दीपशिखा : गङ्गा आचार्य सापकोटा (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १।
निर्जीव संवेदनाको पर्खाल तोडेर
दृढ सङ्कल्पसाथ
निष्ठाको फूलबारीमा
विश्वासको पुष्प फुलाएर
समानताका पदचाप पुर्याउन चाहन्छ
एकलास झुप्राहरूमा ऊ ।
ओठ कलेटी पार्दै निस्पन्द टोलाइरहेका
असहाय रोगी, अनि
सृष्टिको पीडामा ज्यानै गुमाउने
गर्भिणी आमाहरूलाई
चेतना, उपचार र प्रतिबद्धताको फूलदानी लिएर
पुग्छ लुखुर–लुखुर ऊ
आँखाले तनतनी व्यथाहरू पिउन
दूरदराजका पीडित बस्तीहरूमा ।
देखिएन ऊ झुलेको
सपनाको आफ्नो संसारमा
न देखियो फुलेको
वसन्तको सुनाखरीमा
हाँसेन कामुक हाँसो
यौवनाको प्रीतमा
न देखियो निर्लिप्त
धनको प्यासमा ।
ऊ भित्रको सुन्दरता हेर्न
खोल चैतन्यको चक्षु
गर सद्भावी रूपको दर्शन
नपुर्याउ जीर्ण शरीर, श्वेत मनमा चोट
नबाँध काला मनहरूले
उसका साहसी हातगोडा
दुस्साहस नगर निभाउन
आफु जलेर उज्यालो दिने त्यो
दीपशिखा ।
तपाइँको प्रतिक्रिया ।