुभुमीमा जिउन घिस्रिरहेका
त्रिषित र अशान्त श्वासहरु
तिमीसँग अमृत बुटी मागिरहेछन्
हत्या,हिंसा र यातनाले छट्पटाइरहेका
असंख्य बलिकाबोका जिन्दगीहरु
निस्फल बलिदानको सागरमा डुबिरहेछन्
बलिदानको मह चाट्ने चाटुकारहरु
ऐस आराम र दमनको कुर्सीमा घुमिरहेछन्
आऊ प्रिय शान्ती आऊ
जिवित लासलाई सन्जिवनी पिलाऊ
अराजकताले लखेटिरहेको बिवस शिकार
अतालिदै तिम्रो शरण खोजिरहेछन्
बेथिती खप्दाखप्दै चिरीएका मुटुहरु
तिम्रो आभासको स्पन्दन रोजिरहेछन्
आऊ प्रिय शान्ति आऊ
चहराइरहेकोे घाउमा मलम लगाउन आऊ
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक