कोरोना संक्रमित प्रति सचेत बनौं

कोरोना संक्रमित प्रति सचेत बनौं
कपन अनलाइन
काठमाडौं ,असोज २३/मेनुका कार्की
करिब आधा करोड मानिस बसोबास गर्ने काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको अवस्था भयावहउन्मुख छ । संक्रमणको गति यसैगरी बढिरहेमा र सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेमा परिस्थिति नियन्त्रणबाहिर जाने संकेत स्पष्ट देखिन्छ । त्यसैले संकट टार्न सरकारले हरसम्भव उपाय अपनाउनुपर्छ र नागरिकले पनि परिस्थितिको गम्भीरताबोध गर्दै पर्याप्त सतकर्ता अपनाउनुपर्छ ।
मुलुकभर कुल संक्रमितको संख्या एक लाख भेट्ने दिशामा उक्लिँदै गर्दा तिनको एक तिहाइ जति काठमाडौं उपत्यकाका छन् । सुरुआतमा केही ‘के ई देखिए पनि लामो समयसम्म काठमाडौं उपत्यका सुरक्षितजस्तै थियो ।
फाट्टफुट्टबाहेक संक्रमण देखिएको थिएन । मुलुकका अन्य भागको तुलनामा यहाँ ढिलो गरी मात्रै संक्रमण झांगिन थालेको हो । जोखिमपूर्ण क्षेत्रमा आउने–जानेबीच सरकारले आवश्यक कडाइ नगर्दा र प्रकोप नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञाबाहेक अरू कुनै पनि प्रभावकारी उपाय नअपनाउँदा परिस्थिति जोखिमपूर्ण बन्दै गएको हो ।
पछिल्लो अवधिमा प्रायः दैनिक जति संक्रमित थपिन्छन्, तिनमा आधाभन्दा बढी काठमाडौं उपत्यकाकै हुन्छन् । संक्रमितको संख्या वृद्धि भएसँगै जटिल बिरामी पनि उत्तिकै बढिरहेका छन् । यही कारण उपत्यकामा कोरोना भाइरस संक्रमित बिरामीहरूका लागि सघन उपचार बेड भरिभराउ भइसकेका छन्, भेन्टिलेटर खाली छैनन् । जटिल बिरामीलाई पनि सामान्य बेडमै उपचार गर्नुपर्ने बाध्यता उत्पन्न भइसकेको छ । राजनीतिज्ञ र सरकारी अधिकारीहरूको ‘आफ्नो मान्छेलाई सघन उपचार कक्षमा भर्ना गरिदिनुपर्यो’ भन्ने फोनले आजित हुन थालिसकेका छन् अस्पताल सञ्चालकहरू ।
अहिलेको अवस्था अझै ठूलो खतराको सूचक किन हो भने, यो प्रकोप तत्काल टुंगिहाल्ने देखिँदैन । पूरै विश्वले प्रतीक्षा गरिरहेको यसको खोप यहाँ भरे–भोलि आइहाल्ने छैन । खोप आइसक्दा पनि त्यसको प्रभावकारिता कति हुन्छ, कुनै टुंगो छैन । फेरि, संक्रमण फैलन थालेको यति धेरै समय भैसक्दा पनि पीसीआर परीक्षण बढाउन त बाहानाबाजी गर्ने हाम्रो सरकारले विश्व बजारमा खोप आउनेबित्तिकै ल्याएर लगाइदिहाल्ला भन्ने भर पनि छैन, न त निजी क्षेत्रलाई त्यसका निम्ति प्रोत्साहित गर्ने नीति सरकारले लिएको छ ।
अब संकट जसरी विस्तारित हुँदै छ, त्यो सरकारको काबुबाहिर जाने जोखिमसमेत देखिँदै छ । त्यसैले सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दागर्दै नागरिक आफैंले पनि जोगिने सम्पूर्ण पहल गर्नुपर्छ । यही बेला हाम्रा ठूला चाडबाडहरू– दसैं, तिहार, नेपाल संवत्, छठ आदि ढोकैमा छन् । तिनलाई पहिलेजस्तै भीडभाडपूर्ण ढंगले मनाउन खोजियो भने त्यो सरासर जोखिमलाई निम्त्याउनु हुनेछ ।
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा बुधबार पत्रकार सम्मेलनमार्फत काठमाडौं उपत्यका संक्रमणको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिसकेका छन् । ‘हामी स्वस्थ रह्यौं भने चाडबाड फेरि पनि मनाउन सक्छौं’ भन्दै उनले परिस्थितिको बोध गराएका छन् । काठमाडौंबाट बाहिर जाँदा–आउँदा संक्रमण पनि ओहोरदोहोर गर्न सक्ने औल्याउँदै उनले यसपालि टाढैबाट आशिष लिन–दिन अनुरोध गरेका छन् । उनको यो आग्रह नागरिकका लागि मननीय छ, तर सवाल यति हो— सरकार आफूचाहिँ निस्फिक्री निदाउनु हुँदैन ।
राजधानी उपत्यकामा अहिले जसरी सघन उपचार बेड र भेन्टिलेटरको अभाव देखिन थालेको छ, त्यो निकै चिन्ताजनक छ । यस्तो अवस्थामा बाँच्न सक्ने बिरामी पनि जोखिममा धकेलिन्छन् । देशभर कोभिडका लागि भनेर छुट्याइएका ५५९ सघन उपचार बेड र २३९ भेन्टिलेटरमध्ये उपत्यकामा १५४ सघन उपचार बेड र ६२ भेन्टिलेटर मात्र छन् ।
देशभरका सबै अस्पतालमा गरी १५५१ सघन उपचार बेड र ७७० भेन्टिलेटर छन् । तसर्थ, सरकारले बिरामीको जीवन बचाउन अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटरको संख्या बढाउनुपर्छ । त्यसका निम्ति निजी एवम् सामुदायिक अस्पताललाई प्रेरित पनि गर्नुपर्छ । त्यससम्बन्धी जनशक्ति र तिनका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा साधनको समेत जोहो गरिनुपर्छ ।
यही गतिमा संक्रमण बढ्यो भने, सरकारले केही पूर्वाधार थपिहाले पनि धान्न सक्ने देखिँदैन । त्यसैले संक्रमितको संख्या अनियन्त्रित ढंगले बढ्न नदिन सबैको पहल हुनुपर्छ ।
त्यसका लागि सरकारले परीक्षणको मात्रा व्यापक बढाउनुपर्छ । त्यस क्रममा संक्रमित पाइएकालाई अलग्गै बस्न अनुरोध गरेर वा तत्सम्बन्धी प्रबन्ध मिलाएर तिनको सम्पर्कमा आएका अरू व्यक्तिहरूको पहिचान गर्नुपर्छ । यसरी शंकास्पद व्यक्ति पहिचान र परीक्षणको चक्र निरन्तर चलाइरहनुपर्छ । तर कुन्नि किन हो, सरकार भने यस दिशामा त्यति गम्भीर पाइँदैन । परीक्षणको दर बरु घट्दो छ, बढाइएको छैन ।
साथै, संक्रमित मात्र होइन, तिनको सम्पर्कमा पुगेकाले पनि आफ्नो अवस्थाबारे निश्चित नहुन्जेल आफूलाई अलग्गै राख्नैपर्छ । यो प्रकोपको प्रकृति नै यस्तो छ, एउटाले लापरबाही गर्दा कैयौंलाई असर पर्छ, यसबारे सबै सचेत रहनुपर्छ । सरकारले परीक्षण र शंकास्पद व्यक्ति पहिचान गर्नुका अलावा नागरिकहरूलाई व्यक्तिगत दूरी कायम राख्न लगाउनुपर्छ । सावर्जनिक सवारी/स्थल, सडक पसलहरूमा व्यक्ति–व्यक्तिले आवश्यक दूरी कायम गरे–नगरेको अनुगमन गर्नुपर्छ । सबैलाई मास्क लगाउन अनिवार्य गर्नुपर्छ । स्वास्थ्य सावधानीका यी उपायहरूलाई नागरिकले सरकारी आदेशभन्दा पनि आफ्नै जिम्मेवारी सम्झेर पालना गर्नुपर्छ । जसरी हुन्छ, सरकार र नागरिक सबैको साझा पहलबाट संक्रमणको जोखिम घटाउनुपर्छ ।
तपाइँको प्रतिक्रिया ।