नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित भारतीको अग्निपरीक्षा माथि एक विश्लेषण (पुस्तक समिक्षा)

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित भारतीको अग्निपरीक्षा माथि एक विश्लेषण (पुस्तक समिक्षा)

कपन अनलाइन

काठमाडौं ,असोज ३ /गणेश दाहाल

अग्निपरीक्षा (२०६९) – उपन्यासकार शंकर भारतीको यो पाँचौ उपन्यास हो । सामाजिक आदर्शोन्मुख यथार्थवादी धारमा रहेका भारतीले ‘अग्निपरीक्षा’ उपन्यासलाई विवाह मण्डवबाट सुरु गरेको पाइन्छ । छोरी कमलाको विवाहको दिन थियो । एक मात्र छोरी कमलाको विवाह भएकोमा उनका बाबु–आमा ज्यादै खुसी थिए । त्यो पनि खानदानी पढेलेखेको केटोसँग छोरी कमलाको विवाह हुदै थियो । गहुँगोरो सानो मुख तथा ठूलाठूला आँखाले गर्दा वर ज्यादै राम्रो देखिन्थे । दुलही अन्माउने बेला थियो ।

केटापट्टीबाट आएका मानिसहरू दुलहीलाई घर लाने तरखरमा हरेक कुरा मिलाउँदै हुन्छन । विवाह सकिन्छ । ससुराले ज्वाइलाई र सोह्र वर्षको कमलाको भाइले आफ्नो दिदी कमलालाई बोकेर मण्डप घुमाउन थाल्छन । आफ्नो घरबाट बिदा हुन लागेकी दिदी कमलालाई ढाडमा बोकेर आफ्नो दुबै आँखाबाट आँसुको धारा बगाउँदै मण्डप घुम्दै थिए, कमलाको बुवा र भाइ । कमला पनि आज आफ्नो पतिको घर जाँदै थिइन। बाबुआमाको दिलको टुक्रा थिइन् तर आज उनी अर्कै पराइको घर जाँदै थिइन् बाबु–आमाबाट टाढा भएर । त्यहि केटा र उसको परिवारको घर उज्यालो र सुखमय बनाउन ।

कमला आफ्नो जन्मघरलाई सदाको निम्ती छोडेर त्यो अपरिचित घरमा नयाँ संसार सिर्जना गर्न त जादै थिइन । तर त्यो अपरिचित घरमा उनको बाँकी जीवन सुखमय वा कष्टपुर्ण के हुने हो त्यसमा भने उनी निश्चित थिइनन् । आफ्नो पति दिवाकरको घरमा पुगेपछि उनलाई भेट्न आउने मानिसहरूको लर्को रहन सहन आदिलाई देख्दा उनि अचम्म मान्दै थिईन । दिवाकरको परिवार र दिवाकरलाइ यस्तो उच्च सम्मान गरेको देख्दा कमला ज्यादै खुसी हुन्छिन ।

हुन् पनि दिवाकरको सम्मान ज्यादै ठूलो थियो त्यस घरमा । दिवाकरका वाबु कृष्णचरण स्वंयम नै सहरका ज्यादै धनी परिवारमध्ये एक धनी परिवारका थिए । सबैले कमलालाई प्रशंसा गर्न थालिसकेका थिए । कमलालाई सासु ससुरा र देबरले असाध्यै माया गर्थे साथै अन्य नातेदारहरूले पनि असाध्यै मन पराउथे कमलालाई किनकी उनी ज्यादै कर्तब्यनिष्ठ र मिजासिली थिईन । सबै तीरबाट माया पाए पनि आफ्नो पतिबाट चाहि कहिले मायाँ पाएकी थिइनन कमलाले । दिवाकर जहिले पनि ढाट्ने, छल्ने काम मात्र गर्थे । कमला आफ्नो पतिको यस्तो व्यवहार र चरित्र देख्दा छाँगाबाट खसेकी जस्ती हुन्थिन ।

दिवाकर जहिले पनि रक्सी खाएर आउने गथ्र्यो । उनी त्यही पनि एकदम खुसी हुन्थीन आफ्नो पति घर आएकोमा । तर दिवाकरको स्वभाव र बानी भने सधै तथानाम गाली गलोज गर्ने गथ्र्यो कमलालाई । उ कमलालाई पट्टक्कै मन पराउँदैन थियो । उसको नजरमा सधैँ उनी नराम्री आइमाई भएको कथावस्तुले देखाउँछ । त्यस्ती राम्री, सुशिल बुहारी भएको घरमा पनि दिवाकर जस्तो कपुत छोराको जन्म भएको भन्दै दिवाकरका बाबुआमा साहै्र चित्त दुखाईरहेका हुन्छन ।

तर कमलाका देबर, दाजु जस्तो नभएको र उसले भाउजुलाई गर्नु पर्ने आदर सम्मान पनि भरपुर मात्रामा गरेको पाइन्छ । सासु ससुराको हातबाट दशैँको टिका ग्रहण गर्छिन् तर उनको पति दिवाकर भने उनलाई टीका लगाउनै मान्दैन । दिवाकरको बाबु आमाको जोड र करकापले गर्दा मात्र उनको पति दिवाकरले उनलाई टिका लगाई दिन्छ । कमलाले सासु ससुरा र लोग्नेको हातबाट टीका लगाई सके पछि उनी माइततिर लाग्छिन । तर उनको पति दिवाकर भने टीका लगाउन ससुराली जाँदैन । माइतीबाट ज्वाई आउनुभएन भनेर सोध्दा अर्कै कुरा गरेर टारी दिन्छिन् आमा बाबुलाई चोट लाग्ला पिर पर्ला भनेर ।

माईतमा टिकाटालो सकिएपछी घर तिरै फर्कि हाल्छिन । कमला सासु ससुरा अनि देवरको अनुमति लिएर फुपुको घर जाने भनेर गएको देखिन्छ । तर उनी त्यो बेला आत्माहत्या गर्ने सोचमा हुन्छिन र एउटा रमणीय स्थानमाथिबाट कमला नदीमा हाम्फाल्छिन । कमलालाई नदीबाट बचाउने मानिस कोही नभएर उनकै क्याम्पस पढ्ने साथी कपिल हुन्छन । कमला अस्पतालमा अचेत अवस्थामा हुन्छिन् । होस आउदाँ सबैलाई देखे पनि उनले आफ्नो पतिलाई भने देखेकी हुन्नन् र उनीलाई दुःख लाग्छ ।

कमलाको पेटमा उनीहरूको बच्चा भएको थाहा हुन्छ । बच्चालाई जन्म दिन्छिन । कमलाकै अनुरोधमा सासु ससुराले उनको देवर चन्द्रलाई डाक्टर पढ्न लण्डन पठाएको हुन्छन् । लण्डन गएर डाक्टर पढ्नुमा भाउजूको ठूलो हात छ भनेर चन्द्रले सबै साथिभाइहरूलाई सुनाएको हुन्छ । उनले देवरले पठाएको पत्र सबै फाइलमा सुरक्षित साथ राखेकी हुन्छिन् । देवर लण्डनवाट फर्किएको देखिन्छ । दिवाकर (कमलाका पती) पनि अर्की श्रीमति लिएर वसेको भएपनि श्रीमतीसँग पैसाको कारणले झगडा भएको देखिन्छ ।

उपन्यासकार शंकर भारतीले समाजको विघठन रोक्न र पारिवारिक मेलका लागि आफुले आदर्शयुक्त समाजको कल्पना गरेर उपन्यास लेखेका छन् । शंकर भारतीले त्यतिखेरको परिवेश र समाजलाई उपन्यासको माध्यमबाट राम्रोसँग पस्किएका छन् । भारतीले उपन्यास लेखाईको सुरुवात यही उपन्यासबाट गर्नुभएको थियो ।

कथाको हिसाबले शसक्त रहेको र समाजको विघठन रोक्न र पारिवारिक मेल मिलापका लागि आदर्शयुक्त समाजको परिकल्पनाको उजागर गरेको पाईन्छ । दिवाकर तथा कमलाको छोरो पनि डाक्टर पढ्न थालेको हुन्छ । दिवाकर बदमास भएकोले गर्दा बाहिर अर्काे श्रीमती
राखेको हुन्छ त्यसैले उ घरमा बिहे गरेर ल्याएको श्रीमती कमलालाई सुरुदेखि नै पट्क्कै मन पराउदैन थियो । तर बाहिर राखेको केटीले उसलाई नभै उसको सम्पतीलाई मायाँ गरेको दिवाकरलाई थाहै हुँदैन् यसैले दिवाकर त्यो बाहिर राखेको केटीको ईच्छा आकांक्षा पूरा गरिदिन सधैँ आफ्नो बुबा–आमासँग झगडा गरि गरि पैसा लिएर जाने गर्थ्यो  ।

बुबा–आमा पनि पैसा दिँदा दिँदा थाकीसकेका थिए । एकदिन फेरि आएर बुवाआमासँग मलाई अन्तिम पटक रु. २५ हजार दिनु भनेर मागिरहेका हुन्छन् । जति पैसा लगेर दिएपनि आफुले बाहिर राखेको केटी कहिल्यै खुसी नभएको देख्दा उसलाई हैन उसको सम्पत्ती र पैसालाई त्यस केटीले माया गरेको रहिछे भन्ने कुरामा उ निश्चित हुन्छ । आमा– बुबासँग अन्तिम पटक भनेर लिएर गएको पैसा त्यो केटीलाई नदिई आफ्नै बिहे गरेर लेराएको श्रीमती कमलालाई सुनको औँठी र गहना किनेर आफ्नै घर तिर जान्छ । कमलालाई उपहार लिएर फर्कने क्रममा दुर्घटनामा परी अस्पतालमा बेबारिसे अवस्थामा पुग्छ ।

भाइ चन्द्र त्यही हस्पिटलको डाक्टर हुन्छ । दाजुको त्यो अवस्था देखेर भाइ अचम्मित हुन्छ । भाइ चन्द्रले घरका सबैलाई खबर गर्छ । कमला भाइ र छोराले खुब हेरविचार, स्याहार गरेर उसलाई बचाउछन् । हस्पिटलको बेडमा रहेको दिवाकर आफ्नो अगाडि मेचमा निहुरिएर बसिरहेकी परम सुन्दरी कमलालाई देखेर धेरै पछुताउँछ आजसम्म कमलालाई दुख र पिडा बाहेक केही नदिएकोमा । हस्पिटलको बेडबाट नै सकिन सकी बिस्तार कमलालाई बोलाउछ । दिवाकरले आफुलाई यसरी बोलाएको कमलालाई विश्वास नै हुँदैन । उसले झोलामा ल्याएको उपहार चुरा र औँठी कमलालाई लगाइदिन्छ ।

ढिलो भएपनि पतिबाट पाएको यो असिम प्रेम र स्नेहबाट कमला अति खुसी हुँदै भावविभोर हुँदै रुन्छिन । दिवाकर रोईरहेकी आफ्नी पत्नीलाई उनको हातले आफ्नो छाति सुमसुमाउन भन्छ । यो देखेर कमला झन रुन थाल्छिन । दिवाकर भने आफुले गरेका गल्तिहरुमा पछुताउदै कमला सङ्ग माफि माग्छ । सबैको माया प्रेम र स्याहार पाएर दिवाकर अब धेरै तन्दुरुस्त भइसकेको हुन्छ ।

आज दिवाकरलाई सबै परिवार मिलेर हस्पिटलबाट घर लग्छन् । एक दिन डुल्न निस्कन्छन दिवाकरको डाक्टर छोरा कमलेश र कमला । मोटर कमलेशले हाँकेको हुन्छ ऊसँगैको सिटमा उसको आमा कमला बसेकी हुन्छिन् । फर्कदै गर्दा बाटामा दिवाकरले बाहिर राखेकी केटी सलिनासँग भेट हुन्छ ।
मोटरको पछाडि कमला किनमेल गरेका सामानहरू राखिसकेर उनी आफ्नो छोरा बसेको ड्राइभर सिटसँगै गएर थचक्क बस्छिन् । छोराले मोटर स्टार्ट गरेर अगाडि बढाउन मात्र लागेको हुन्छ एउटी आइमाई कमलेसकै झ्याल अगाडि आएर भन्न थाल्छे ‘ए हजुर हजुरहरू यत्रो ठूलो मानिस मलाई कतै काम लगाईदिनुहोस् न म जे काम भएपनि गर्छु हजुरको अफिस घर जाहाँ भएपनि हुन्छ हजुर’‘अनि यो उमेरमा काम खोजेर हुन्छ त दिदी ?’ कमलेस सोध्छ ।
‘के गर्नु हजुर समय हुँदा केही गरीएन’ यो सुनेर कमला किनेका सामानहरू पछाडिको सिटमा मिलाउँदै भन्छिन् ‘काम पाएन भने खान नपाएर मर्छु भनेपछि जसरी भएनी काम मिलाइ देऊ बाबु धर्म हुन्छ’ आमाको कुरा सुनेर कमलेसले आफ्नो अर्काे डाक्टर साथीको नाम दिँदै त्यो साथीलाई भेटन त्यो माग्ने केटीलाई भन्छ ।
कमलेस केही सम्झिएझै त्यो माग्ने केटीलाई सोध्छ ‘तपाईको नाम’ केटी जवाफ दिन्छे ‘मेरो नाम सलिना हो हजुर’
सलिना नाम सुन्ने बित्तिकै सामान मिलाईरहेकी कमला पुलुक्क केटीलाई हेर्छिन । दुवैले एक अर्काेलाई चिन्छन् । दुबैको आँखा जुध्छन तर दुबै बोल्दैनन । सलिना लाज र सरमले भुतुक्कै हुन्छे । सलिना त्यही केटी थिई जसले कमलाको जीवन बर्वाद पार्न खोजेकी थिई ।

त्यो केटी त्यही सलिना थिई जसले दिवाकरको मन मस्तिष्कलाई आफ्नो बसमा एकोहोरो पारेर बलिको बोका झैँ बनाएकी थिई । त्यो केटी त्यही सलिना थिई जसले दिवाकरको भएभरको सम्पती समेत लुटनसम्म लुटीसकेकी थिई अनि जसले कमलाको दिनरातको चयन, सुख, आनन्द लुटनुसम्म लुटिसकेकी थिई । सलिना जस्ले कमलालाई पैतालाको धुलो सम्झिएकी थिइ । आज त्यही केटी कमला भने आफ्नो डाक्टर छोरासँग मोटरमा थिई भने सलिना चाहिँ त्यही नै भिखारीको रूपमा भिख माग्दै थिई ।
आफुले सँधै पछाडि पारेको प्रतिद्वन्दी यसरी सोचेभन्दा ज्यादै अघि बढेको देख्दा सलिना अचम्म मान्छे र आफुले जस्तो कर्म ग¥यो त्यसैअनुरुप आफुले सँजाय पाएजस्तो लाग्छ । अनि उनी मनमनै फेरि भन्छे ‘हजारजना खराबले पनि एउटा असललाई खराब बनाउन सक्दो रहेनछ तर एउटा असल ब्यक्तिले हजार खराबलाई समेत असल बनाउन सक्दो रहेछ, मैले जे गरे त्यसै अनुरुप मैले प्राप्त गरेँ’ भन्दै त्यहाबाट विलिन हुँदै अघि बढदै जान्छे ।
कमलाको छोराले हाँकेको मोटर आफ्नै घरको ढोका अगाडि पुगेपछि बन्द ढोका खोल्न हर्न बजाउछ । ढोका खुल्छ । ढोका खोल्ने अरु कोही नभई दिवाकरनै हुन्छ, खुलेको ढोकाबाट बिस्तारै मोटरभित्र छिराउछ कमलेस ।
दिवाकर जिस्कदै दुवैलाई सैलुट गर्छ । आमा छोरा दुवै मुसुक्क हाँस्दै अघि बढछन् ।
यो सबै दृश्य कौशीमा बसीरहेका दिवाकरका बाब–आमाले देख्छन । दुबै ज्यादै खुसी हुन्छन । त्यतिकैमा दिवाकरको बाबु आफ्नो श्रीमतीलाई भन्छन– ‘हेर सानु विश्वका प्रत्येक मानिसको जीवनमा आ–आफ्नै प्रकारको जटिल परीक्षा हुन्छ त्यो परिक्षामा सफल वा उक्तिर्ण हुनु नै हो ‘अग्निपरीक्षा’ यसरी जीवनमा आईपर्ने असङ्ख्य उकाली, ओराली, भन्ज्याङ, चौतारी र जङ्घारहरू सङ्घर्ष गरेर अघि बढदै लक्षमा पुग्नु नै यस उपन्यासको मूल लक्ष्य देखिएको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।